काठमाडौं। वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा कार्यसमितिको मंसिर अन्त्यमा कार्यकाल सकिएपछि नियमित महाधिवेशन गर्ने कि फागुन २१ को चुनावपछि वैशाखमा सार्ने भन्ने विवादले लामो समयदेखि अवरुद्ध कांग्रेस बैठक आज फेरि बस्दै छ।
भदौ २८ देखि बस्दै आएको कांग्रेस कार्यसमिति बैठक सम्भवतः आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता महाधिवेशन कार्यतालिका पेस गरेपछि सहमतिमा टुंगिने संकेत देखिएको हो।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गत असोज २९ मा हस्ताक्षर बुझाएपछि कांग्रेसमा संस्थापन र संस्थापन इतर पक्षबीच महाधिवेशनलाई लिएर विवाद चलिरहेको थियो। हस्ताक्षर बुझाउनेमा संस्थापन समूहका समर्थकसमेत छन्।
उक्त मितिले ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ। ३ महिना पुस २८ मा पुग्दै छ। त्यसैले सोही अवधि भित्रै नियमित महाधिवेशन गर्ने गरी सोमबारको केन्द्रीय समिति बैठकबाट कार्यतालिका ल्याउने तयारीमा कार्यवाहक सभापति खड्का छन्।
जेनजी आन्दोलनका क्रममा कुटाइ खाएर लामो समय अस्पतालमा उपचारार्थ सभापति शेरबहादुर देउवाले सिंगापुर पुनः उपचारपछि काठमाडौं फर्किएलगत्तै सक्रियता देखाएपछि संस्थापन पक्ष पुस अन्तिम साता नियमित महाधिवेशन गर्न सहमत भएको बुझिएको छ।
देउवाले संस्थापन पक्ष र इतर पक्ष सबैको धारणा सुनिसकेपछि मात्र पुस महिना अन्तिम साता नियमित महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने वातावरण बनेको हो।
देउवाको मध्यमार्गी प्रस्तावलाई महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइरालाले पनि सहमति दिएको बताइन्छ।
भदौ २८ देखि सुरु भएको केन्द्रीय समिति बैठक महाधिवेशन तिथिमिति तय गर्न नसक्दा पटक–पटक स्थगित हुँदै आएको छ।
फागुन २१ को चुनावअघि नै महाधिवेशन गर्ने गरी मिति प्रस्तावमा सहमति जुटेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। उनले भने, ‘पुसभित्रै नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका सोमबारको बैठकमा पेस हुनेछ।यसमा सबै पक्ष सहमत छन्।’
शनिबारको पदाधिकारी तथा पूर्वपदाधिकारीसँगको बैठकमा देउवाले महाधिवेशनको मिति प्रस्ताव गरेका थिए। देउवाको प्रस्तावमा पूर्वपदाधिकारीद्वय कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिले विरोध जनाएपछि आइतबार तय भएको केन्द्रीय समितिको बैठक सारिएको थियो।
महामन्त्री थापाले पुसमा र संस्थापन पक्षका सहमहामन्त्री यादवले वैशाख २७ देखि २९ सम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका बैठकमा पेस गरेका थिए।