काठमाडौं। प्रतिष्ठित सौरभ ग्रपको लगानी रहेको सर्वोत्तम स्टिलको व्यापार २७.२४ प्रतिशतले बढेको छ। सन् २०२४ मा ६ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीले सन् २०२५ मा ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
विरगञ्जको पर्सामा सन् २०१७ मा स्थापना भएको सर्वोत्तम स्टिलको कुल जडान क्षमता ७ लाख ६४ हजार १६० एमटीपीए छ। कम्पनीको अध्यक्षमा विष्णु प्रसाद न्यौपाने हुन्। कम्पनीले सन् २०२२ देखि टिएमटी स्टिल बार्स, बिलेट्स र तार उत्पादन गरिरहेको छ। कम्पनीले सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख र सन् २०२२ मा ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
सन् २०२५ मा करिब पौने ९ अर्बको व्यापार गरेको सर्वोत्तम स्टिलले बैंकबाट कर्जा लिनका लागि नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार रेटिङ गराएको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्सले कम्पनीको वित्तीय विवरणको आधारमा कम्पनीलाई कुल ६ अर्ब ४४ करोड ४६ लाख ८० हजार रुपैयाँ कर्जा सिमा निर्धारण गरेको छ।
जसमा १ अर्ब ३ करोड ४६ लाख ८० हजार दीर्घकालीन कर्जाको लागि ‘डबलबी प्लस’ र ५ अर्ब ४१ करोड रुपैयाँ अल्पकालीन कर्जाको लागि ‘एफोर प्लस’ रेटिङ दिइएको हो। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व भुक्तानी क्षमतामा मध्यम स्तरको जोखिम रहने संकेत गर्छ। बैंकिङ सुविधाका लागि यस्तो रेटिङ प्राप्त गर्नु राम्रो मानिन्छ।
रिपोर्टअनुसार कम्पनीको सुधारिएको वित्तीय विवरणले गर्दा राम्रो रेटिङ प्राप्त गरेको हो। आम्दानीसँग कम्पनीको खुद नाफा मार्जिन पनि गत वर्षको तुलनामा ०.०७ प्रतिशत विन्दुले सुधार भएर २.१७ प्रतिशत पुगेको छ।
साथै, कम्पनीको इबिआइटिडिए मार्जिनसमेत घटेर ८.३५ प्रतिशत पुगेको छ। सन् २०२४ मा यस्तो मार्जिन ८.३६ प्रतिशत थियो। साथै, ब्याज कभरेज रेसियोसमेत सुधार भएर १.४१ गुणाबाट २.३६ गुणा पुगेको छ।
सार्वजनिक निष्काशन (आइपिओ)को तयारीमा रहेको सर्वोत्तम स्टिललाई आइपिओ निष्काशनपछि प्राप्त हुने पुँजीले थप राम्रो हुने अपेक्षा गरिएको छ।