काठमाडौं। देशभर गत असोजको १७ देखि १९ गतेसम्म परेको बेमौसमी वर्षाले कृषि क्षेत्रमा पौने ४ अर्ब रुपैयाँको क्षति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाली, पशु, कृषिका भौतिक संरचना, कृषि योग्य जमिन कटानलगायत क्षेत्रमा ३ अर्ब ७६ करोड १२ लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको हो।
तीन दिने वर्षले बालीमा मात्रै साढे ३ अर्ब रुपैयाँको क्षति भएको छ। मन्त्रालयको प्रतिवेदन अनुसार ३ अर्ब ५४ करोड ६१ हजार रुपैयाँको विभिन्न बालीको क्षति भएको छ। प्रतिवेदन अनुसार, सबै भन्दा बढी तरकारी बालीमा क्षति पुगेको छ।
मन्त्रालयका अनुसार, बेमौसमी वर्षाको सबैभन्दा ठूलो प्रभाव तरकारीबालीमा परेको छ। जसमा करिब १ अर्ब २५ करोड ७१ लाख रकम बराबरको आर्थिक नोक्सानी भएको छ। त्यसपछि धानबालीमा करिब ८६ करोड ८२ लाख ७३ हजार र उखुवालीमा करिब ७७ करोड ३० लाख ५८ हजार बराबरको क्षति भएको मन्त्रालयको प्रतिवेदन छ।
त्यसैगरी, फलफूल बालीमा मध्यम स्तरको नोक्सानी देखिएको छ। जसको अनुमानित मूल्य करिब २६ करोड ८८ लाख २६ हजार बराबर रहेको छ। अर्कोतर्फ, दलहन, कोदो, चिया/कफी, आलु, अदुवा, अलैँचीलगायतका बालीहरूमा तुलनात्मक रूपमा न्यून क्षति पुगेको मन्त्रालयले जनाएको छ।
यी बालीको कुल नोक्सानीको २ प्रतिशतभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ। समग्रमा, बेमौसमी वर्षाबाट भएको कृषि क्षतिमा तरकारी, धान र उखु बालीहरूको योगदान सबैभन्दा बढी रहेको पाइन्छ। जसले समग्र आर्थिक नोक्सानीको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।

२७ हजार टन धान पानीले बगायो
देशभर २७ हजार ७५९ टन धान क्षति भएको छ। मन्त्रालयको प्रतिवेदनअनुसार ३ तीन दिन परेको पानीले ११ हजार ७५५ हेक्टर क्षेत्रफलबाट सो धानमा क्षति पुगेको हो। योवापत ८६ करोड ८२ लाख ७२ हजार रुपैयाँ क्षति भएको मन्त्रालयले जनाएको छ। यो क्षति कारणले धान बालीको उत्पादनमा कमी आउने देखिन्छ।
२६९.६८ हेक्टर कृषियोग्य जमिनमा क्षति
बाढी, पहिरो, डुबान र कटानका कारण देशका विभिन्न स्थानमा कुल २६९.६८ हेक्टर कृषि योग्य जमिन पूर्ण रूपमा क्षति भएको मन्त्रालयले जनाएको छ। यसबाट किसानले ३ करोड ७१ लाख १७ हजार २५० रुपैयाँ बराबरको आर्थिक नोक्सानी व्यहोर्नु परेको उल्लेख छ।
मन्त्रालयका अनुसार, जमिनको क्षति मुख्यतया कोशी र लुम्बिनी प्रदेशमा केन्द्रित देखिएको छ। कोशी प्रदेशका पहाडी जिल्लाहरू तेह्रथुम, धनकुटा र भोजपुरमा पहिरो र भू-क्षयका कारण जमिनमा क्षति पुगेको छ।
आर्थिक रूपमा सबैभन्दा बढी नोक्सानी धनकुटा जिल्लामा भएको छ। जहाँ ६७.६५ हेक्टर जमिन नष्ट हुँदा करिब २ करोड ६५ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको अनुमान छ। यसैगरी, भोजपुरमा ३८.८२ हेक्टर र तेह्रथुममा २.४ हेक्टर जमिनमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा बाढीको उच्च प्रभाव देखिएको छ। बर्दियामा मात्रै १५४.५ हेक्टर जमिनमा क्षति पुगेको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका क्षेत्रमा १४.७ हेक्टर डुबान र ७.५ हेक्टर जमिन नदी कटानमा परेको छ। बर्दियामा भएको जमिन क्षतिको आर्थिक मूल्यांकन ६१ लाख रुपैयाँ अनुमान गरिएको छ।
कुन जिल्लामा कति क्षति?
जिल्लागत विवरण हेर्दा झापा जिल्लाले एक्लै धानबालीमा ८० करोड ७३ लाख रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको छ। त्यस्तै मोरङमा ५८ करोड ७८ लाख, सुनसरीमा ४५ करोड ३१ लाख र कपिलवस्तुमा २३ करोड ६ लाख रुपैयाँ बराबरको धान नोक्सान भएको छ। बर्दघाट सुस्ता पूर्वमा पनि १८ करोड ६१ लाख रुपैयाँको धान बालीमा क्षति पुगेको छ।
पहाडी जिल्लाहरूमा भने तुलनात्मक रूपमा कम क्षति देखिए पनि काभ्रेपलाञ्चोक, दोलखा, धादिङ जस्ता जिल्लामा धान तथा कोदो बालीमा आंशिक असर परेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।
पशुपन्छी, मत्स्य तथा घाँसेबालीमा १६ करोडको क्षति
बेमौसमी वर्षाको कारण कोशी, मधेश र बागमती प्रदेशको २१ वटा जिल्लाको ८१ स्थानीय तहको ३८१ घरधुरीमा पशुपन्छी, मत्स्य तथा घाँसेबालीतर्फ गरी १६ करोड १५ लाख ४६ हजार ७ सय ५० रुपैयाँ क्षति भएको छ। पशुतर्फ कोशी प्रदेश र मत्स्यतर्फ मधेस प्रदेशमा तुलनात्मक रुपमा बढी क्षति देखिएको मन्त्रालयले जनाएको छ।
पशुपन्छी तथा मत्स्यतर्फ कुल क्षतिको ७९ प्रतिशत क्षति मधेस प्रदेशमा, २० प्रतिशत क्षति कोशी प्रदेशमा र १ प्रतिशत क्षति बागमती प्रदेशमा देखिएको छ। यस क्षतिबाट वार्षिक रुपमा २४ टन दूध, ३९१ टन मासु र ४ हजार ६५९ टन माछा उत्पादनमा कमी आउने सो प्रतिवेदनमा उल्लेख छ।