काठमाडौं। नेपाल धितोपत्र बोर्डले मंगलबार आईपीओ निष्काशनको अनुमति दिएसँगै १ अर्ब ७० करोड पुँजी भएको रिलायन्स स्पिनिङ मिल्समा सर्वसाधारण पनि सेयरधनी बन्न पाउने भएका छन्।
बोर्डले आईपीओ निष्कासनको अनुमति दिएसँगै नेपालको प्रमुख निर्यातमूलक उद्योग रिलायन्स अब नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने प्रक्रियामा प्रवेश गरेको छ।
नेपाल धितोपत्र बोर्डले मंगलबार निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई पत्र लेख्दै ‘सम्मानीत उच्च अदालत पाटनको परमादेशको आदेशअनुसार रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको साधारण सेयरको निष्काशन कार्य अघि बढाउन,’ भनेको छ।
यसअघि २०८१ असार १२ मा आईपीओ निष्काशनका लागि बोर्डबाट स्वीकृति प्राप्त भए पनि एकाएक रोकेको थियो। त्यसविरुद्ध रिलायन्स स्पिनिङ मिल्स परमादेशको आदेश माग गर्दै उच्च अदालत पाटन पुगेको थियो।
बोर्डले दिएको पत्रमा भनिएको छ, ‘निवेदक कम्पनीको सेयर निष्काशन सम्बन्धमा कानुनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भएअनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशनसम्बन्धी प्रकृया अगाडि बढाउनु हुन जानकारी गराइन्छ।’
रिलायन्स स्पिनिङ मिल्स अग्रणी औद्योगिक घराना गोल्याण ग्रुपको अभिन्न अंग हो। ०५४ मा स्थापित उद्योगले पछिल्लो समय उत्पादन र नाफामा उल्लेख्य सुधार गर्दै आएको छ।
कम्पनीद्वारा सार्वजनिक वार्षिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशत बढी हो। अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ थियो।
वित्तीय विवरणमा रिलायन्सको खुद नाफामा ८४५ प्रतिशत वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ४७ करोड ६३ लाख ७८ हजार ८६० रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ।
रिलायन्सको नेतृत्व हाल गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन्। उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ।
उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा स्पिनिङ मिल्सका नेतृत्वकर्ता अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी)बाट सम्मान गरेको थियो।
नौ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल एक लाख दुई हजार ८२४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ। सुनसरीको खनार र दुहबीमा उद्योगका दुई वटा धागो कारखाना रहेका छन्। उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ।
रिलायन्सका उत्पादनहरु नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन्। वार्षिक पाँच करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ। यसले मुलुकको समग्र अर्थ प्रणालीमा आयात तथा निर्यातमा सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान दिने गरेको छ।