काठमाडौं। वन तथा वातावरण मन्त्रालयले सात वटा उद्योगलाई जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सात उद्योगलाई वनको ७९.६१ हेक्टर क्षेत्रफलबाट ग्रेनाइट, चुनढुङ्गा र फलाम उत्खननको स्वीकृति दिने निर्णय गरेको हो।
जसमा शक्ति मिनिरल्स प्रा.लि.लाई चुनढुङ्गा उत्खननका लागि पाल्पामा पर्ने माथागढी गाउँपालिका ७ धनुषामा रहेको राष्ट्रिय वनको २१.४१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकको निर्णय भएको छ।
यस्तै, त्रिशक्ति होल्डिङ्गस प्रा.लि.लाई चुनढुङ्गा उत्खननका लागि चितवनको राप्ती नगरपालिका १३ मा रहेको राष्ट्रिय वनको २०.१४ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको छ।
रिद्धिसिद्धि सिमेन्ट लिमिटेडलाई चुनढुङ्गा उत्खनन गर्न मकवानपुरको भिमफेदी गाउँपालिका ७ मा पर्ने राष्ट्रिय वनको २१.६३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने सरकारी निर्णय भएको छ।
साथै, बाबा माइन्स एण्ड मिनिरल्स प्रा.लि.लाई चुनढुङ्गा उत्खनन गर्न मकवानपुरको भिमफेदी गाउँपालिका ५ मा रहेको राष्ट्रिय वनको ४.९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति पाउने भएको छ।
विग प्लस मिनिरल्स प्रा.लि.लाई ग्रेनाइट उत्खनन गर्न मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका ५ मा रहेको राष्ट्रिय वनको ४.४८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ।
यसैगरी, के.के. लाइम्स एण्ड इन्डस्ट्रिज प्रा.लि.लाई चुनढुङ्गा उत्खनन गर्न उदयपुरको चौदण्डीगढी नगरपालिका ८ मा रहेको राष्ट्रिय वनको दुई हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति पाउने भएको छ।
अन्नपूर्ण मिनिरल्स प्रा.लि.लाई फलाम उत्खनन् कार्यका लागि मकवानपुर जिल्लाको बागमती गाउँपालिका ६ मा रहेको राष्ट्रिय वनको ४.९६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।