काठमाडौं। लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको सातौं संस्करण ह्यासट्याग डिजिटल डिसेम्बर २०२५ सुरु भएको छ।
यो अभियान ‘इम्पावरिङ इन्टरप्राइजेज’ नारासहित देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहने बैंकले जनाएको छ।
डिसेम्बर महिनाभर चल्ने अभियानमा बैंकको डिजिटल प्लेटफर्मलाई देशभरका व्यवसाय कारोबारका लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। अघिल्ला वर्षका उपभोक्ता–केन्द्रित अभियानबाट यस वर्ष उद्यम–केन्द्रित डिजिटल रुपान्तरणतर्फ महत्त्वपूर्ण फड्को रहेको बैंकको भनाइ छ।
नेपालको व्यापार प्रणालीमा लक्षित डिजिटल डिसेम्बर २०२५ ले घरेलु, साना तथा मझौला उद्यम, कर्पोरेट संघसंस्था तथा प्रतिष्ठान, खुद्रा तथा थोक बिक्रेता, आइटी, वित्त, स्वास्थ्य सेवा, शिक्षा, र आतिथ्यलगायतका सबै क्षेत्रका उद्यमलाई समावेश गर्ने लक्ष्य राखेको छ।
अभियान उद्यमीलाई डिजिटल बैंकिङका माध्यममा सक्रिय बनाउँदै उच्च–मूल्यको नगद तथा चेक कारोबारलाई डिजिटल च्यानलमा रुपान्तरण गर्ने र एपीआई तथा होस्ट–टू–होस्ट कनेक्टिभिटीमार्फत ग्राहकका प्रणालीबाट सीधै भुक्तानी गर्न मिल्ने समाधानका साथै भुक्तानी प्रक्रियामा सहजीकरण गर्ने विषयमा केन्द्रित रहनेछ।
बैंकले ई–कमर्स व्यवसायका लागि निर्वाध भिसा र मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्ने माध्यम, कर्पोरेट संघसंस्थाका कर्मचारीका लागि अन कार्ड–भर्चुअल क्रेडिट कार्ड र भिसा क्रेडिट कार्ड सुविधा, व्यवस्थित व्यापारिक कारोबारका लागि कर्पोरेटपे तथा राष्ट्रिय भुक्तानी इन्टरफेस एकीकरण सेवा, रियल टाइम भुक्तानीका अलर्टसहित व्यापारिक भुक्तानी प्राप्तिका लागि लक्ष्मी वाणी (क्यूआर भ्वाइस बक्स)लगायत सेवा सञ्चालन गर्नेछ।
नेपालको डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउने लक्ष्यसहित अभियान थालिएको बैंकका डिजिटल च्यानल र रेमिट्यान्स प्रमुख सुमनप्रसाद गेलालले बताए।