काठमाडौं। जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल–चीन महिला सहकार्य गर्ने विषयमा छलफल भएको छ।
मंसिर ८ देखि १२ गतेसम्म सिजाङ स्वायत्त क्षेत्रको ल्हासा सहरमा भएको उक्त सम्मेलनमा महिला अधिकार, कानुन र तिब्बती उपचार पद्धतिका साथै महिला उद्यमशीलता, पर्यटन, जडीबुटी र हस्तकलाको विकासमा दुवै देशबीच सहकार्य सम्बन्धमा छलफल भएको छ।
सम्मेलनमा आदिवासी जनजाति आयोगकी सदस्य रीना रानाले नेपाली महिला प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन्। नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षे यात्रामा दुवै देशका महिलाबीचको यो पहिलो औपचारिक महिला सम्मेलन भएको थियो। सम्मेलनले दुई देशबीचको मैत्रीपूर्ण सहकार्य अझ सुदृढ गर्दै महिला विकासका नयाँ मार्ग पहिचान गरेको आयोगका सदस्य रानाको भनाइ छ।
समावेशी नेपाली प्रतिनिधिमण्डलमा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली, उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठ, उद्योग परिसंघ युवा उद्यमी मञ्चकी उपाध्यक्ष निदा डोन मल्ल, नेपाल ‘ल’ क्याम्पसका सहायक प्राध्यापक डा विष्णु बस्याल, जेनजी पुस्ताकी प्रतिनिधि ओजस्वी भट्टराईलगायत सहभागी थिए। नेपाली प्रतिनिधिमण्डलले तिब्बती उपाचार पद्धतिको अवलोकनका क्रममा सहभागरूको स्वास्थ्य परीक्षणसमेत गरिएका थिए।
सिजेङ प्रान्तका वैदेशिक मामिला कार्यालयका उपमहानिर्देशक ओयाङ झिबिङले सम्मेलनलाई नेपाल–चीन मित्रताको ७० वर्षमा महिलामार्फत सुरु भएको पहिलो औपचारिक सहकार्य भएकाप्रति खुसी व्यक्त गरिन्।
सम्मेलनको उद्देश्य नेपाल–चीन मैत्रीपूर्ण सहकार्यलाई मजबुत बनाउने, महिलाको क्षेत्रमा गुणस्तरीय विकास अभिवृद्धि गर्न सहयोग पु¥याउने, कानुन, मानवअधिकार, स्वास्थ्य, शिक्षा, पर्यटन, जडीबुटी, हस्तकला क्षेत्रमा सहकार्यका साथै नयाँ सम्भावना पहिचान गर्ने रहेको उनको भनाइ थियो।
प्रतिनिधिमण्डलले तिब्बती उपचार पद्धतिमा प्रयोग हुने प्राकृतिक जडीबुटी, आदिवासी ज्ञान र उपचार विधि नजिकबाट अध्ययन गरेको थियो। उद्यमशीलता, पर्यटन र जडीबुटीमा सहकार्यका नयाँ ढोका सफल भएको भन्दै महिला उद्यमी महासंघ अध्यक्ष ज्ञवालीे भ्रमण अत्यन्त सफल र फलदायी रहेको बताइन्।
पर्यटन, जडीबुटी, कृषि तथा हस्तकला प्रवद्र्धनका क्षेत्रमा दुवै पक्षबीच दिगो सहकार्यका बुँदामा विस्तृत विचार–विमर्श हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले तिब्बती उपचार पद्धति नेपालका मुस्ताङ, मनाङ, हुम्ला, डोल्पा जस्ता उत्तरी भूभागमा उपयोगी हुन सक्ने उनको विश्लेषण छ । सिजाङ प्रान्तले महिलाका निःशुल्क शिक्षा, सुरक्षित आवासगृह, महिला–केन्द्रित परियोजन सञ्चालन गरेको छ।
नेपालीले बनाएका हस्तकला सामग्री चीनमा लोकप्रिय हुँदै गएको देखिनुले दुवै देशबीच सांस्कृतिक र आर्थिक सहकार्यक्षेत्र अझ व्यापक बन्ने सङ्केत दिएको नेपाली प्रतिनिधिमण्डलको अनुभव छ।