काठमाडौं। नबिल बैंकले मुलुकभरका विभिन्न २७ शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरिएको जनाएको छ। यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको हो।
‘बैंकको यो सेवा यसअघि तीनधारास्थित केन्द्रीय कार्यालयसहित पुतलीसडक, महाराजगन्ज, विराटनगर र पोखरास्थित शाखा कार्यालयमा मात्रै उपलब्ध थियो। अब काठमाडौं उपत्यकाका १७ सहित २७ शाखामा सेवा विस्तार गर्न लागिएको छ’, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले भने।
बैंकका अनुसार यो सेवा अब उपत्यकाभित्रका तीनधारा, पुतलीसडक, महारागञ्ज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, बिजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैंसेपाटी, जोरपाटीस्थित शाखामा उपलब्ध हुनेछ।
साथै, उपत्यकाबाहिर इटहरी, वीरगन्ज, बिर्तामोड, हेटौंडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगन्ज, विराटनगर र पोखरास्थित बैंकका शाखा कार्यालयमा यो सेवा उपलब्ध हुनेछ।
बैंकको डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैंकिङ पहुँचलाई थप सुदृढ बनाउन सेवा विस्तार गरिएको डिसीईओ बजगाईंले जानकारी दिए।
नबिल अनलाइन पेमेन्ट सेवामार्फत ग्राहकले सहज र सुरक्षित ढङ्गले अन्तर्राष्ट्रिय रूपमा भुक्तानी गर्न सक्नेछन्। भिसा आवेदन शुल्क, विश्वविद्यालय वा कलेजको आवेदन शुल्क, बिमा तथा एसीसीए भुक्तानीका साथै शैक्षिक तथा व्यापारिक सम्मेलनको पनि भुक्तानी गर्न सकिने बैंकको भनाइ छ। यो सेवा लिने ग्राहकले छुट्टै अन्तर्राष्ट्रिय कार्ड राख्नुपर्दैन।
हाल बैंकले २६८ शाखा र ३२१ एटिएममार्फत सेवा दिँदै आएको छ।