काठमाडौं। नेपालबाट वार्षिक वार्षिक २७ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामान निर्यात हुने गरेको तथ्यांक व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रले सार्वजनिक गरेको छ। स्थानीय सीप र परम्परागत कला प्रयोग गरी विभिन्न डिजाइनमा निर्मित हस्तकला सामान अन्तर्राष्ट्रिय बजारमा मागसँगै निर्यात बढेको हो।
केन्द्रका अनुसार आव २०८१/८२ मा २७ अर्ब बराबरको हस्तकलाका सामान निर्यात भएको छ। नेपाल हस्तकला महासंघ अध्यक्ष रवीन्द्र शाक्यले अन्तर्राष्ट्रिय बजारसँगै पछिल्लो समय आन्तरिक बजारमा समेत हस्तकलाका सामानको खपत बढ्दै गएको बताए।
आन्तरिक बजारमा वार्षिक १० अर्ब बराबरको हस्तकलाका सामान खपत हुने गरेको उनको भनाइ छ।
हस्तकला उद्योग व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेको संघको तथ्यांक छ। नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड, विभिन्न वन्यजन्तुका सिङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, सिसा, धुप, छाला, धातुजन्य सामग्री, ढाका कपडा, चित्रकला, कागज, वनस्पतिका रेसा, चाँदी गरगहना, प्रस्तरकला, काष्ठकलाका सामान विदेश निर्यात हुने गरेको छ।
यस्तै, चीन, भारत, अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापानलगायत ६० भन्दा बढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ। नेपालको निर्यात क्षेत्रमा हस्तकला क्षेत्रको ६ प्रतिशत योगदान रहेको सरकारी तथ्यांक छ।
आजदेखि ललितपुरको पाटन संगहालय र पाटन दरबार क्षेत्रमा हस्तकला प्रदर्शनी हुँदै छ। हस्तकलाका वस्तुको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले महासंघ र ललितपुर महानगरको सहयोगमा प्रदर्शनी हुन लागेको हो।
प्रदर्शनीमा परम्परागत हस्तकलाका सामान, बौद्ध धर्मअनुसार १० कर्ममा प्रयोग हुने गरगहना, जातीय पोसाकलगायत राखिनेछन्। पाँच दिनसम्म सञ्चालन हुने मेलामा ३१ वटा स्टल रहनेछन्। प्रदर्शनीमा आगन्तुक सुविधाका लागि नेवारी मौलिक खाद्य परिकारका स्टलसमेत राखिने महासंघले बताएको छ।