काठमाडाैं। गुल्मीमा यस वर्ष २० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ। गत वर्षको तुलनामा यस पटक जिल्लामा सुन्तलाको उत्पादन घटेको हो।
गत वर्ष २४ करोड ५० लाखभन्दा बढीको सुन्तला उत्पादन भएकोमा यस पटक उत्पादन ३२ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपाने जानकारी दिए। जिल्लामा यस वर्ष २० करोड ६७ लाख ८४ हजारको सुन्तला उत्पादन भएको सूचना अधिकारी न्यौपानेले बताए।
सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै आएका यहाँका कृषकले यस पटक अपेक्षा गरेअनुसार सुन्तला उत्पादन नभएको बताएका छन्। सुन्तलाखेतीबाट यहाँका कतिपय कृषकले वार्षिक पाँच लाखभन्दा बढीको सुन्तला बिक्री गर्दै आइरहेका छन्।
जिल्लामा उत्पादित सुन्तलामध्ये यस पटक रु दश करोड मूल्य बराबरको सुन्तला मात्र जिल्ला बाहिर निर्यात हुने कार्यालयले जनाएको छ। गुल्मीबाट गत वर्ष १३ करोड बराबरको सुन्तला जिल्ला बाहिर निर्यात भएकोे थियो।
सुन्तलाको उत्पादन घट्नुमा बेमौसमी वर्षा, कृषकहरुले बगैँचा व्यवस्थापनमा ध्यान नदिनु, सानैमा फल झर्ने समस्या, रोग÷किराको प्रकोप बढ्नु, सुन्तलालाई उचित मलखाद तथा सिँचाइ नहुनुु, समयमा सुन्तलाको बोट काँटछाट नगर्नु जस्ता मुख्य कारण रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले जानकारी दिए।।
यहाँका कृषकहरुले परम्परागत रुपमा सुन्तलाखेती गर्दै आएका छन्। परम्परागत खेतीका कारण समय समयमा सुन्तलाका फेँद र जरा कुहिने समस्याका कारण सुन्तलाको उत्पादनमा कमी आउँदै जान थालेको धुर्कोट गाउँपालिकाका–२ पिपलधाराका कृषक शिवलाल खनालले बताए। सुन्तला बगैँचामा समयमै मलखादको व्यवस्थापन र सूक्ष्म तत्वको प्रयोग गर्नेहो भने उत्पादनमा वृद्धि हुने उनको भनाइ छ।
जिल्लामा अधिकांश कृषकहरुले सुन्तला बगैँचामा बिजु बिरुवाहरु रहेका छन्। यहाँका सुन्तला बगैँचाहरुमा ९५ प्रतिशतभन्दा धेरै बिजु विरुवाका बोट छन्। कलमी बोटहरुले भन्दा बिजु बिरुवाले लामो समयसम्म फलदिने भएका कारण यहाँका कृषकले बिजु बिरुवाको प्रयोग गर्दै आएका हुन्।