काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कात्तिकमा ६० करोड ४४ लाख ५ हजार ७३४ कित्ता सेयर सूचीकृत भएको छ।
नेप्सेका अनुसार ६ करोड २४ लाख २ हजार ६४० कित्ता आईपीओ, ७० लाख कित्ता ऋणपत्र, ५६ लाख २५ हजार ६६४ कित्ता बोनस सेयर, २ करोड ९३ लाख ७७ हजार ४३०.२४ कित्ता हकप्रद सेयर र ५० करोड इकाइको सेयर सूचीकृत भएको हो।
कर्मचारी आन्दोलनका कारण करिब डेढ महिना धितोपत्र सूचीकरण प्रक्रिया राकिएकामा कात्तिकमा आन्दोलन फिर्ता लिएसँगै सेयर सूचीकरण बढेको हो। नेप्सेका अनुसार कात्तिकमा आईपीओ जारी गरेका सात नयाँ कम्पनी दोस्रो बजारमा जोडिएका छन्।
स्वस्तिक लघुवित्त, बन्दीपुर केबलकार, झापा इनर्जी, माबिलुङ इनर्जी, दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, बुंगल हाइड्रोको आईपीओ कात्तिकमा सूचीकृत भएको छ।
नेपाल एसबिआई बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नबिल बैंकबाट जारी ऋणपत्र पनि सूचीकृत भएको छ।
नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेसन र एनएलजी इन्स्योरेन्सको बोनस सेयर र पिपुल्स पावर, नेपाल इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्ससँगै बरुण हाइड्रोपावरको हकप्रद सेयर कात्तिकमा सूचीकृत भएका छन्।