काठमाडौं। केन्द्रको सत्ता लोलुपता पछ्याइरहेको मधेस प्रदेशमा सम्भवतः आज एक महिनामा चौथो मुख्यमन्त्री नियुक्त हुँदै छन्।
होटलमा शपथ लिएर विवादमा आएका मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतको आदेशसँगै राजीनामा दिएपछि प्रदेशप्रमुख सुरेन्द्र लाभले नयाँ सरकार गठनका लागि आजसम्मको मिति तोकेका छन्।
प्रदेशमा नयाँ सरकार गठनका लागि बिहीबार बसेको सात दलको बैठक बिनानिष्कर्ष टुंगिए पनि कांग्रेसलाई सत्ता दिने तयारी भइरहेको बुझिएको छ। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मधेस प्रदेशमा सरकारको नेतृत्वमा दाबी नछाडेपछि सात राजनीतिक दलबीच सहमति कायम हुन नसकेको हो।
यद्यपि सात दलीय सहमतिअनुसार मधेस प्रदेशमा आज नयाँ सरकार गठनको दाबी पेस गरिँदै छ। मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियामा सात दलीय गठबन्धनले कांग्रेस नेतृत्वमा सरकार बनाउने आन्तरिक सहमति गरिसकेपछि अब आजै प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।
आठ घन्टा लामो छलफलपछि कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच बिहीबार मध्यान्हदेखि सुरु भएको बैठक साँझ अबेर मात्रै टुंगिएको थियो।
बैठकमा विशेष रूपमा चार मधेस–केन्द्रित दललाई आपसी सहमति जुटाउने जिम्मेवारी दिइएको थियो। ती दलबीच सहमति बनाएपछि कांग्रेस नेतृत्वमा सात दल मिलेर संयुक्त सरकार बनाउने प्रारम्भिक समझदारी भइसकेको कांग्रेसका एक सांसदले बताए।
जसपा संसदीय दलका नेता सरोजकुमार यादवले पनि बैठकले नयाँ मुख्यमन्त्रीको टुंगो लगाइसकेको पुष्टि गरे। ‘नाममा सहमति भइसकेको छ, अहिले गोप्य छ। आज दिउँसो २ बजे नै सातै दल मिलेर प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेस गर्छौं’, उनले भने। मुख्यमन्त्रीको शपथसँगै एकैपटक सबै दलका मन्त्रीको शपथ गराउने तयारी छ।