काठमाडौं। जाडो महिना सुरु भएसँगै नदी तथा खोलाको जल बहाव (पानीको सतह) घट्ने क्रममा रहेकोले जलविद्युत आयोजनाहरूको उत्पादनमा कमी आउन थालेको छ। नेपालमा अधिकांश जलविद्युत आयोजनाहरू ‘रन अफ दी रिभर’ प्रणालीमा आधारित भएकाले हरेक वर्ष हिउँदमा विद्युत उत्पादन घट्ने समस्या सामान्य जस्तै छ। यसबाट विशेषगरी औद्योगिक क्षेत्रलाई विद्युत आपूर्तिमा समस्या पर्ने हो कि भन्ने चिन्ता हुने गरेको छ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाका अनुसार जाडोयाममा खोला र नदीको जलस्तर घट्ने भएकाले टर्बाइन घुमाउन आवश्यक पर्ने पानीको मात्रा कम हुन्छ। साेहीकारण जलविद्युत आयोजनाहरूको क्षमताअनुसारको बिजुली उत्पादन हुन सक्दैन।
‘मंसिर महिनाको मध्यबाट यो गिरावटको क्रम सुरु हुन्छ, करिब १० प्रतिशतदेखि १५ प्रतिशतको हाराहारीमा कुल उत्पादन घट्दै जान्छ,’ उनले भने, ‘योक्रम फागुन महिनासम्म अझ धेरै हुने र यसले गर्दा कुल उत्पादन क्षमतामा २० प्रतिशतदेखि २५ प्रतिशतसम्मको कमी आउने गर्छ।’
सरकारी स्वामित्वको प्राधिकरण र निजी क्षेत्रबाट हालसम्म २५ सयको हराहारीमा विद्युत् उत्पादन हुन्छ। मंसिरको दोस्रो साताबाट विद्युत उत्पादनमा गिरावट आउन सुरु हुन्छ। विद्युत उत्पादन कमी आएसँगै उद्योगीलाई समस्या पर्न थालेको छ।
उद्योगीहरूले स्वदेशी उद्योगलाई चाहिने जति बिजुली दिएर बढी भएको खण्डमा मात्रै निर्यात गर्नुपर्नेमा जोड दिएका छन्।
अहिले विगत १ हप्तादेखि दैनिक करिब ८ घण्टासम्म बिजुली कटौती भइरहेको छ, जसमा बिहान र साँझ दुवै समयमा ४–४ घण्टासम्म बिजुली जाने गरेको उद्योगी राजेशकुमार अग्रवाल बताउँछन्। ‘बिजुली कटौतीले गर्दा उत्पादनमा लाग्ने लागत (कस्ट अफ प्रोडक्सन) बढेको छ,’ उनले भने, ‘उद्योगीहरूले २४ घण्टाको तलब मजदुर र कर्मचारीहरूलाई दिनुपर्ने, २४ घण्टाको ब्याज तिर्नुपर्ने तर उत्पादन भने १४ घण्टा मात्र हुने भएकाले उत्पादन लागत महँगो हुन्छ।’
उद्योगीहरूले स्वदेशी उद्योगलाई चाहिने जति बिजुली दिएर बढी भएको खण्डमा मात्रै निर्यात गर्नुपर्नेमा जोड दिएका छन्। निर्यातलाई घटाएर भए पनि स्वदेशी उद्योगको मागलाई प्राथमिकता दिनुपर्ने माग राखेका छन्। यो लोडसेडिङको समस्या विशेषगरी पूर्वी क्षेत्र विराटनगर र मध्य क्षेत्र वीरगञ्ज, भैरहवा लगायतका औद्योगिक क्षेत्रहरूमा देखिएको अग्रवाल बताउँछन्।
विद्युत आपूर्तिमा नेपालका प्रसारण लाइन कमजोर रहेकाले विजुली प्रवाहमा समस्या हुने गरेको छ। यसले गर्दा लो–भोल्टेज (कम भोल्टेज) र ट्रिपिङ हुने गरेको नेपाल उद्योग परिसंघको कोशी प्रदेशको संस्थापक अध्यक्ष तथा नेपाल उद्योग परिषद्को केन्द्रिय उपाध्यक्ष भिम घिमिरे बताउँछन्। ‘बिस्तारै पानीको अभाव भई खोलानाला सुक्ने भएकाले विद्युत प्राधिकरणले अहिलेदेखि नै दीर्घकालीन सोच राखेर लोडसेडिङ नहुने गरी योजना बनाउनुपर्छ।’ उनले भने।
विद्युत प्राधिकरणले लो–भोल्टेजको समस्या तत्काल समाधान गर्न नसक्ने भएकाले यसको दीर्घकालीन समाधानका लागि सरकारले भौतिक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने घिमिरेले सुझाएका छन्।
विद्युत प्राधिकरणले लो–भोल्टेजको समस्या तत्काल समाधान गर्न नसक्ने भएकाले यसको दीर्घकालीन समाधानका लागि सरकारले भौतिक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने घिमिरेले सुझाएका छन्। नेपालभित्रको उत्पादन घट्दै गएपछि, देशभित्रको माग पूरा गर्नका लागि नेपाल विद्युत प्राधिकरण (एनइए) ले भारतबाट बिजुली आयात गर्नेगर्छ।
उत्पादन कम भए पनि हिउँदमा अत्यधिक माग पूरा गर्न यो आयात आवश्यक हुन्छ। फागुन महिनापछि अर्थात् चैत–वैशाख लाग्दै गर्दा खोलाहरूमा पानीको बहाव पुनः बढ्न थालेपछि मात्र विद्युत उत्पादन बिस्तारै सामान्य अवस्थामा फर्कन्छ।
एनइएका प्रबन्ध निर्देशक मनोज सिलवालका अनुसार अहिले नै ठूलो समस्या आइसकेको छैन र विद्युत आपूर्ति व्यवस्थापन भइरहेको छ। ‘हालसम्म प्रणाली सन्तुलनमा रहेको र तत्कालै ठूलो विद्युत कटौती गर्ने अवस्था छैन।’ उनले भने, ‘कहिलेकाहीँ प्रणालीमा सामान्य तलमाथि हुँदा कुनै कुनै उद्योगलाई केही समयका लागि कम समय वा कम क्षमतामा मात्रै चलाउन आग्रह गरिएको छ, विजुली काटिएको छैन।’
विगतका वर्षमा जस्तै आन्तरिक उत्पादनले माग धान्न नसकेको अवस्थामा नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत आयात गरेर आपूर्तिलाई सन्तुलित बनाउँदै आएको छ। यस वर्ष पनि विद्युतको माग र आपूर्तिको सन्तुलन मिलाउन प्राधिकरणले विभिन्न उपाय अपनाइरहेको देखिन्छ।