काठमाडौं। सन् २०१३ देखि नेपाली आकाशलाई युरोपियन युनियन (ईयु)ले कालोसूचीमा राखिरहेको छ। हरेक पर्यटन मन्त्री नियुक्त भएसँगै ईयुको कालोसूचीबाट नेपाललाई हटाउने प्रतिबद्धता जनाउँदै आए पनि हालसम्म कार्यन्वयनमा आउन सकेको छैन। जसका कारण नेपाली ध्वजावाहक जहाज नेपाल एयरलाइन्स युरोपियन मुलकमा जान सकेका छैनन्। युरोपबाट पनि एयरलाइन्स नेपालमा आएका छैनन्।
सन् २०१३ अघि युरोपबाट धेरै एयरलाइन्स नेपाल आउने र नेपालबाट पनि सीधा उडान हुने गरेको थियो। पर्यटन व्यवसायीका अनुसार जति बेलाबाट युरोपले नेपाललाई कालोसूचीमा राख्यो त्यही अवस्थादेखि पर्यटकको संख्या घट्दै गएको छ।
खासमा खर्चालू पर्यटकहरु नेपालमा युरोप र अमेरिकाबाटै आउने गरेका छन्। अहिले युरोप र अमेरिकाबाट आउने अधिकांश पर्यटकहरु कतार र दुबईबाट आउने गरेका छन्। जसका कारण टिकटको मूल्य महँगो भएकाले यात्राको समय पनि लम्बिएको छ। कतिपय पर्यटकहरु नेपाल आउन चाहेर पनि नआएको र अन्य मुलुकमा जाने गरेको बताउँछन्।
करिब दुई तिहाईनजिक सिट ल्याएर गठन भएको नयाँ सरकारले चुनावीअघि सार्वजनिक गरेको बाचापत्रमा वार्षिक ५० लाख पर्यटक नेपालमा ल्याउने घोषणा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषणा गरेको ५० लाख पर्यटक ल्याउने लक्ष्य पूरा गर्न पनि युरोप उडान हुनु अतिआवश्यक रहेको पर्यटन व्यवसायीहरुको भनाइ छ।
एक्सपिडिसन हिमालयका प्रबन्ध निर्देशक नविन त्रितालले नेपालबाट युरोपसँग सीधा उडान गर्न सके अहिलेको तुलनामा धेरै पर्यटकहरु ल्याउन सकिने बताउँछन्। ‘युरोपबाट सीधा उडान नभएका कारण नेपालमा त्यस क्षेत्रबाट पर्यटकहरु आउनुपर्ने जति आउन सकेको छैन,’ उनले भने, ‘हाम्रो क्लाइन्डहरु धेरै त्यतैका छन्। उनीहरुको एउटै गुनासो हुन्छ- सीधा उडान किन भएन?’
छिमेकी मुलुक भारतमा दैनिक ठूलो संख्यामा युरोपबाट जहाजहरूको दोहोरो उडान हुँदै आएको छ।
ईयुको कालोसूचीबाट नेपाललाई हटाउनका लागि पहल नभएको भने हैन। पटक-पटक भएको पहलले सार्थकता नपाउँदा समस्या भोग्दै आएको छ। छिमेकी मुलुक भारतमा दैनिक ठूलो संख्यामा युरोपबाट जहाजहरूको दोहोरो उडान हुँदै आएको छ।
एडभेन्चर वल्र्ड ट्रेल्स एण्ड ट्राभलर्सका प्रबन्ध निर्देशक सुनिल राणाले युरोपका विभिन्न मुलुकबाट कम्तीमा सातामा दुई÷दुई दिन उडान मात्र गर्न सके धेरै पर्यटक नेपाल ल्याउन सकिने बताउँछन्।
युरोपमा रहेका एयरलाइन्सहरू नेपाल आउन तयार भए पनि कालोसूचीका कारणले नआएको उनको भनाइ छ। ‘युरोपबाट नआउँदा सबैभन्दा बढी घाटा नेपालको पर्यटन क्षेत्रलाई परेको छ,’ उनले भने, ‘नयाँ सरकारले कुटनीतिक पहल गरी तत्कालै एयरलाइन्स सञ्चालनको व्यवस्था गर्नुपर्छ।’
नेपालमा रोजगारी सिर्जना गर्ने र विदेशी मुद्रा तत्कालै आर्जन गर्न सक्ने एक मात्र माध्यम भनेका कारण पर्यटन क्षेत्र रहेकाले युरोपको बजारलाई ध्यान दिएर सरकारले काम गर्नुपर्ने उनीहरूको भनाइ छ।
सन् २०२५ मा युरोपेली देशबाट दुई लाख २१ हजारभन्दा बढी पर्यटक नेपाल आएका थिए। अहिले युरोपको नेदरल्याण्डबाट रोयलटच, जर्मनीबाट लुप्थान्सा एयरलाइन्स, स्वीजरल्याण्डको जुरीचबाट स्वीस एयर, पेरिसबाट एयर फ्रान्सले नेपाल उडानका लागि इच्छा व्यक्त गरिरहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यले पर्यटन मन्त्री खडकराज पौडेल (गणेश)ले ईयुको कालोसूचीबारे चासो राख्दै हटाउने पहलका लागि छलफल अगाडि बढाएको जानकारी दिए।
अहिले ईयुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकीय निकाय छुट्टाछुट्टै बनाउन प्रस्ताव गरिएअनुसार काम भइरहेकाले यो विषय टुंगो तत्कालै हुन सक्ने बताउँछन्।
प्राधिकरणलाई दुई वटा बनाउने प्रस्तावसहितको विधेयक यसअघिको प्रतिनिधिसभा पेश भइसके पनि संसद विगठन भएपछि पुनः पर्यटन मन्त्रालयले त्यसमा केही संशोधन गरी पठाउने तयारी भइरहेको उनको भनाइ थियो।