काठमाडौं। सरकारी लापरबाहीका कारण हेली एभरेष्ट प्रा.लि.का चार वटै हेलिकोप्टर ग्राउण्डेड भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणको गम्भिर्यता नबुझेकाले प्रक्रिया पूरा गरे पनि निर्धारित समयमै एयर अपरेटर सर्टिफिकेट (एओसी) नवीकरण नहुँदा सबै हेलिकोप्टर आइतबारदेखि ग्राउण्डेड भएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर १७ गते प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदिप अधिकारीलाई भक्तपुरको नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टचार गरेको आरोपमा पक्राउ गरेपछि हेली एभरेष्टको एओसी नवीकरणमा ढिलाई भएको हो।
हरेक दुई/दुई वर्षमा हुनुपर्ने एओसी नवीकरणका लागि हेली एभरेष्टले निर्धारित समयमै आवश्यक डकुमेन्ट बुझाए पनि प्राधिकरणको ढिलासुस्तीका कारण सबै हेलिकोप्टर ग्राउण्डेडमा परेका हुन्।
प्राधिकरणका एक उच्च अधिकारीका अनुसार हेली एभरेष्टको फाइल तत्कालीन महानिर्देशक अधिकारीको टेबलमा १६ गते पुगेर १७ गते निर्णय गर्ने तयारी गरिरहँदा निलम्बनमा परेका हुन्।
प्राधिकरण श्रोतका अनुसार १६ गते फाइल महानिर्देशकको टेबलमा पुगेपछि सम्भवत १७ गते निर्णय हुन सक्थ्यो।
महानिर्देशक अधिकारी पक्राउ परेपछि पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले समयमै निमित्त महानिर्देकको कार्यभार नदिएकाले हेली एभरेष्टको फाइल रोकिएको थियो। जसका कारण आइतबारदेखि चार वटै हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राण्डेड गरिएको छ।
नागरिक उड्डयन प्राधिकरण नियमावली २०५८ मा एओसी नवीकरण नगरी कुनै पनि एयरलाइन्सले उडान गर्न पाउँदैन। सोही कारण शनिबारदेखि हेली एभरेष्टको एओसीको म्याद सकिएकाले स्वतः ग्राउण्डेड भएको प्राधिकरणले जनाएको छ।
किन भयो ढिलाइ?
प्राधिकरण श्रोतका अनुसार १६ गते फाइल महानिर्देशकको टेबलमा पुगेपछि सम्भवत १७ गते निर्णय हुन सक्थ्यो। तर, तत्कालीन महानिर्देशक अधिकारी पक्राउ परेपछि पर्यटन मन्त्रालयले तत्कालै निमित्त महानिर्देशक वा महानिर्देशकको जिम्मेवारी कुनै कर्मचारीलाई दिनुपथ्र्यो।
एओसी नवीकरणको अधिकार महानिर्देशकसँग मात्र रहने भएकाले कुनै विभागीय प्रमुखले गर्न नपाउने नियम छ। जसका कारण प्राधिकरणको महत्व नबुझेकाले समस्या परेको ती अधिकारीको भनाइ छ।
१८ गते सार्वजनिक बिदा र १९ गते मात्र महानिर्देशकको जिम्मेवारी पर्यटन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई अर्को व्यवस्था नभएसम्मका लागि तोकिएको छ।
आइतबार प्राधिकरण पुगेनन् डंगोल
प्राधिकरण श्रोतका अनुसार आइतबार दिउँसोसम्म महानिर्देशकको जिम्मेवारी पाएका सहसचिव डंगोलले कार्यभार सम्हालेका छैनन्।
अन्य सरकारी संस्थान र उड्डयन प्राधिकरणलाई एउटै हो भन्ने बुझाई पर्यटन मन्त्रालयको रहेकाले समस्या उत्पन्न हुने स्थिति देखिएको प्राधिकरणका कर्मचारीको भनाइ छ।
यता, महानिर्देशकको जिम्मेवारी पाएका डंगोलले आइतबार आइकाओ डे भएकाले मन्त्रालयमै व्यस्त रहेको जानकारी दिए। उनले थप जिम्मेवारी मात्र पाएकाले मन्त्रालयमै बसेर प्राधिकरणको काम गर्न थालिएको जानकारी दिए।
क्यानलाई पनि सरकारी संस्थानकै व्यवहार
अन्य सरकारी संस्थान र उड्डयन प्राधिकरणलाई एउटै हो भन्ने बुझाई पर्यटन मन्त्रालयको रहेकाले समस्या उत्पन्न हुने स्थिति देखिएको प्राधिकरणका कर्मचारीको भनाइ छ।
मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकायको रुपमा रहेको प्राधिकरणमा अनुभव नभएका कर्मचारीलाई महानिर्देशकको जिम्मेवारी दिइरहँदा महत्वपूर्ण र गम्भिर खालका निर्णय गर्नबाट हिचकिचाउने स्थिति आउन सकिने विश्लेषण हुन थालेको छ।
नेपाल राष्ट्र बैंकलाई जसरी गम्भिरताको साथ सरकारले लिइन्छ, त्यसैगरी उड्डयन प्राधिकरणलाई पनि लिनुपर्नेमा सामान्य रुपमा हेरिएको कर्मचारीहरुले दुःखेसो पोखे।