काठमाडौं। स्टार्टअप कर्जाका लागि १०२४४ उद्यमीले परियोजना प्रस्ताव दर्ता गराएका छन्। कात्तिक १९ मा २१ दिने सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेकामा अन्तिम दिन आइतबारसम्म उक्त संख्याका परियोजना प्रस्ताव दर्ता भएका औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको हो।
प्रतिष्ठानमै पुगेर २०४१ उद्यमीले परियोजना प्रस्ताव दर्ता गराएका हुन् भने अनलाइनमार्फत ८२०३ जनाले प्रस्ताव दर्ता गराएको प्रतिष्ठानको सूचनामा उल्लेख छ।
परियोजनाको सूची सार्वजनिक गरिएकाले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ मा तोकेको मापदण्डअनुसार छानबिन र मापदण्डअनुसार आएका परियोजनाको सर्टलिस्ट गरेर फेरि सूची निकालिने प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले बताए।
मापदण्डअनुसार भएका परियोजनालाई व्यावसायिक योजना प्रस्तुत गर्न बोलाएर कर्जा प्रवाहयोग्य सूची सार्वजनिक गरिनेछ। छनोट भएका परियोजनाको प्रस्तुतीकरण र बैंकबाट क्रेडिट अप्रेजल भई प्राप्त अंकभारको ५० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने प्रस्तावमध्येबाट सबैभन्दा बढी अंक प्राप्त गर्ने प्रस्तावलाई प्राथमिकीकरण गरी कर्जाका लागि सिफारिस गरिने प्रतिष्ठानले बताएको छ।
प्रतिष्ठानले तेस्रो पटक स्टार्टअप उद्यम कर्जा प्रवाह गर्न लागेको हो । सरकारले चालु आर्थिक वर्षका लागि स्टार्टअप कर्जा प्रवाह गर्न ७३ करोड बजेट छुट्याएको छ। यस वर्ष बजेट कम भएकाले अधिकतम २० लाख रुपैयाँसम्म कर्जा वितरण गर्ने प्रतिष्ठानले जनाएको छ।
छानिएका स्टार्टअपले तीन प्रतिशत ब्याजदरमा न्यूनतम पाँच लाखदेखि अधिकतम २० लाख रुपैयाँसम्म पाँच वर्षमा फिर्ता गर्ने गरी कर्जा पाउनेछन्।
प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगका रूपमा सम्बन्धित उद्योग दर्ता गर्ने निकायमा दर्ता भएको, नवीन एवं सिर्जनशील सोच र प्रविधिको उपयोग गरी उद्यम व्यवसायका रूपमा रुपान्तरणमार्फत उच्च वृद्धिको सम्भावना भएको, दर्तापछिको कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको र सञ्चालित उद्यम व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्ययवसाय गरेका उद्यमी स्टार्टअप कर्जाका लागि योग्य हुने कार्यविधिमा उल्लेख छ।