काठमाडौं। सरकारले युवा उद्यमका लागि बिनाधितो ऋण दिने गरी सञ्चालन गरिरहेको स्टार्टअप कर्जा उद्यम कार्यक्रमअन्तर्गत साढे १० हजारको आवेदन परेको छ।
गत कात्तिक १९ मा कर्जाका लागि आवेदन आह्वान गरिएकामा तोकिएको अवधीभित्र साढे १० हजार बढीको प्रस्ताव परेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले विवरण सार्वजनिक गरेको हो। यीमध्ये २ हजार बढी प्रस्ताव भौतिक र बाँकी विद्युतीय माध्यमबाट दर्ता भएका हुन्।
सातै प्रदेशका ७७ जिल्ला र ७१३ स्थानीय तहबाट प्रस्ताप आएको प्रतिष्ठानले बताएको छ। प्रत्येक विषयगत क्षेत्रमा आएका परियोजनालाई विज्ञसहितको मूल्यांकन समितिबाट अध्ययन गरी मूल्यांकन गरिएको थियो। एआईमा आधारित स्क्रिनिङ सफ्टवेयरमार्फत प्रारम्भिक छनोट प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ।
स्थलगत अध्ययनमा पठाइएका सहजकर्ताले परियोजनाको वास्तविक अवस्था, सम्बन्धित तस्बिर, तथा उद्यम सञ्चालनको प्रमाणका रूपमा करिब एक मिनेटको भिडियोसमेत संलग्न गरी प्रतिवेदन पेस गरेका छन्।
प्राप्त आवेदनमध्ये प्रक्रिया पूरा गरेर ६०० परियोजना आवेदनलाई छनोट गरी स्टार्टअप कर्जा उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए।
परियोजनालाई ८० अंकको आधारमा मूल्यांकन गरिनेछ, जसमा व्यवसायिक प्रस्तुतीकरण, व्यवहार्य, नवप्रवर्तन तथा अन्य सूचक समेटिएका छन्। प्रारम्भिक सूचीमा परेका परियोजनालाई थप क्रेडिट जाँच गरी अन्तिम छनोट तथा कर्जा प्रवाह प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ।
स्टार्टअप उद्यम कर्जाका लागि सरकारले आर्थिक वर्ष २०८२/८३ मा ६६ करोड रुपैयाँ बजेट छुट्याएकाे छ।कार्यक्रमअन्तर्गत बैंक तथा वित्तीय संस्थामार्फत ३ प्रतिशत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था छ।