काठमाडौं। बिहानको घाम झ्यालबाट पस्दै गर्दा दुर्गामार्गको एउटा सानो गल्लीको कफी सपमा पहिलो ग्राहक आइसक्छन्। ग्राहक छिर्नुपूर्व नै एस्प्रेसो मेसिनबाट निस्केको भापले सानो कोठामा कफीको मादक सुगन्ध फैलिइसकेको हुन्छ।
काउन्टरमा उभिएका बारिस्टाले सफेद कपमा एउटा सुन्दर लाट्टे आर्ट बनाइरहेका छन्। पर्खालमा टाँसिएको बोर्डमा लेखिएको छ- ‘अमेरिकानोः १५०, क्यापुचिनोः १८० र लाट्टेः २०० रुपैयाँ।’
यो दृश्य आजभन्दा १५ वर्षअघि काठमाडौंमा कल्पना पनि गर्न सकिँदैनथ्यो। तर, अहिले काठमाडौंका हरेक चोक-चोक र गल्ली-गल्लीमा छ्यापछ्याप्ती देखिन्छन्। काठमाडौंमा जताततै कफीको सुगन्ध। यो परिवर्तन अचानक भएको होइन। यसका पछाडि लुकेको छ-हिमालयन जाभाको संघर्ष र सफलताको कथा, युवा उद्यमीको साहसको कथा र नेपाली समाजमा आएको ठूलो सांस्कृतिक परिवर्तनको कथा।
सन् २००० को सुरुआत। काठमाडौंमा पहिलो पटक हिमालयन जाभाको झन्डा फहरायो। नेपालीहरू चियाको संस्कारमा मग्न थिए। बिहान उठ्नेबित्तिकै चिया, दिउँसो चिया, बेलुका चिया। ‘कफी के हो त?’-धेरैको यही प्रश्न थियो। केहीले विदेश गएर कफी चाखेका थिए, तर नेपालमा कफीको संस्कृति थिएन।
हिमालयन जाभाका संस्थापक गगन प्रधानले नेपाली बजारमा कफी कल्चर बसाउन रिस्क लिएरै काम गरेको ठानिन्छ। सुरुका दिनमा मानिसहरू कफी सप आउँथे, मेन्यू हेर्थे र मूल्य देखेर फर्किन्थे। ‘यो त चियाभन्दा पाँच गुणा महँगो रहेछ,’ धेरैको यही प्रतिक्रिया हुन्थ्यो।
तर, प्रधानले हार मानेनन्। उनले नेपालीलाई कफी पिउन सिकाउन थाले। कफीको विभिन्न प्रकारबारे बुझाए, कसरी बनाइन्छ, यसको स्वाद कस्तो हुन्छ- यी सबै कुरा बुझाउन थाले। पहिले विदेशबाट फर्केकाहरू आउँथे, जसले विदेशमा कफी चाखेका थिए। त्यसपछि युवाहरू आउन थाले- जसलाई केही नयाँ र फरक प्रयोग गर्न मन थियो।
हिमालयन जाभाले नेपालमा कफी पिउने संस्कार मात्र होइन, कफीको गुणस्तर बुझ्ने संस्कृति विकास गर्यो। सफलताको रहस्य थियो-गुणस्तर र नेपाली पहिचान। ब्लेन्डेड नेपाली कफी नै हिमालयन जाभाको पहिचान बन्यो।
जाडो महिनामा न्यानो कफीको माग बढ्छ भने गर्मीमा ‘आइस ब्लेन्डेड’ ड्रिंक्स लोकप्रिय हुन्छन्
राम्रो मेसिन, दक्ष बारिस्टा, सफा र आकर्षक वातावरण-सबै कुरामा लगानी गरे। विस्तारै मानिसले बुझ्न थाले- गुणस्तरको मूल्य पर्छ। आज हिमालयन जाभामा सबैभन्दा बढी बिक्री हुने कफी हुन्- अमेरिकानो, क्यापुचिनो र क्याफे लाट्टे। जाडो महिनामा न्यानो कफीको माग बढ्छ भने गर्मीमा ‘आइस ब्लेन्डेड’ ड्रिंक्स लोकप्रिय हुन्छन्। हिमालयन जाभाले नेपालमा कफी कल्चरको आधार बनायो। यो कथा आजका सयौं युवा उद्यमीका लागि प्रेरणा पनि हो।
हरेक घरमा कफी सपः काठमाडौंको नयाँ पहिचान
हिमालयन जाभाले बनाएको आधारमा पछिल्लो दशकमा काठमाडौंमा कफी सपको विस्फोट भयो। काठमाडौं होइन, पूरै नेपालभर यो क्रान्ति फैलिरहेको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा कुल ८०८ टन कफी खपत भयो। यसमध्ये ६४२ टन स्वदेशी उत्पादन र २०३ टन आयात। यो आँकडा पछिल्लो १२ वर्षमा निरन्तर बढ्दै गएको छ। आर्थिक वर्ष २०७०/७१ मा नेपालमा जम्मा ६० टन कफी आयात हुन्थ्यो। आज यो संख्या २०३ टन पुगेको छ- झन्डै साढे तीन गुणा वृद्धि।
यो वृद्धि कफी सपको बढ्दो संख्याबाटै भएको हो। काठमाडौंको दरबारमार्गदेखि सातदोबाटसम्म, ठमेलदेखि पुल्चोकसम्म। जताततै सानादेखि ठूलासम्म- सबै आकारका कफी सप खुलेका छन्। केही लाखौं लगानीका ठूला क्याफे छन्, केही लाखका।
यी कफी सपका आ-आफ्नै विशेषता, विविधता छन्। हिमालयन जाभाजस्ता ब्रान्डेड चेनदेखि स्थानीय साना सपसम्म। कोही शतप्रतिशत नेपाली कफी प्रयोग गर्छन्, कोही आयातीत कफी। केहीको मूल्य ६०० रुपैयाँसम्म छ भने केहीको १०० रुपैयाँ। यो विविधताले नै नेपाली कफी बजारलाई जीवन्त बनाएको छ।
यो नेपालको कफी बजारको परिपक्वताको संकेत हो। विश्वका ठूला कफी ब्रान्डले नेपाललाई रिचआउट गरिरहेका छन्।
र यी कफी सपहरूमा केवल कफी बेचबिखन मात्र हुँदैनन्, भेटघाट हुन्छ, कुराकानी हुन्छ, मित्रता बन्छ। विद्यार्थीहरूको अध्ययन थलो बनेको छ। व्यवसायी मिटिङ प्वाइन्ट। प्रेमीको डेटिङ स्पर्ट। लेखक यहाँ आएर लेख्छन्। कफी सप केवल पेय पदार्थ बेच्ने ठाउँ मात्र नभई सामाजिक स्थान हो, सांस्कृतिक केन्द्र बन्दै गएको छ।
हिमालयन जाभा र स्थानीय कफी सपले बनाएको बजारले अहिले अन्तर्राष्ट्रिय चेनको ध्यान तान्न थालेको छ। यो नेपालको कफी बजारको परिपक्वताको संकेत हो। विश्वका ठूला कफी ब्रान्डले नेपाललाई रिचआउट गरिरहेका छन्।

केही अन्तर्राष्ट्रिय ब्रान्ड नेपालमा आइसकेका छन्। कतिपय फ्रान्चाइजी मोडलमा छन्, कतिपय सिधै लगानी गरेर। र धेरै आउने क्रममा छन्। यस क्षेत्रका जानकारका अनुसार आगामी दुई-तीन वर्षमा नेपाली कफी बजार अझ प्रतिस्पर्धात्मक हुनेछ।
अन्तर्राष्ट्रिय चेनसँग प्रतिस्पर्धा गर्न स्थानीय व्यवसायीले गुणस्तर सुधार गर्नुपर्छ, नवीनता ल्याउनुपर्छ। तर, उनीहरूसँग एउटा फाइदा छ-स्थानीय चिनजान, नेपाली स्वाद र कम लागत।
विश्वव्यापी रूपमा हेर्दा कफी उद्योग विशाल छ। वार्षिक रूपमा १०० बिलियन डलरभन्दा बढीको व्यापार हुने क्षेत्रभित्र पर्छ। स्टारबक्स, कोस्टा कफी, नेरो, ड्युनकिन डोनट्सलगायत ठूला चेनहरूले विश्वभर आफ्नो साम्राज्य फैलाइरहेका छन्। एसियामा खासगरी चीन, भारत, इन्डोनेसिया र फिलिपिन्समा कफी बजार तीव्र गतिमा बढिरहेको छ। नेपाल पनि यो सूचीमा छ।
अन्तर्राष्ट्रिय चेनको आगमनले उपभोक्तालाई धेरै विकल्प दिन्छ। गुणस्तर सुधार हुन्छ। रोजगारीका नयाँ अवसर सिर्जना हुन्छन्।
२७ वर्षीय आयुषको साहसः विदेश होइन, स्वदेशमा लगानी
आयुष भण्डारीको कथा सुन्दा लाग्छ, यो कुनै फिल्मको स्क्रिप्ट हो कि! २७ वर्षका आयुष दाङका स्थायी बासिन्दा हुन्। उनका धेरैजसो साथीहरू अस्ट्रेलिया, युके, जापान, कोरियालगायत देश गइसकेका छन्। कोही भिसाको पर्खाइमा छन्। कोही आईईएलटीएस तयारीमा व्यस्त छन्।
‘सबैजना विदेश जान्छन् भनेर म पनि जानुपर्छ भन्ने छैन नि,’ आयुष भन्छन्, ‘म सोच्थें-यहाँ पनि त केही गर्न सकिन्छ।’
आयुष आफैं कफीप्रेमी हुन्। काठमाडौंमा अध्ययन गर्दा उनी विभिन्न कफी सपहरू घुम्ने गर्थे। कफीका विभिन्न प्रकार प्रयोग गर्थे। विस्तारै उनको मनमा विचार आयो-आफैंले केही गर्न सकिन्न त?
उनले बजार अध्ययन गरे। काठमाडौं, पोखरा, चितवनका कफी सपहरू हेरे। मूल्य बुझे। मानिसको रुचि बुझे। लगानी र प्रतिफल गणना गरे। अन्ततः निर्णय गरे-कफी सप खोल्ने।
अस्पताल परिसर भएकाले उनको कफी सपमा विविध प्रकारका ग्राहक आउँछन्।
आफूले जम्मा गरेर राखेको पैसा र परिवारको लिएर ४० लाख रुपैयाँको लगानीमा काठमाडौंको एउटा अस्पतालको परिसरमा ‘अराविका स्पेसियालिटी कफी हाउस’ खोले। ‘पहिलो दिन निकै नर्भस थिएँ,’ आयुष सम्झन्छन्, ‘सोच्थें- यदि मान्छे आएनन् भने के गर्ने? यदि घाटा भयो कति उत्रिने? तर पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया आयो।’
अस्पताल परिसर भएकाले उनको कफी सपमा विविध प्रकारका ग्राहक आउँछन्। बिरामीका आफन्त आउँछन्-जसलाई लामो पर्खाइमा केही स्फूर्तिदायक चाहिन्छ। डाक्टर र नर्स आउँछन्, जसलाई लामो ड्युटीमा ऊर्जा चाहिन्छ। नजिकै कार्यालय रहेका कर्मचारी आउँछन्। विद्यार्थी आउँछन्।
आयुषको व्यावसायिक रणनीति स्पष्ट छ-गुणस्तर र स्थानीय पहिचान। उनले शतप्रतिशत नेपाली अरेबिका कफी प्रयोग गर्छन्। गुल्मी, इलाम, धनकुटा, काभ्रेका किसानबाट कफी किन्छन्। नेपालमै रोस्टिङ गरेर ल्याउँछन्।

आयुष भन्छन्, ‘अहिले दैनिक १५ देखि २० हजार रुपैयाँसम्म कफी बिक्री गर्छन्। केही दिन कम पनि हुन्छ, केही दिन बढी। तर, औषत राम्रै छ।’ महिनामा करिब पाँच लाखको आम्दानी हुन्छ। यसबाट खर्च, तलब, भाडा सबै कटाएर पनि राम्रो नाफा बाँकी रहन्छ।’
सबैभन्दा ठूलो चुनौती भनेको दक्ष जनशक्ति अभाव। आयुष भन्छन्, ‘मान्छेहरू सीप सिक्छन् तर नेपालमा बस्न चाहँदैनन्। अलिकति हात बस्यो कि उनीहरू विदेशको भिसा प्रक्रिया सुरु गरिहाल्छन्।’
आयुषजस्ता युवा उद्यमीहरू नेपालका आशा हुन्। दैनिक सयौं युवा विदेश पलायन भइरहेका बेला यिनीहरू देशमै केही गर्न खोजिरहेका छन्। यिनको सफलता अन्य युवाका लागि प्रेरणा पनि हो।
नेचुरल बिन्स क्याफेः विद्यार्थीको प्रिय ठाउँ
डिल्लीबजार। काठमाडौंको यो भाग विद्यार्थी जमघट केन्द्र हो। यहाँ सयौं कन्सल्टेन्सी छन्। परीक्षा सेन्टर छन्। आईईएलटीएस, पीटीई, जीआरई, जीम्याटलगायत परीक्षा हुन्छन्, यहाँ। यहीँ छ, कपिल केसीको ‘नेचुरल बिन्स क्याफे।’
कपिल पनि आयुषजस्तै युवा उद्यमी हुन्। उनले पनि विदेश जाने बाटो छाडेर नेपालमै लगानी गर्ने निर्णय गरे। ‘हाम्रा मुख्य ग्राहक विद्यार्थी नै हुन्,’ कपिल भन्छन्, ‘बिहान आईईएलटीएस परीक्षा दिएर आउँछन्, तनावमा हुन्छन्। यहाँ आएर एक कप कफी खान्छन्, अलि रिल्याक्स हुन्छन्। दिउँसो कन्सल्टेन्सी जाने क्रममा यहाँ आएर समय बिताउँछन्।’
कपिलको क्याफेमा दैनिक १० देखि १२ हजार रुपैयाँसम्म व्यापार हुन्छ। सप्ताहन्तमा बढी हुन्छ, सामान्य दिनमा अलि कम भए पनि औषतमा राम्रै छ। महिनामा तीनदेखि साढे तीन लाख रुपैयाँ आम्दानी हुने उनको भनाइ छ।
उनको अनुभवअनुसार कफी व्यवसायमा लगानी र प्रतिफलको अनुपात राम्रो छ।
कपिलको क्याफेमा सबैभन्दा बढी बिक्री हुने कफी अमेरिकानो हो। उनको अनुभवमा ‘६ देखि ७ लाख रुपैयाँ लगानीमा राम्रो कफी सप खोल्न सकिन्छ। मुख्य खर्च मेसिन र सजावटमा जान्छ। राम्रो एस्प्रेसो मेसिन चाहिन्छ, जसको मूल्य ३ देखि ४ लाख पर्छ। बाँकी सजावट र फर्निचरमा हो।’
उनको अनुभवअनुसार कफी व्यवसायमा लगानी र प्रतिफलको अनुपात राम्रो छ। ‘अन्य व्यवसायमा भन्दा यसमा प्रतिफल छिटो आउँछ,’ उनी भन्छन्, ‘तर गुणस्तरमा कुनै सम्झौता गर्नुहुँदैन। मेसिन राम्रो हुनुपर्छ, कफी गुणस्तरीय हुनुपर्छ र सेवा उत्तम हुनुपर्छ।’
कपिलको क्याफेमा एक कप चिया ३० रुपैयाँमा पाइन्छ भने कफीको मूल्य १०० देखि १५० रुपैयाँ। तर, मान्छेहरू कफी रोज्छन्। ‘यसले के देखाउँछ भने मानिस अब गुणस्तर बुझ्न थालेका छन्,’ कपिल भन्छन्, ‘उनीहरू मूल्यमा होइन, स्वाद र अनुभवमा लगानी गर्छन्।’
कफीः जीवनशैली बनिसक्यो
ललितपुरको ग्वार्काे। २३ वर्षीया सिजा गौतम आफ्नो कोठामा बसेर पीटीई परीक्षाको तयारी गरिरहेकी छन्। तर, उनको टेबलमा किताब, ल्यापटपसँगै छ, एक कप कफी। ‘कफीबिना अध्ययन हुँदैन,’ सिजा हाँस्दै भन्छिन्।
बिहान उठ्नासाथ पहिलो काम भनेको कफी पिउने र दिउँसो अध्ययन गर्दा अनिवार्य कफी चाहिने बताउँछिन्, गौतम। बेलुका थकान मेट्न कफीको सुर्को नभई हुँदैन। ‘म कफी एडिक्ट हुँ,’ उनी सुनाउँछिन्।

सिजा मात्र नभई आजका हरेक नेपाली युवा पुस्तामा कफी कल्चर बनिसकेको छ। कफी पेय पदार्थ मात्र नभई जीवनशैली नै बनेको हो। सिजा प्रायः एक्लै कफी पिउन जान्छिन्। ‘कतिपय मानिसले साथीभाइसँग कफी पिउन मन पराउँछन्, तर म एक्लै पनि उत्तिकै रमाउँछु,’ उनी भन्छिन्।
नेचुरल बिन्स क्याफे कर्मचारी पासाङ तामाङका अनुसार पहिले ग्राहक ठूला मानिस हुन्थे। तर, अहिले युवा विद्यार्थीको भीड हुन्छ। उनीहरू कफीको गुणस्तर धेरै राम्रोसँग बुझ्छन्।
लाखौं नेपाली विदेश छन्। उनीहरूले विदेशमा कफी कल्चर अनुभव गरे। फर्केर आएपछि नेपालमा पनि त्यही संस्कृति खोजे।
इन्टरनेट र सोसल मिडियाले नेपाली युवाहरूलाई विश्व संस्कृतिसँग जोड्यो। उनीहरूले अमेरिकी, युरोपेली, कोरियन कफी कल्चर देखे। र आफूले पनि त्यस्तै गर्न चाहे।
लाखौं नेपाली विदेश छन्। उनीहरूले विदेशमा कफी कल्चर अनुभव गरे। फर्केर आएपछि नेपालमा पनि त्यही संस्कृति खोजे। नेपाली समाजको क्रयशक्ति बढेको छ। मध्यम वर्गको विस्तार भएको छ। १०० रुपैयाँको कफी किन्न सक्ने मानिसको संख्या बढेको छ।
काठमाडौं, पोखरा, चितवन जस्ता सहरमा सहरी जीवनशैली विकास भएको छ। त्यसमा कफी कल्चर स्वाभाविक रूपमा समाविष्ट छ। नवदीप पोखरेल र रमेश गेलाल साथी हुन्। नवदीप निजी क्षेत्रमा काम गर्छन्, रमेश सरकारी अधिवक्ता हुन्। दुवैको व्यस्त जीवन। तर, सातामा एकाध पटक उनीहरू कफी सपमा भेट्छन्।
‘कफी सप हाम्रो ‘मिटिङ पोइन्ट’ हो,’ नवदीप भन्छन्, ‘कार्यालयमा समय छैन, घरमा परिवार छ। कफी सपमा आएर दुई घन्टा शान्त वातावरणमा कुरा गर्न सकिन्छ।’
यो आजको नेपाली सहरी संस्कृतिको एउटा महत्वपूर्ण पक्ष हो। कफी सप केवल कफी पिउने ठाउँ मात्र होइनन्, यो सामाजिक स्थान पनि हो। यहाँ मानिसहरू भेट्छन्, कुरा गर्छन्, सम्बन्ध बनाउँछन्। पहिले नेपालमा यस्तो ‘तेस्रो स्थान’ अभाव थियो। घर र कार्यालयबाहेक अरू कहाँ जाने? कफी सपले यो खालीपन पूरा गर्यो।

‘कफी सप एउटा उत्तम सामाजिक स्थान हो,’ अधिवक्ता रमेश भन्छन्, ‘यहाँ तपाईं घन्टौं बस्न सक्नुहुन्छ। एक कप कफी अर्डर गरेर दुई घन्टा कुरा गर्न सक्नुहुन्छ। कसैले केही भन्दैन।’
उनले थपे, ‘गुल्मी, इलाम र धनकुटाजस्ता जिल्लामा कफी उत्पादन बढे पनि व्यावसायिक रूपमा अझै विस्तार हुन सकेको छैन। कफी उत्पादन कम हुनु र यसलाई ‘स्ट्यान्डर्ड’ पेयको रूपमा हेरिनुले पनि यसको मूल्य बढेको हुन सक्छ।’
रोजगारी सिर्जनाः बारिस्टा एउटा नयाँ पेसा
दरबारमार्गमा रहेको एभरेष्ट कफी बिन्स कफी सप व्यस्त छ। काउन्टरमा लक्ष्मी थापा मगर एस्प्रेसो मेसिन चलाउन व्यस्त छन्। उनी प्रशिक्षित बारिस्टा पनि हुन्। ‘म पहिले होटलमा काम गर्थें,’ लक्ष्मी भन्छिन्, ‘त्यहाँ सामान्य कामदार थिएँ। तर, जब मैले बारिस्टा तालिम लिएँ, मेरो जीवन नै बदलियो। अहिले म एक बारिस्टा हुँ।’
लक्ष्मीको तलब मासिक २५ हजार रुपैयाँ छ। यो सामान्य होटल कामदारको तलबभन्दा धेरै हो। ‘काम पनि सजिलो छ,’ उनी भन्छिन्, ‘सफा वातावरण, सम्मानजनक काम र मान्छेसँग राम्रा कुराकानी।’
बारिस्टा नेपालमा नयाँ पेसा हो। पहिले त्यस्तो शब्द नै थिएन। तर, अहिले काठमाडौंमा मात्र सयौं बारिस्टा छन् र तिनको माग बढ्दो छ।
कफी विशेषज्ञका अनुसार एक राम्रो बारिस्टा बन्न ६ महिनादेखि १ वर्षसम्मको अनुभव चाहिन्छ। कफी बिन पहिचान गर्न, सही तरिकाले ग्राइन्ड गर्न, एस्प्रेसो निकाल्न, दूध फोम गर्न, लाट्टे आर्ट बनाउन सीप चाहिन्छ।
नेपालमा अहिले धेरै तालिम केन्द्रले बारिस्टा तालिम दिइरहेका छन्। तालिम अवधि सामान्यतः १ देखि २ महिना हुन्छ। तालिम शुल्क १५ हजारदेखि २५ हजारसम्म लाग्छ। तालिम सकेपछि रोजगारीको कमी छैन। यद्यपि धेरैजसो तन्नेरीले विदेश जानकै लागि बारिस्टा तालिम लिन्छन्। अस्ट्रेलिया, बेलायत, क्यानडामा बारिस्टाको ठूलो माग छ। नेपालमा तालिम लिएर त्यहाँ जाने चलन बनेको छ।

‘यो हाम्रो सबैभन्दा ठूलो समस्या हो,’ युवा व्यवसायी आयुष भण्डारी भन्छन्, ‘हामीले जति मिहिनेत गरेर तालिम दिन्छौं, उनीहरू केही महिनापछि विदेश जान्छन्। फेरि नयाँ मानिस भर्ना गर्नुपर्छ, फेरि तालिम दिनुपर्छ।’
तर, नेपाली बारिस्टाहरू विदेशमा राम्रो कमाइरहेका छन्। अस्ट्रेलियामा एक जना बारिस्टाले महिनाको २ देखि ३ लाख नेपाली रुपैयाँ सहजै कमाउन सक्छन्, जुन नेपालमा सम्भव छैन।
कफी उद्योगले नेपालमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौं रोजगारी सिर्जना गरेको छ।
केही युवाहरूले नेपालमै बसेर करियर बनाउन थालेका छन्। ‘म विदेश जान सक्थें,’ उनी भन्छिन्, ‘तर मलाई यहीँ राम्रो लाग्छ। परिवार नजिक छ, आफ्नै देश हो।’
कफी उद्योगले नेपालमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौं रोजगारी सिर्जना गरेको छ। बारिस्टा, सर्भर, किचन स्टाफ, सफाइ कर्मचारी, म्यानेजर संख्या बढ्दै गइरहेको छ।
नेपाली कफी गुणस्तरीय तर अपर्याप्त उत्पादन
नेपाली कफीको गुणस्तरबारे विश्वभर चर्चा छ। नेपालको हिमाली क्षेत्रमा उत्पादन हुने अरेबिका कफी विशिष्ट स्वाद र सुगन्धका लागि प्रसिद्ध छ। विश्व बजारमा नेपाली कफीले प्रिमियम मूल्य पाउँछ।
आर्थिक वर्ष २०८१/८२ मा नेपालले जम्मा ६४ टन कफी निर्यात गर्यो, जसबाट ११ करोड ४३ लाख रुपैयाँ विदेशी मुद्रा आर्जन भयो। सोही अवधिमा नेपालले २०३ टन कफी आयात गर्यो, जसमा १४ करोड ४३ लाख रुपैयाँ खर्च भयो। अर्थात्, प्रतिकिलो करिब ७१० रुपैयाँमा कफी आयात भएको देखिन्छ। नेपाली कफी आयातीतभन्दा २.५ गुणा महँगो बिक्री हुन्छ।
नेपालमा कफी खेती प्रायः रासायनिक मलबिनै प्राकृतिक अर्थात् अर्गानिक तरिकाले गरिन्छ। हिमाली क्षेत्रको जलवायु कफीका लागि उपयुक्त छ। यसले विशिष्ट स्वाद दिन्छ।
‘नेपाली अरेबिका कफी विश्वमा ‘स्पेसियालिटी कफी’ का रूपमा चिनिन्छ’, कफी निर्यात गर्दै आएका भरत रेग्मी भन्छन्, ‘युरोप र अमेरिकामा यसको विशेष माग भए पनि हामीसँग पर्याप्त उत्पादन छैन।’

गुणस्तर उत्कृष्ट छ, विश्व बजारमा माग छ, तर उत्पादन अपर्याप्त छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालमा जम्मा ६४२ टन ‘ग्रीन बिन’ कफी उत्पादन भयो। यो नेपाली बजार मागलाई पनि पूरा गर्न अपर्याप्त छ। निर्यातको कुरै नगरौं।
नेपालमा कफी खेती झन्डै ९ दशकअघि सुरु भएको मानिन्छ। गुल्मी आँपचौरका हिरा गिरीले बर्माबाट कफीको बिउ ल्याएर लगाएसँगै यो यात्रा सुरु भएको हो। तर, यति लामो समयपछि पनि नेपालमा कफी खेती विस्तार हुन सकेन।
पछिल्लो आर्थिक वर्षको तथ्यांकअनुसार देशभर पाँच हजार पाँच सय एक हेक्टर जमिनमा मात्र कफी खेती हुने गरेको छ। नेपालमा करिब ४१ लाख हेक्टर खेतीयोग्य जग्गा छ। यसमध्ये ३१ लाख हेक्टरमा खेती हुन्छ। जम्मा ०.१७ प्रतिशत भूभागमा मात्रै कफी खेती भइरहेको छ।
बिचौलियाले कम मूल्यमा किन्छन्। किसानले उचित मूल्य पाउँदैनन्।
पहिलो, कफी खेतीमा धैर्य चाहिन्छ। कफीको बोट लगाएपछि फल दिन ४/५ वर्ष लाग्छ। यति लामो समय पर्खन किसान तयार हुँदैनन्। दोस्रो, प्राविधिक ज्ञानको कमी। कफी खेति विशेष प्रकारको खेती हो। सही तरिकाले बोटबिरुवा हेरचाह गर्नु, सही समय तोड्नु, सही तरिकाले प्रशोधन गर्न प्राविधिक ज्ञान चाहिन्छ।
तेस्रो, बजार पहुँच कमी। कफी उत्पादन गरे पनि बेच्ने कहाँ? सबै किसानले सीधै निर्यात गर्न सक्दैनन्। बिचौलियाले कम मूल्यमा किन्छन्। किसानले उचित मूल्य पाउँदैनन्।
चौथो, सरकारी नीतिको कमी। कफी खेतीलाई बढावा दिन सरकारी तर्फबाट प्रभावकारी नीति र कार्यक्रम छैनन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड छ, तर यसको प्रभावकारिता सीमित छ।
पछिल्लो १२ वर्षमा कफी उत्पादन २१२ टनले बढेको छ। आर्थिक वर्ष २०७०/७१ मा ४२९ टन उत्पादन भएको कफी अहिले ६४२ टन पुगेको छ। बढ्दो स्वदेशी माग नै किसानका लागि सबैभन्दा ठूलो प्रोत्साहन हो। स्वदेशमै बजार छ। काठमाडौंका कफी सप नेपाली कफी किन्न तयार छन्। उचित मूल्य दिन पनि तयार छन्।
कफी विकास बोर्डले कफीको मूल्य निर्धारण पनि गरेको छ। सबैभन्दा मूल्यवान् पार्चमेन्ट ए ग्रेडको कफी मूल्य प्रतिकेजी ५३५ रुपैयाँ तोकिएको छ।
यदि नेपालले कफी उत्पादन बढाउन सफल भए यो नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने क्षेत्र बन्न सक्छ। विश्वभर कफी अर्ब डलरको उद्योग हो। प्रतिदिन २.२५ बिलियन कप कफी उपभोग हुन्छ। कफी तेलपछि दोस्रो सबैभन्दा बढी व्यापार हुने कमोडिटी हो।

कफीको इतिहास रोचक छ। १५औं शताब्दीमा इथियोपियामा कफी पत्ता लाग्यो। त्यसपछि अरब देशमा फैलियो। १७औं शताब्दीमा युरोप पुग्यो। अमेरिकामा १८औं शताब्दीमा लोकप्रिय भयो। आज त विश्वभर फैलिएको छ।
विभिन्न देशमा कफी कल्चर फरक छ। इटालीमा एस्प्रेसो संस्कृति छ। मानिस काउन्टरमा उभिएर एक सट एस्प्रेसो पिउँछन् र जान्छन्। फ्रान्समा क्याफे संस्कृति छ। मानिस घन्टौं बसेर कफी पिउँछन्, पत्रिका पढ्छन्।
अमेरिकामा कफी संस्कृति फरक छ। स्टारबक्सले त्यहाँ कफी संस्कृतिमा क्रान्ति गर्यो। ठूला कपमा कफी, विभिन्न प्रकारका ड्रिंक्स, आरामदायक वातावरण अमेरिकी मोडल हो। यो मोडल विश्वभर फैलियो।
एसियामा पनि कफी कल्चर तीव्र गतिमा बढिरहेको छ। दक्षिण कोरियामा कफी सप युवाको मुख्य भेटघाट स्थल बन्छ। जापानमा विशेष प्रकारको कफी कल्चर विकास भएको छ। चीनमा कफी उपभोग तीव्र गतिमा बढिरहेको छ।
नेपाल पनि यही विश्वव्यापी धारामा सामेल भएको छ। नेपालको कफी कल्चर अमेरिकी र युरापेली मोडेलको मिश्रण हो। हिमालयन जाभाजस्ता स्टारबक्स स्टाइलका ठूला चेन पनि छन्। सानो स्थानीय कफी सप पनि यहाँ उपलब्ध छन्।
नेपालमा वातावरण उत्कृष्ट छ, सेवा राम्रो छ र अवश्य पनि कफी उत्कृष्ट छ।
नेपाली कफी कल्चरको एउटा विशेषता छ-सामाजिक पक्ष। हामी कफी सपमा घन्टौं बस्छौं, कुरा गर्छाैं। यो पश्चिमी देशको ‘कफी टू गो’ ले गएर पिउने संस्कृतिभन्दा फरक छ। नेपालमा विश्वकै उत्कृष्ट कफी उपलब्ध छन्। इथियोपियन, कोलम्बियन, ब्राजिलियन कफी चाहिए पनि काठमाडौंमा पाइन्छ।
क्रयशक्तिअनुसारका कफी
नेपालमा हिमालयन जाभाजस्ता प्रिमियम ब्रान्डदेखि साना स्थानीय कफी सप पनि छन्, जहाँ मूल्यको विविधता छ। यो विविधताले नेपाली बजारको परिपक्वता झल्काउँछ। यहाँ सबै प्रकारका उपभोक्तरू छन् र सबैका लागि कफी उपलब्ध छ।

उच्च वर्गका मानिसका लागि हिमालयन जाभा, एभरेष्ट कफी र अन्य प्रिमियम ब्रान्ड छन्। नेपालमा वातावरण उत्कृष्ट छ, सेवा राम्रो छ र अवश्य पनि कफी उत्कृष्ट छ। मूल्य महँगो छ, तर गुणस्तर पनि उत्तिकै छ।
मध्यम वर्गीय मानिसका लागि साना र मझौला कफी सप छन्। यहाँ मूल्य मध्यम छ, गुणस्तर पनि राम्रो छ। यो विविधताले नेपाली कफी बजारलाई स्वस्थ बनाएको छ। यदि महँगा कफी सप मात्र भएको भए यो संस्कृति यति व्यापक हुन सक्थेन। तर, विभिन्न मूल्य सीमाका विकल्प भएकाले धेरै मानिस कफी कल्चरमा सामेल हुन सकेका छन्।
चुनौती र अवसरः भविष्य कस्तो?
पहिलो चुनौती भनेको उत्पादन वृद्धि नहुनु हो। नेपालमा कफी खेती व्यापक बनाउनुपर्छ। ०.१७ प्रतिशत भूभागमा कफी खेती हुनु भनेको अत्यन्त कम हो। यसलाई कम्तीमा १ प्रतिशतसम्म बढाउनुपर्छ। यसका लागि किसानलाई प्रोत्साहन, प्राविधिक सहयोग र बजार पहुँच चाहिन्छ।
दोस्रो चुनौती दक्ष जनशक्ति अभाव। बारिस्टा र अन्य दक्ष कर्मचारीको निरन्तर अभाव छ। युवाहरू तालिम लिएर विदेश जान्छन्। यसलाई रोक्न नेपालमै राम्रो तलब र अवसर सिर्जना गर्नुपर्छ।
तेस्रो चुनौती भनेको गुणस्तर नियन्त्रणको हो। कफी सपको संख्या बढ्दै जाँदा गुणस्तरमा फरक छ। केही उत्कृष्ट छन्, केही औषत छन्। गुणस्तर मापदण्ड बनाउनुपर्छ र त्यसलाई कार्यान्वयन गर्नुपर्छ।

चौथो चुनौती अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढ्नु हो। अन्तर्राष्ट्रिय चेन आइरहेका छन्। स्थानीय व्यवसायीले नवीनता, स्थानीय पहिचान र गुणस्तरमा लगानी गरेर मात्र प्रतिस्पर्धा गर्न सक्छन्।
पहिलो अवसर पनि नेपालसामु विशाल छ। नेपाली कफी विश्व बजारमा प्रिमियम मूल्यमै पाइन्छ। यदि उत्पादन बढाउन सकियो भने निर्यातबाट ठूलो विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।
नेपाल पर्यटकीय गन्तव्य पनि हो। वार्षिक लाखौं पर्यटक आउँछन्। उनीहरूलाई नेपाली कफी अनुभव गराउन सकियो भने त्यसले पार्ने सकारात्मक प्रभाव ठूलो हुन्छ। कफी खेती पहाडी क्षेत्रका लागि उत्तम विकल्प हो। यसले ग्रामीण किसानलाई राम्रो आम्दानी दिन सक्छ र ग्रामीण-सहरी पलायन रोक्न मद्दत गर्न सक्छ।
विदेशमा गएर गर्ने परिश्रमको केही हिस्सा मात्र पनि आफ्नै देशमा लगानी गरिए प्रशस्त अवसर छन्।
हिमालयन कफी एउटा शक्तिशाली ब्रान्ड बन्न सक्छ। हिमालयको नाम आफैंमा एक ब्रान्ड हो। यसलाई सही तरिकाले प्रयोग गर्न सकियो भने नेपाली कफी विश्व बजारमा विशिष्ट पहिचान बनाउन सक्छ।
कफी कल्चरले नेपालमा उद्यमशीलताको नयाँ लहर ल्याएको छ। हजारौं युवालाई रोजगारी दिन सक्षम भएको छ। ग्रामीण किसानलाई नगदे बालीको विकल्प दिएको छ। सहरमा नयाँ सामाजिक स्थान सिर्जना गर्न सम्भव भएको छ। आज कफी केवल पेय पदार्थ मात्र नभई जीवनशैली बनेको छ। सामाजिक सम्बन्धको माध्यम बन्न पुगेको छ।
अन्तर्राष्ट्रिय चेन आगमनले नेपाली कफी बजारलाई थप प्रतिस्पर्धात्मक बनाउँदै लगेको छ। नेपाली युवाको सोच परिवर्तन भइरहेको छ। विदेशमा गएर गर्ने परिश्रमको केही हिस्सा मात्र पनि आफ्नै देशमा लगानी गरिए प्रशस्त अवसर छन्।
कफी कल्चर युवा आकांक्षाको कथा हो। यो उद्यमशीलताको कथा हो। यो आर्थिक रुपान्तरणको कथा हो। सबैभन्दा महत्वपूर्ण पाटो भनेको आशाको कथा हो। काठमाडौंका गल्लीमा फैलिने कफी सुगन्धले परिवर्तनको सुगन्ध ल्याउँछ। नयाँ नेपालको सुगन्ध फैल्याउँछ। युवाहरूले आफ्नै देशमा देखेको सपना साकार पार्न सक्ने विकल्प देखाउँछ।