काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म झन्डै ९० हजार क्वीटल धान खरिद गरेको छ। खाद्यले पछिल्लो पटक ८७ हजार १ सय क्विन्टल धान खरिद गरेको हो।
कम्पनीका अनुसार यो खरिद प्रक्रियामा हालसम्म करिब ३० करोड रुपैयाँ खर्च भइसकेको छ। यसवर्ष झन्डै ७० करोड रुपैयाँ बराबरको धान खरिद गर्ने लक्ष्य राखिएको छ, जसका लागि कुल ९० करोड रुपैयाँ छुट्याइएको छ। बाँकी रकम गहुँ खरिदमा प्रयोग गरिने कम्पनीले जनाइएको छ।
कम्पनीले हालसम्म बुटवल, विराटनगर, भैरहवा, नेपालगन्ज, राजापुर र तुलसीपुरमा धान खरिद गरिरहेको छ। धनगढी र महेन्द्रनगरका लागि तोकिएको कोटा (धनगढीमा ३५ हजार क्वीन्टलको सट्टा करिब ३९ हजार क्विन्टल र महेन्द्रनगरमा ५ हजारको सट्टा ६ हजार ९ सय क्विन्टल) धान खरिद गरी सकेको छ। जनकपुरमा यहीँ साताबाट धान खरिद सुरु हुनेछ। यस्तै, जुम्ला, पोखरा र वीरगन्जमा खरिद प्रक्रिया सुरु हुन बाँकी छ।
धान खरिद गर्ने कार्य पुस महिनाभरि चल्ने र माघको दोस्रो सातासम्म पनि जारी रहन सक्ने अनुमान कम्पलीले जनाएको छ। कम्पनीले तोकेको समर्थन मूल्यमा खरिद गरे पनि किसानले पर्याप्त मूल्य नपाएको गुनासो बढेको छ। गत वर्षको तुलनामा यसवर्ष धानको मूल्य कम हुनुमा भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाउनु मुख्य कारण रहेको र बजारमा मूल्य सस्तो भएको कम्पनीले जनाएको छ।
यो वर्ष सरकारले धानको न्युनतम समर्थन मूल्य मोटा धान प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ।