काठमाडौं। नेपालको कृषि खाद्य प्रणालीलाई समावेशी, जलवायु अनुकुल र लगानीमैत्री दिशामा अगाडि बढाउने उद्देश्यका साथ नेपाल फुड फोरम २०२५ सोमबार काठमाडौंमा सम्पन्न भएको छ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयोजनामा फोरमले कृषि खाद्य प्रणाली रूपान्तरणका लागि लगानी, नवप्रवर्तन र युवा नेतृत्वमा जोड दिएको हो।
फोरमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले कृषि क्षेत्रको आधुनिकीकरणका लागि नवप्रवर्तन, लगानी र समावेशीतामा सरकारको प्रतिबद्धता राखे।
उनले कृषि लगानी दशक (२०२४/२०३४) अन्तर्गत उत्पादन, प्रतिस्पर्धा तथा दिगोपना सुधार गर्न युवाको भूमिकालाई मेरुदण्डको रूपमा चित्रण गर्दै सकारात्मक नीति, उद्यमशीलता प्रवद्र्धन, सीप विकास र वित्तीय पहुँचका माध्यमबाट युवाका लागि अनुकूल वातावरण बनाउने प्रयासमा जोड दिए। मन्त्री डा.परियारले कृषि रूपान्तरणका लागि युवा, महिला, आदिवासी युवा र पहाडी क्षेत्रका युवाको समावेशीता सुनिश्चित गर्नु पर्ने तर्क राखे।
एफएओका नेपाल तथा भुटान प्रतिनिधि केन शिमिजुले युवालाई विकास कार्यक्रमका लाभग्राही मात्र नभई कृषि खाद्य प्रणाली रूपान्तरणका प्रमुख साझेदार र नेता भएको धारणा राखे। उनले युवाको नवप्रवर्तनशील सोच, उद्यमशील ऊर्जाले जलवायु परिवर्तन र खाद्य असुरक्षाजस्ता चुनौती समाधान गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए।
संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजक हाना सिंगर ह्याम्डीले दिगो विकास लक्ष्य प्राप्तिका लागि बहुक्षेत्रीय दृष्टिकोण आवश्यक रहेको तर्क राखिन्। विशेष गरी युवा महिला तथा सीमान्तकृत समुदायलाई विकासका कार्यक्रमको केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याइन्।
सो फोरुममा विज्ञान, नवप्रवर्तनको भूमिका, विपद् जोखिम न्यूनीकरणमा डिजिटल प्रविधि र जलवायु लगायत विषयमा छलफल भएको थियो।