काठमाडाैं। सात वर्षअघि संखुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन्। यसअघि व्यावसायिक खेतीको अनुभव नभए पनि तीन वर्षअघि उनले सुरु गरेकाे तरुलखेतीबाट अहिले २२ जनाको जीविकोपार्जन सुनिश्चित बनेको हो।
खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर सुरु गरेका हुन्। ‘जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन, तर तीन वर्षको प्रयासपछि तरुलखेतीबाट २२ जनालाई रोजगारी दिनुका साथै आत्मनिर्भर बनाउन सफल भएको छु’, उनले भने।
सुन्दरहरैँचा–७ को ‘७५ बिघा’ भन्ने ठाउँ वर्षौँदेखि पानीको कमी र जगङ्ली जनावारको आतंकले ग्रस्त थियो। धान र मकै सुक्ने, बोरिङको पानीले मात्रै पुग्ने अवस्था थिएन। ‘पहिले केराखेती पनि हुन्थ्यो। तर, हात्तीको आतंकले बोटहरूमा क्षति भइरहन्थ्यो’, खेमराजले भने। त्यस्तो अवस्थामा उनले वैकल्पिक खेतीकाम रूपमा तरुल छनोट गरेको उनको भनाइ छ।
खेमराजले भने, ‘साथीभाइले सुरुमा गरेको देखेपछि मलाई पनि रहर लागेर आयो। तीन बिघा जमिन भाडामा लिएर तरुल लगाएँ, आज सात बिघामा विस्तार भएको छ।’
उनीसँगै उभिएका जग्गाधनी प्रकाश उप्रेतीले भने, ‘पानी नै नभएर सबै बाली सुक्थ्यो। पूर्वाञ्चल विश्वविद्यालय बनेपछि बाटोको छेउ परेपछि झन पानी आउने विकल्प नै रोकियो। तर तरुल भने सुकेको जमिनमा पनि उत्पादन हुँदो रहेछ।’ तरुलखेतीबाट प्रशस्त आम्दानी हुने देखिएपछि यहाँका किसानमा पुनः आशा पलाएको उनको भनाइ छ।
उप्रेतीका अनुसार तरुलको एउटै बोटले तीन–पाँच किलोसम्म फल दिने, बजारमा माघेसङ्क्रान्तिसम्म माग बढ्ने भएकाले किसानको मुहारमा उत्साह देखिएको छ। सफलतासँगै जंगली जनावरको सास्ती भने कायम नै रहेको स्थानीय किसान बताउँछन्।
‘यस क्षेत्र कहिले बँदेल, कहिले मृग र कहिलेकाहीँ हात्ती आइरहन्छन्’, खेमराजले भने, ’बँदेलले बोटै उखेलेर खाइदिन्छ। तरुल जोगियो भने सुन फल्दो रहेछ। तर जोगाउनै चुनौतीपूर्ण बनेको छ।’
उनले बिघाको रु ६० हजारका दरले सात बिघाको भाडा तिर्दै आएको बताए। सबै खर्च काट्दा वर्षको करिब रु सात लाख बचत हुने जनाउँदै उनले यहाँबाट २२ जनाले रोजगारी पाएका उल्लेख गरे। केराबालीमा रोगको समस्या बढेपछि विकल्पका रूपमा आफूले तरूलखेती रोजेको उनले जानकारी दिए।