काठमाडाैं। संखुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापालाई धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मान गरिएको छ। चालु आर्थिक वर्षमा ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल भएका उनलाई नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन गर्ने किसानका रूपमा सम्मान गरिएको हो।
आज आयोजित कार्यक्रममा पाँचखपन–६ का वडाध्यक्ष विष्णु श्रेष्ठले थापालाई नगद रु ३० हजारसहित सम्मानपत्र प्रदान गरे। पाँचखपनका किसानलाई सहज रूपमा खेती गर्ने वातावरण सिर्जना गर्दै उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम लागू गरिएको उनले जानकारी दिए।
किसानको मेहनतलाई सम्मान नगरी कृषि क्षेत्रको दिगो विकास सम्भव नहुने उल्लेख गर्दै उनले यस्ता पुरस्कारले अन्य किसानलाई पनि व्यावसायिक खेतीतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे। किसान थापाले परम्परागतखेती प्रणालीलाई सुधार गर्दै आधुनिक प्रविधि, उन्नत जातका बीउ, समयमा मलखादको प्रयोग, नियमित सिँचाइ व्यवस्थापन, निरन्तर मेहनतलगायत कारणले बढी उत्पादन सम्भव भएको बताए। सफलताका लागि परिवारको साथ, स्थानीय सरकारको सहयोग र निरन्तर परिश्रम प्रमुख कारण भएको उनको भनाइ छ।
थापाको सफलताबाट सिकेर यहाँका कतिपय किसानले धानखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन थालेका वडाध्यक्ष श्रेष्ठले बताए। स्थानीय सरकारले किसानलाई सम्मान र प्रोत्साहन दिने नीति अवलम्बन गरेसँगै कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सकिने किसानको विश्वास छ।
पाँचखपन–६ ले आगामी दिनमा पनि उत्पादनमा आधारित अनुदान, किसानलाई सम्मान, तालिम, बीउ तथा प्रविधि सहयोगलगायत कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।