काठमाडौं। ग्लोकल आफ्ट स्कुलले सीप विकास, सिर्जनशीलता र युवा सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ साताव्यापी कार्यक्रम 'स्किल विक २०२६' को घोषणा गरेको छ। आगामी जनवरी ११ देखि १९, २०२६ सम्म आयोजना हुने यस कार्यक्रममा विभिन्न कार्यशाला, प्रयोगात्मक सिकाइ, प्रतियोगिताहरू, प्रदर्शनी र युवा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिने छन्। कार्यक्रमको मुख्य आकर्षण जनवरी १६ मा हुने 'फेस्ट डे' र जनवरी १९ मा हुने 'समापन समारोह' रहने छ।
के हो त स्किल विक २०२६?
ग्लोकल आफ्ट स्कूलको प्रख्यात सीप आधारित पारिस्थितिक प्रणालीबाट प्रेरित यो कार्यक्रम 'घटना, सिर्जनशीलता, सीप, प्रेरणा र अन्तर्दृष्टिले भरिएको एक साता' हो। यसको मुख्य उद्देश्य युवाहरूलाई शिक्षासँगै मनोरञ्जनको मिश्रण गरी आवश्यक जीवन उपयोगी र व्यावसायिक सीपहरू सिक्न र विकास गर्न प्रोत्साहित गर्नु हो।
आफैँले आफैँबसेर गरिने अभ्यासदेखि अन्तर्क्रियात्मक सत्रहरूसम्म, स्किल विकले युवा, शिक्षक, पेशेवर र संस्थाहरूलाई सीपको महत्त्व मनाउन एउटै साझा मञ्च प्रदान गर्दछ।
कार्यक्रमका मुख्य आकर्षणहरू
- जनवरी ११-१५: नेतृत्व, प्रविधि, सिर्जनशीलता, सञ्चार, र उद्यमशीलता जस्ता विभिन्न विधामा कार्यशाला, मास्टरक्लास, प्रतियोगिता र अन्तर्क्रियात्मक सिकाइ सत्रहरू।
- जनवरी १६-फेस्ट डे: स्किल वीकको मुख्य आकर्षण१ यस दिन सीप प्रदर्शनी, प्रत्यक्ष प्रदर्शन, साङ्गीतिक प्रस्तुति, नेटवर्किङ स्पेस, युवा प्रतिभा प्रदर्शन, खेल र विभिन्न स्टलहरू रहने छन्।
- यसै दिन 'सिईओ अनप्लगिङ' फोरम पनि आयोजना गरिने छ। जहाँ 'आज र भोलिको संगम' भन्ने नाराका साथ उद्यमी, व्यवसायी र विद्यार्थीहरूबीच समसामयिक व्यावसायिक चुनौती र भविष्यका सम्भावनाबारे छलफल हुनेछ।
- जनवरी १७-१८: उद्योग र शिक्षा क्षेत्रबीचको अन्तर्क्रिया र 'नेशनल बिजनेस केस स्टडी' प्रतियोगिताको फाइनल।
- जनवरी १९- समापन समारोह: साताभरिका उपलब्धि र सिकाइको समीक्षा गर्दै भविष्यका मार्गचित्रबारे चर्चा गरिने छ। यसै अवसरमा 'स्किल हिरो अवार्ड्स' प्रदान गरिने छ, जसले कला र संस्कृति, पर्यटन र आतिथ्य, विज्ञान र प्रविधि, र उद्यमशीलता क्षेत्रमा असाधारण योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानित गर्ने छ।
स्किल विकको महत्त्व
स्किल विक २०२६ ले परम्परागत शिक्षा र व्यावहारिक सीपबीचको खाडललाई कम गर्ने लक्ष्य राखेको छ। ग्लोकल आफ्ट स्कूलका अध्यक्ष श्री आशिष ठाकुरका अनुसार स्किल विक एउटा कार्यक्रम मात्र नभई एक अभियान हो। हाम्रो लक्ष्य युवाहरूले सिक्ने, प्रयोग गर्ने, र आफ्नो क्षमतालाई विश्वसामु उजागर गर्ने ठाउँ सिर्जना गर्नु हो।