काठमाडौं। सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन हुने भएको छ। यसैगरी हेटौंडाको मयूरधाप र रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गरिनेछ।
नेपाल उद्योग परिसंघ र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच ती औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्ने विषयमा शुक्रबार समझदारी भएको हो।
सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणमा निर्माण तथा सञ्चालन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीको उपस्थितीमा परिसंघका तर्फबाट महानिर्देशक डा घनश्याम ओझा र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सूर्यबहादुर तामाङले हस्ताक्षर गरेको परिसंघले जनाएको छ।
सरकारले सार्वजनिक निजी साझेदारी अवधारणामा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिने घोषणा गरेअनुसार सीएनआईले औद्योगिक क्षेत्र निर्माणका लागि निफ्रासँग समझदारी गरेको हो।
यो समझदारीसँगै सार्वजनिक निजी साझेदारी अवधारणामा निजी क्षेत्रलाई औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिन सरकारलाई संयुक्त रूपमा प्रस्तावसँगै आग्रह गरिनेछ।
सो अवसरमा सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालनका लागि निफ्रासँग समझदारी गरी सुरुआती काम गर्न लागिएको बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले औद्योगिक क्षेत्र निर्माण सम्बन्धमा सीएनआईसँग भएको यो समझदारीलाई निफ्राले प्रस्थान विन्दुको रूपमा लिएको बताए। उनले परिसंघसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारी अवधारणामा अगाडि लैजान सकिने जनाए।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले सरकारले सार्वजनिक निजी साझेदारी अवधारणामा निजी क्षेत्रलाई पनि औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिने भनेकाले यो समझदारीले राम्रो सन्देश गएको बताए।