सुनसरी। गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, सङ्खुवासभा पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट किसानले उत्पादन गरेका सुन्तला धरान उपमहानगर १३ स्थित कृषि उपज बजारमा बिक्रीका लागि ल्याइरहेका छन्।
धरान कृषि बजारमा गत वर्षको तुलनामा यस वर्ष कात्तिक, मङ्सिरमै करिब २५ प्रतिशत बढी सुन्तला भित्रिएको धरान कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिए। अध्यक्ष भट्टराईका अनुसार यस वर्ष सुन्तलाको कारोबारमा पनि ३० प्रतिशतले वृद्धि भएको छ। अहिले सुन्तलाको बिक्री राम्रो भइरहेकाले यो किसान र उपभोक्ता दुवैका लागि सकारात्मक पक्ष भएके उहाँले बताए।
पछिल्लो समय सुन्तलाखेतीको क्षेत्र बढेका कारण पनि कारोबार बढेको उनको भनाइ छ। कात्तिक १५ गतेदेखि सुन्तला बजारमा आउन सुरु भई चैतको दोस्रो सातासम्म सुन्तला आउने गरेको उनले जानकारी दिए। “ढुवानी व्यवस्थित गर्न, ग्रेडिङ, प्याकेजिङ तथा ब्रान्डिङ गर्नसके कोशी करिडोरको सुन्तला स्वादिलो र मीठो हुने भएकाले बजार विस्तार अझ प्रभावकारी हुन्थ्यो”, उनले भने।
भोजपुरका किसान प्रदीप राई भने, “प्रत्येक वर्ष २० देखि ३० मेट्रिक टन सुन्तला बिक्री गर्दै आएकामा गत वर्ष १६ मेट्रिक टनमात्र सुन्तला फल्यो तर यो वर्ष भने दुई महिनाको अवधिमै १२ मेट्रिक टन बढी सुन्तला बिक्री भइसकेको छ। यो वर्ष उत्पादन राम्रो छ, मूल्य यथावत रहे पनि उत्पादन वृद्धि भएकाले आम्दानी राम्रै हुने अपेक्षा छ।"
अर्का व्यापारी अशोक राईका अनुसार यस वर्ष फल लाग्ने समयमा मौसम अनुकूल रहेकाले उत्पादनमा उल्लेख्य वृद्धि भएको हो। वर्षा भए पनि खासै क्षति भएन, रोग, कीरा पनि कमै लाग्यो। उनले भने, “पछिल्लो समय किसानले मकै र धानखेती हुने खेतबारीमा पनि सुन्तलाखेती विस्तार गर्न थालेका छन्। सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि किसान सुन्तलाखेतीप्रति बढी आकर्षित हुन थालेका हुन्।”
पछिल्ला चार वर्षदेखि मूल्य भने यथावत नै छ। उनले अहिले सुन्तला आकार हेरेर प्रतिकिलो ३० देखि ८० सम्ममा बिक्री भइरहेको जानकारी दिए।