काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सले आजदेखि सर्वसाधारणलाई प्रारम्भिक निष्कासन (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओको बाँडफाँटपछि सर्वसाधारणका निम्ति आईपीओ निष्कासन गरेको हो।
सार्वजनिक निष्कासनका लागि छुट्याएको साधारण सेयरमा ५७ हजार ७९८ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता निष्कासन गर्नेछ।
कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा छ। अर्थात् लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्नेछ।
बुक बिल्डिङ निर्देशिकाबमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।
लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा पुस ११ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरे निष्कासन अवधि पुस २१ सम्म लम्बिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एन्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले सेयर निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ दिएको छ। यसले समयमै सुरक्षित रुपले वित्तीय दायित्व वहन क्षमता पर्याप्त रहेको बुझिन्छ। रिलायन्स स्पिनिङ मिल नेपालको धागो उत्पादकमध्ये रोजगारदाताका रुपमा पनि सबैभन्दा ठूलो उद्योग हो।