काठमाडौं। लक्ष्मी ग्रुपले स्थापनाको ५२औं वर्ष विभिन्न कार्यक्रम गरी मनाएको छ।
सन् १९७३ मा ‘लक्ष्मी मिठाई भण्डार’ नामक सानो पसलबाट सुरु भएको यो यात्रा ५२ वर्षसम्म आइपुग्दा ठूलो र सफल व्यावसायिक घराना (कम्पनी) को रूपमा विकसित भएको ग्रुपले जनाएको छ।
विगत वर्षमा ग्रुपले विभिन्न क्षेत्रमा व्यवसाय फैलाएको छ। हाल यसको पोर्टफोलियोमा अटोमोबाइल (साना–ठूला गाडी र पार्टपुर्जा), इलेक्ट्रोनिक्स, स्टील, कागज, प्लास्टिक तथा मिठाई उत्पादक उद्योग रहेका छन्। पाँच दशक अवधिमा देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै ग्रुपले हाल २ हजार बढीलाई रोजगारी दिँदै आएको छ।
लक्ष्मी ग्रुपले वार्षिकोत्सव अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामुदायिक कार्यक्रम आयोजना गरेको छ। समुदायको हितका लागि ग्रुपले देशभर रक्तदान कार्यक्रम सञ्चालन गरेको छ, जसले स्वास्थ्य र जनचेतनाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले धापाखेलस्थित ‘सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पाल्सी’लाई शैक्षिक सामग्री र अन्य आवश्यक सामान सहयोग गरेको छ।
लक्ष्मी ग्रुपअन्तर्गतको हुन्डाई काठमाडौंले नक्सालस्थित ऐतिहासिक भाटभटेनी मन्दिर परिसरमा सरसफाइ आयोजना गरी वातावरण संरक्षण र सम्पदा बचाउने कार्यमा ऐक्यबद्धता जनाएको छ। समुदायको हितमा काम गर्दा नै व्यवसाय दिगो र सफल हुने विश्वास लक्ष्मी ग्रुपको छ।