काठमाडौं। सेयर बजारमा मनोमानी चलखेल गर्ने र साधारण लगानीकर्तालाई ठग्ने गरी संगठित रूपमा कारोबार गरिरहेका व्यक्तिहरू अब प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र नेपाल धितोपत्र बोर्डको कडा निगरानीमा परेका छन्। नियामक बोर्डको प्रारम्भिक अनुसन्धानले सीमित व्यक्तिहरू मिलेर कृत्रिम रूपमा बजारमा उतारचढाव सिर्जना गरेको खुलासा गरेपछि यो मामिला अब आपराधिक अनुसन्धानको दायरामा पुगेको हो।
बोर्डको अनुसन्धान टोलीले गरेको बजार निगरानीका क्रममा केही व्यक्तिहरूले एकअर्कासँग मिलेर असामान्य कारोबार गरिरहेको तथ्य बाहिर आएपछि उनीहरूमाथि गहन अनुसन्धान शुरू गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा एउटा व्यक्तिले ठूलो परिमाणमा शेयर बिक्री गर्ने, त्यही बेला अर्को व्यक्तिले त्यसलाई खरिद गर्ने, त्यसपछि दोस्रो व्यक्तिले फेरी बिक्री गर्ने र तेस्रो व्यक्तिले खरिद गर्ने गरी एक किसिमको 'सर्कल' बनाएर कारोबार गरेको पाइएको छ। यस्तो कृत्रिम कारोबारबाट शेयरको मूल्यमा असामान्य उतारचढाव आउने र त्यसबाट साधारण लगानीकर्ता ठगिने गरेको बोर्डको निष्कर्ष छ।
यो खोजपछि बोर्डले सम्बन्धित फाइल प्रहरी प्रधान कार्यालयमा पठाएको थियो। प्रहरी प्रधान कार्यालयले विषयको गम्भीरता बुझेर यसलाई केन्द्रीय अनुसन्धान व्यूरोमा पठाएको छ। अहिले सीआईबीले यी कारोबारीहरूमाथि विस्तृत अनुसन्धान गरिरहेको छ। कसको नाममा कति परिमाणमा शेयर छ, कसले कसलाई कहिले बेचे, कसले कहिले किने, कति मूल्यमा कारोबार भयो, यसबाट कति मुनाफा कमायो भन्ने विवरण संगाल्ने काम भइरहेको सीआईबीका एक अधिकारीले जानकारी दिए।
अख्तियारको दबाबले बढायो तीव्रता
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि धितोपत्र बोर्डलाई सामूहिक छलफलमा बोलाएर स्पष्ट चेतावनी दिएको थियो। अनुसन्धान सकेका मुद्दाहरू तत्काल कारबाहीका लागि सम्बन्धित निकायमा पठाउनुपर्छ। विभागीय कारबाही गर्नुपर्ने भए तत्काल गर्नुपर्छ, थप अनुसन्धान गर्नुपर्ने भए अनुसन्धानकारी निकायलाई पठाउनुपर्छ। नत्र बोर्ड नै विपक्ष बन्नेछ भन्ने सन्देश अख्तियारले दिएको थियो।
यो चेतावनीपछि बोर्डले आफ्नो कार्यशैलीमा तीव्रता ल्याएको छ। एकातिर संगठित रूपमा बजार हेरफेर गर्ने कारोबारीहरूलाई सीआईबीमा पठाइएको छ भने अर्कोतिर बोर्डले आफैँ पनि बजारमा अस्वाभाविक चलखेल गर्ने अन्य ठूला लगानीकर्ताहरूमाथि भित्री रूपमा अनुसन्धान बढाइरहेको छ। बोर्डका अनुसार, केही प्रभावशाली व्यक्तिहरूले आफ्नो हैसियत र जानकारीको प्रयोग गरेर बजारलाई आफूअनुकूल चलाउन खोजेको आशंका गरिएको छ।
"कोमाथि अनुसन्धान भइरहेको छ भन्ने अहिले खुलाउन मिल्दैन," बोर्डका एक सदस्यले भने, "तर बजारलाई आफूअनुकूल चलाउन खोज्ने भिआइपीहरू हाम्रो निगरानीमा छन्। अनुसन्धान सकिएपछि उनीहरूमाथि नियामकीय कारबाही गर्ने वा थप अनुसन्धानका लागि अन्यत्र पठाउने निर्णय गरिनेछ।"
कसरी भयो बजार हेरफेर?
बोर्डको अनुसन्धानले फेला पारेको प्याटर्न निकै चासोको विषय बनेको छ। निश्चित व्यक्तिहरू आपसमा मिलेर कारोबार गर्दा एकले ठूलो परिमाणमा शेयर बिक्री गर्छन्, त्यही क्षण अर्को साथीले त्यो शेयर खरिद गर्छन्। केही समयपछि दोस्रो व्यक्तिले फेरी त्यही शेयर बिक्री गर्छन्, र तेस्रो व्यक्तिले खरिद गर्छन्। यसरी एक किसिमको 'गोलमोल' कारोबार गरेर उनीहरूले कृत्रिम रूपमा शेयरको मूल्य बढाउने वा घटाउने काम गर्छन्। यस्तो असामान्य कारोबार देखेर साधारण लगानीकर्ताहरू भ्रममा पर्छन् र गलत निर्णय लिन्छन्। यसै मौका छोपेर यी संगठित कारोबारीहरूले ठूलो मुनाफा लुट्ने गरेको बोर्डको अनुसन्धानले देखाएको छ।
यो प्रक्रिया अत्यन्तै सुनियोजित र चलाखीपूर्ण तरिकाले गरिएको पाइएको छ। कहिलेकाहीँ एउटै कम्पनीको शेयरमा यस्तो कारोबार केन्द्रित हुन्छ, कहिलेकाहीँ विभिन्न कम्पनीको शेयरमा समानान्तर रूपमा यस्तो खेल चल्छ। यसले बजारमा एक किसिमको असामान्य चहलपहल सिर्जना गर्छ र साधारण लगानीकर्ताहरूलाई यो वास्तविक बजारको गतिविधि हो भन्ने भ्रम हुन्छ।
प्रभावशाली व्यक्तिको संलग्नतामा आशंका
यसअघि पनि शेयर बजारमा केही प्रभावशाली व्यक्तिहरूको संलग्नतामा हेरफेर भएको आशंका गरिँदै आएको थियो तर ठोस प्रमाण र कारबाही हुन सकेको थिएन। लगानीकर्ताहरूले बारम्बार यस्ता गतिविधिको विरोध गर्दै आएका थिए तर नियामकले कडा कदम चाल्न सकेको थिएन। तर अहिले अख्तियारको दबाब र सीआईबीको संलग्नताले यो मामिला नयाँ मोड लिएको छ।
बोर्डका स्रोतका अनुसार, केही व्यक्तिहरूले आफ्नो राजनीतिक, आर्थिक वा सामाजिक प्रभावको दुरुपयोग गरेर बजारमा मनपरी गरेको आशंका छ। उनीहरूले साधारण लगानीकर्ताभन्दा पहिले जानकारी प्राप्त गर्ने, नीतिगत निर्णयमा प्रभाव पार्ने वा आफ्नै तरिकाले बजारको दिशा निर्धारण गर्ने प्रयास गरेको हुनसक्ने संकेत मिलेको छ। यस्ता व्यक्तिहरूमाथि बोर्डले गोप्य रूपमा निगरानी राखिरहेको र पर्याप्त प्रमाण जुटेपछि कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ।
यो अनुसन्धानसँगै साधारण लगानीकर्तामा बजार निष्पक्ष र पारदर्शी बन्ने आशा जागेको छ। "वर्षौंदेखि केही मानिसले मात्र मोटो रकम कमाइरहेका थिए, हामी साधारण लगानीकर्ताहरू भने सधैँ घाटामा," एक लगानीकर्ताले भने, "अब सबैलाई समान अवसर मिल्ने आशा गरेका छौं। बजारमा कसैको एकाधिकार हुनु हुँदैन।"
यस्तै, शेयर बजारमा लगानी गरिरहेका अर्का एक काराेबारीले भने, "बजार पारदर्शी हुनुपर्छ। कसैले आफ्नो जानकारी र प्रभावको दुरुपयोग गरेर मनपरी गर्नु हुँदैन। नियामकले अहिले जुन अनुसन्धान गरिरहेको छ, त्यो स्वागतयोग्य छ। तर यो निरन्तर हुनुपर्छ, एकपटकको नाटक हुनु हुँदैन।" बोर्डले आगामी दिनमा थप कडा निगरानी प्रणाली र स्वचालित अलर्ट सिस्टम ल्याउने योजना रहेको जनाएको छ। यो प्रणालीले असामान्य कारोबारलाई तुरुन्तै पहिचान गरी बोर्डलाई सचेत गराउने बताइएको छ। साथै, कारोबारीहरूको ट्र्याकिङ् प्रणाली थप प्रभावकारी बनाइने र कसले कसलाई कहिले शेयर बेचे वा किने भन्ने विवरण सजिलै पत्ता लगाउन सकिने व्यवस्था मिलाइने बोर्डको भनाइ छ।
सीआईबीले विस्तृत अनुसन्धान गर्दै संलग्न व्यक्तिहरूबाट बयान लिने, उनीहरूको बैंक खाता, शेयर कारोबार विवरण र अन्य आर्थिक गतिविधि संगाल्ने काम गर्नेछ। यदि आपराधिक गतिविधि पुष्टि भयो भने उनीहरूविरुद्ध मुद्दा दायर गरिनेछ। यसैबीच, बोर्डले आफ्नो भित्री छानबिन जारी राख्नेछ र अन्य संदिग्ध व्यक्तिहरूमाथि पनि कारबाही प्रक्रिया अगाडि बढाउनेछ।