काठमाडौं। नेपालको प्रतिष्ठित औद्योगिक घराना गोल्छा परिवारद्वारा प्रवर्द्धित हुलास वायर इन्डस्ट्रिजले एक वर्षमै ७ अर्ब ३७ करोड रुपैयाँ बढीको व्यापार गरेको छ। प्रतिष्ठित उद्योगी स्व.महेन्द्र गोल्छाद्वारा स्थापित हुलास वायरले सन् २०२५ मा ७ करोड ३७ लाख ५० करोड रुपैयाँ बढी (अपरिस्कृत) आम्दानी गरेको हो।
उक्त आम्दानी सन् २०२४ को तुलनामा १३ प्रतिशतले कम हो। सन् २०२४ मा हुलास वायर इन्डस्ट्रिजले ८ अर्ब ५१ करोड २० लाख रुपैयाँ बढीको व्यापार गरेको थियो। साथै, सन् २०२३ मा उद्योगले ६ अर्ब ५ करोड १० लाख, सन् २०२२ मा ३ अर्ब ८३ करोड ३० लाख र सन् २०२१ मा ४ अर्ब ८६ करोड ८० लाख रुपैयाँ बराबर आम्दानी गरेको थियो।
गत वर्षको तुलनामा आम्दानी घटे पनि उद्योगले कम नाफा हुने वस्तुको बिक्री घटाएर उच्च प्रतिफल दिने वस्तुमा केन्द्रित हुने रणनीति लिएका कारण नाफाको मार्जिन ६.९४ प्रतिशतबाट बढेर ९.१९ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०२४ मा खुद नोक्सानी बेहोरेको हुलास वायरले २०२५ मा २.१० प्रतिशतको खुद नाफा आर्जन गरेको छ।
यद्यपि, उद्योगको पुँजी संरचना अझै पनि अत्यधिक ऋणमा आधारित छ। सन् २०२५ मा गेयरिङ अनुपात २.०७ गुणा रहेको छ।
चालू पुँजीको सञ्चालन चक्र अपरेटिङ साइकल)२०२४ को १४१ दिनबाट बढेर २०२५ मा १८६ दिन पुगेको छ, जसले गर्दा तरलतामा चाप परेको छ।
सन् १९७९ मा मोरङको बाँसबरीमा स्थापना भएको हुलास वायरको पहिलो युनिटमा प्रतिवर्ष ५५ हजार मेट्रिक टन जीआई तार, ग्याबियन बक्स १४ हजार ४ सय मेट्रिक टन प्रतिवर्ष, एचबी तार २ हजार ३ सय ७४ मेट्रिक टन प्रतिवर्ष, रिब्ड तार ३३ सय मेट्रिक टन प्रतिवर्ष, काँडे तार ४ सय ५० मेट्रिक टन प्रतिवर्ष, काँटी १२ सय मेट्रिक टन प्रतिवर्ष, तामाको पाता २२ सय मेट्रिक टन प्रतिवर्ष उत्पादन क्षमता रहेको छ।
सुनसरीको खनारमा रहेको दोस्रो युनिटमा स्टील उत्पादन हुन्छ, जुन टीएमटी र न्यारो स्ट्रिप कोइल्स १७ हजार २८ सय मेट्रिक टन, एमएस बिलेट ८६ हजार ४ सय मेट्रिक टन र एमएम ब्ल्याक पाइप्स ३६ हजार मेट्रिक टन उत्पादन क्षमतामा सञ्चालित छ। यसले कच्चा पदार्थमा बाह्य निर्भरता घटाउन र लागत प्रभावकारिता बढाउन मद्दत पुर्याएको छ।
स्व.महेन्द्र गोल्छाले स्थापना गरेको हुलास वायरमा पारस गोल्छाको ३४ प्रतिशत र राजलक्ष्मी गोल्छाको १७ प्रतिशत एवं बाँकी गोल्छा परिवारकै अन्य सदस्यको सेयर स्वामित्व छ। गोल्छा परिवारद्वारा प्रवर्द्धित यो उद्योगको हाल नेतृत्व ९ वर्षभन्दा बढी अनुभव भएकी प्रबन्ध निर्देशक युक्ति गोल्छाले गरिरहेकी छिन्।
उद्योगले बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्सम रेटिङ गराएको छ। इन्फोमेरिक्सले नेपालले हुलास वायरलाई कुल ७ अर्ब २९ करोड २७ लाख ५० हजार रुपैयाँ बराबरको कर्जा सीमा निर्धारण गरेको छ।
यसमध्ये २ अर्ब ९३ करोड ८२ लाख ५० हजारको दीर्घकालीन कर्जालाई ‘डबल बी प्लस’ र ४ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ अल्पकालीन कर्जामा ‘एफोर प्लस’ रेटिङ दिइएको छ।
यी दुवै रेटिङले उद्योगमा कर्जा लगानी मध्यम स्तरमा सुरक्षित रहने संकेत गर्छ। कम्पनीले आफ्नो पुँजी संरचना बलियो बनाउन हालै ५ करोड १० लाख रुपैयाँ बराबरको थप इक्विटी लगानसमेत भित्र्याएकोे छ।