काठमाडौं। मोरङ उद्योग व्यापार संघ र आईडिया स्टुडियो नेपालको संयुक्त आयोजनामा विराट ट्रेड एक्सपो २०२५ अन्तर्गत विराट स्टार्टअप फेष्ट २०२५ औपचारिक रूपमा सुरु भएको छ। उक्त स्टार्टअप फेष्टमार्फत कोशी प्रदेशका नवप्रवर्तनशील सोच भएका उद्यमी तथा स्टार्टअप सञ्चालन गरिरहेका कम्पनीलाई एकदिने इन्क्युबेशन र व्यवसायिक आइडिया लगानीकर्तामाझ पिच गर्ने अवसर प्रदान गरिनेछ।
मोरङ उद्योग व्यापार संघका कार्यकारी निर्देशक भरत शर्माका अनुसार विराट ट्रेड एक्स्पो नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यापारिक एक्स्पोका रूपमा स्थापित हुँदै आएको छ। उनले यस वर्ष पहिलो पटक मोरङ उद्योग व्यापार संघले आईडिया स्टुडियो नेपालसँग सहकार्य गर्दै कोशी प्रदेशका स्टार्टअपलाई व्यवसायिक आईडिया पिचमार्फत लगानीकर्तासँग जोड्ने अवसर सिर्जना गरिएको जानकारी दिए।
उनका अनुसार, विराट स्टार्टअप फेष्ट २०२५ ले प्रदेशस्तरमै उद्यमशीलताको वातावरण निर्माण गर्दै नवप्रवर्तन र लगानीबीच सेतुको भूमिका खेल्ने अपेक्षा गरिएको छ। आईडिया स्टुडियो नेपालले मंसिर १५ गतेदेखि २५ गतेसम्म आईडिया कल सञ्चालन गरेको थियो। आईडिया स्टुडियो नेपालका व्यवसाय विकास निर्देशक अनिल बस्नेतका अनुसार हालसम्म ५० भन्दा बढी व्यवसायिक आईडिया प्राप्त भइसकेका छन् र बाँकी दुई दिनमा थप आइडिया प्राप्त हुने अपेक्षा गरिएको छ।
प्राप्त आईडियामध्येबाट छनोट गरिएका २५ उत्कृष्ट आइडियालाई पुस १३ गते एकदिने इन्क्युबेशन कार्यक्रम प्रदान गरिनेछ। त्यसपछि पुस १५ र १६ गते तीमध्ये १५ उत्कृष्ट व्यवसायिक आइडियाले लगानीकर्तासमक्ष पिच गर्ने अवसर पाउनेछन्।
पिचिङपछि छनोट हुने उत्कृष्ट ३ व्यवसायिक आईडियालाई आईडिया स्टुडियो नेपालको राष्ट्रिय आईडिया हन्ट सेसन–९ मा प्रत्यक्ष प्रवेश प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार, विराट स्टार्टअप फेष्ट २०२५ ले कोशी प्रदेशमा उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न, लगानी आकर्षित गर्न तथा स्थानीय स्टार्टअप इकोसिस्टमलाई मजबुत बनाउन महत्वपूर्ण योगदान गर्नेछ।