काठमाडौं। नेपालमा कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रका व्यवसायी, ब्रान्ड र सेवाप्रदायकलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यका साथ ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ।
नेपालमै पहिलो र एकमात्र वृहत ट्रेड शोका रूपमा परिचित कस्मेटिका २०२५ आगामी डिसेम्बर २६ देखि २८ सम्म (पुस ११, १२ र १३ गते) नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा सञ्चालन हुनेछ।
हाउस अफ राजकर्निकारद्वारा आयोजना हुन लागेको उक्त एक्स्पोलाई नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालले सहयोग गरेका छन्। कार्यक्रमको मिडिया पार्टनरका रूपमा वाव म्यागजिन, आईएसपी पार्टनर वेवसर्फ़र र प्रिन्ट पार्टनर सागर आर्ट सर्भिस रहेका छन्।
कस्मेटिका २०२५ ले सौन्दर्य तथा वेलनेस उद्योगसँग सम्बन्धित ब्रान्ड, उत्पादक, वितरक, आयातकर्ता, आपूर्तिकर्ता तथा व्यवसायीलाई एउटै छानामुनि ल्याउने लक्ष्य राखेको आयोजकको भनाइ छ। बी–टु–बी र बी–टु–सी दुवै वर्गलाई लक्षित गरिएको यस एक्स्पोमार्फत कस्मेटिक्स उद्योगका नयाँ उत्पादन, सेवा, प्रविधि र ट्रेन्ड सार्वजनिक गरिनेछ।
एक्स्पोमा स्वदेशी तथा विदेशी कस्मेटिक ब्रान्ड, स्किनकेयर र हेयरकेयर कम्पनी, पर्सनल केयर तथा वेलनेस ब्रान्ड, प्याकेजिङ कम्पनी, कस्मेटिक प्रविधिसँग सम्बन्धित निकाय, ब्यूटी स्कूल, प्लास्टिक सर्जरी क्लिनिक, हेयर केयर तथा हेयर इम्प्लान्ट क्लिनिक, डेन्टल केयर तथा कस्मेटिक क्लिनिकहरूको सहभागिता रहने आयाेजकले जनाएकाे छ।