काठमाडौं। नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले स्थापनाको १७औं वार्षिकोत्सव मनाएको छ।
राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाको नेतृत्वमा २०६५ पुस ८ मा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणाली स्थापना गर्न सञ्चालनमा आएको एनसीएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ डिजिटाइज गर्न २०६८ मा एनसीएचएल–इसीसी सुरु गरेको थियो। त्यसपछि राष्ट्र बैंकको रणनीतिअनुसार आधुनिक डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको हो।
हाल कम्पनीले कनेक्ट आईपीएसदेखि ईएफटी कार्ड स्वीचसम्मका प्रडक्ट सञ्चालन कार्यान्वयन गरिरहेको छ।
कार्यक्रममा एनसीएचएलका पूर्वअध्यक्षद्वय अनिलकेशरी शाह र अशोकशमशेर जबरालाई संस्था स्थापनामा पुर्याएको योगदान तथा मार्गनिर्देशनलाई मूल्यांकन गर्दै राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले विशेष सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा एनसीएचएलले विभिन्न इनोभेटिभ डिजिटल प्रडक्ट तथा सोलुसनको अनावरण गरेको छ। एनसीएचएलले वार्षिकोत्सव अवसरमा १३ वटा विधामा बैंक वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक, सरकारी निकाय तथा गैरबैंक संस्थालाई विभिन्न विधाअन्तर्गत एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सनबाट सम्मानित गरेको छ।
राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको इजाजतप्राप्त संस्था एनसीएचएलमा ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा र १०० भन्दा बढी गैर–बैंक संस्था प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका छन्।
कम्पनीको प्रणालीबाट गत आर्थिक वर्ष १८६ खर्बभन्दा बढीको २१ करोड १२ लाख भुक्तानी कारोबार फछ्र्र्योट भएको छ। भुक्तानी कारोबार संख्याको आधारमा सो संख्या ६७ प्रतिशतले र कारोबार रकमको आधारमा १९ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।
कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र, कार्यकारी निर्देशक, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, अर्थ मन्त्रालयलगायतका पदाधिकारी सहभागी थिए।