काठमाडौं। उद्योग विभागले नयाँ कम्पनीका लागि ट्रेडमार्क दर्ता प्रक्रिया अगाडि नबढाउने भएको छ। विभागले पुराना ट्रेडमार्कमा आधार दर्ताका लागि आएका निवेदनलाई दर्ता नगर्ने भएको हो।
विभागमा पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ तथा प्रचलित कानुनबमोजिम ट्रेडमार्क दर्ताका लागि आवेदन गर्दा ट्रेडमार्क निर्देशिका, २०७२ को अनुसूची ५ बमोजिम तपसिलका विषयलाई मध्यनजर गरी आफ्नो मौलिक सिर्जनामा आधारित भएर आवेदन गर्न एक सूचनामार्फत जानकारी दिएको छ।
विभागमा प्राप्त हुन आएका आवेदनमा उक्त विषय रहेको पाइएमा ट्रेडमार्क दर्ता प्रक्रिया अगाडि बढाउन नसकिने जनाएको छ। विभागले ट्रेडमार्क दर्ता कार्य अगाडि बढाए विभिन्न विषयमा धक्का पर्ने भन्दै दर्ता प्रक्रिया रोक्का गरेको हो।
विभागका महानिर्देशक जितेन्द्र बस्नेतद्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा धक्का पर्ने, सर्वसाधारण जनताको सदाचार वा नैतिकता वा धार्मिक, सामाजिक वा साँस्कृतिक मर्यादा वा राष्ट्रिय हितमा नराम्रो असर पर्ने, अरु कसैको ट्रेडमार्कको ख्यातिमा धक्का पर्ने र अरु कसैको नाममा दर्ता भएसकेको वा दर्ता प्रक्रियामा रहेको ट्रेडमार्कसँग भ्रम पर्न सक्ने छ।’
यसैगरी, कुनै राष्ट्र वा अन्तर्राष्ट्रिय सङ्गठनको झण्डा, प्रतिक चिन्ह नाम वा संक्षिप्त रुप, सरकारी निकायको नाम तथा छाप एवं लोगोसँग मिल्दोजुल्दो भएको, औषधिमा विश्व स्वास्थ्य संगठनको जेनेरिक सूचीमा परेको, ओलम्पिक चिन्हसँग मिल्दोजुल्दो भएको र सुपरिचित ट्रेडमार्कसँग मिल्दो जुल्दो हुनेछ।
यस्तै, सार्वजनिक निकायको नाम वा सार्वजनिक पदनामसँग मिल्दोजुल्दो भएको, छिमेकी राष्ट्र वा मित्र राष्ट्र वा अन्तर्राष्ट्रिय संगठनसँगको सम्बन्धमा प्रतिकूल असर पर्ने, पहिला दर्ता कायम रहेको ट्रेडमार्क अघि वा पछि सर्ग, उपसर्ग जोडिएको, भौगोलिक नामसँग मिल्दोजुल्दो वा भौगोलिक स्रोतको गलत संकेत दिने, राष्ट्रिय जनगणनाको पछिल्लो प्रतिवेदनमा उल्लिखित जातजाति जनाउने शब्द भएको, सम्बन्धित वस्तु तथा सेवाकै वर्णनात्मक शब्द भएको र प्रचलित कानुनले निषेध गरेको चिन्ह, शब्द वा लोगो भएकोमा दर्ता गर्ने नमिल्ने विभागका महानिर्देशक बस्नेतद्वारा हस्ताक्षर विज्ञप्तीमा उल्लेख गरिएको छ।