काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँगै बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी तयारी सुरु गरेको छ।
जसका लागि प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने समय सीमा नजिकिँदै गरेको छ। यसै क्रममा दलहरूले आगामी निर्वाचनका लागि सहकार्य गर्ने गरी छलफल अगाडि बढाइरहेका छन्।
सहकारी ठगीको मुद्दामा लामो समय नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गत शुक्रबार धरौटीमा रिहा भएसँगै राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। सोही क्रममा आगामी निर्वाचनपछि प्रधानमन्त्री विषयलाई लिएर लामिछानेले गत सोमबार राति काठमाडौंका मेयर बालेन शाहसँग छलफल गरेका थिए।
बालेन-रवि कमलपोखरीस्थित एक घरमा लामो छलफल गरी आगामी निर्वाचनमा सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको थियो। तर, चितवनमा आफ्ना मतदातालाई सम्बोधन गर्न पुगेका रविले बालेनलाई आफूले प्रधानमन्त्री वा पार्टीको नेतृत्व दिन नसक्ने बताएसँगै उनीहरूबीच आज पुन: छलफल भएको हो।
स्रोतका अनुसार लामिछानेले तत्काल आफ्नो पार्टी र चुनाव चिह्नमा मेयर बालेनसँग सहकार्य गर्न नसक्ने बताए। उनले बालेनसँग पार्टीमा छलफल गरी आगामी बैठकमा निर्णय गर्ने बताए।
जेनजीको नजरमा परेका यी तीनै नेताहरूबीच हुने भनिएको यस वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
पार्टी एकताको दबाबका बीच बिहीबार बालेनसँगको भेटपछि पत्रकारहरूले ‘लौरो टेक्ने कि घण्टी बजाउने?’ भन्ने प्रश्नमा उनले भने, ‘बाँकी समयले बताउला, वार्ता राम्रो भयो।’
यस्तै, वैकल्पिक राजनीतिक शक्तिको बलियो मोर्चा बनाउन लागिपरेका बालेनले लामिछानेसँगै ऊर्जा मन्त्री कुलमान घिसिङलाई पनि जोड्ने गरी छलफल अगाडि बढाएका छन्। आजै बिहान पहिलो चरणमा घिसिङसँग वार्ता गरेका बालेनले ‘न्युट्रल भेन्यु’ प्रस्ताव पेस गर्नेबारे दोस्रो चरणमा आज साँझ पुनः त्रिपक्षीय वार्ता आह्वान गरेका छन्।
जेनजीको नजरमा परेका यी तीनै नेताहरूबीच हुने भनिएको यस वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ। दोस्रो चरणको बैठकमा उनीहरूबीच आगामी निर्वाचनमा साझा उम्मेदवार तय गर्ने वा नयाँ शक्तिको कार्यगत एकता गर्ने भन्ने विषयमा छलफल जारी छ।
यद्यपि, भावी प्रधानमन्त्रीका रुपमा जेनजीहरूले हेरेसँगै उनीहरूबीच गहन छलफल भएको हो। सहकारी ठगीमा करिब तीन करोड धरौटीमा रिहा भएका लामिछानेलाई अदालतले तत्कालका लागि कुनै पनि सरकारी पदमा बस्न नपाउने गरी आदेश दिएको छ। तर, उनी आफूलाई भावी प्रधानमन्त्रीका लागि दौडधुपमा छन्। उनीबाहेक मेयर बालेन र कुलमानको पनि आ-आफ्नै दाबी छ।
बाबुरामको शंकास्पद ‘इन्ट्री’
जेनजी आन्दोलनलाई साथ दिँदै आएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बालेनले भेट्न बोलाएपछि थप राजनीतिक तरंग पैदा भएको छ। भारत भ्रमणपछि फर्किएका उनको 'इन्ट्री'ले नयाँ शक्ति निर्माणमा थप नयाँ मोड लिएको छ।
स्रोत अनुसार उनले बालेनको नयाँ शक्ति निर्माणलाई साथ दिने भएका छन्। बालेनसँग भेट गरी बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले १० वर्षदेखि आफूले नयाँ शक्ति मिल्नुपर्ने बताउँदै आएको बताए।
उनले भने, ‘मेरो १० वर्षदेखिको सपना हो। नयाँ र वैकल्पिक मिल्नुपर्छ। यसै विषयमा परामर्श गर्न बालेन जीले बोलाउनुभएको थियो। म यहाँ आएको हुँ। विचार र एजेन्डामा सबै मिल्नुपर्छ। सबै एक भएर जानुपर्छ।’
यसैबीच बालेनले आफ्नो ‘क्याम्प’मा पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई ल्याएर थप छलफल अगाडि बढाएका हुन्।
उनीहरूबाहेक बालेनसँग भेट गर्न नेपाली कांग्रेस नेता डा. सुनिल शर्मा, पूर्वसांसद डा. अमेरश कुमार सिंह, जेनजी अगुवा रक्षा बम र सुदन गुरङ, रास्वपा नेता शिशिर खनालसहित नेताहरू पुगेका थिए।
चुनावअघि प्रधानमन्त्रीको पदमा नजर
सोमबार बालेन र लामिछानेबीच भएको वार्तामा दुई पक्षबीच आपस सम्झौता गरी चुनावमा जाने छलफल गरिएको थियो। जसमा पार्टीको नेतृत्व एक र सरकारको नेतृत्वको अर्काले गर्ने छलफल भएको बताइएकाे छ।
चितवन पुगेका लामिछानेले बैठकको रहस्य खुलाएसँगै शक्ति बाँडफाँटमा कुरा नमिलेपछि रास्वपासँग संवाद जारी राख्ने तर आफ्नै पार्टीलाई अगाडि बढाउने गरी बालेनले तयारी थालेका हुन्।
बुधबार राति नै बालेनले आफ्ना सहयोगीसहित निकटस्थसँग ९ घण्टा छलफल गरेका थिए। सोही छलफलपछि उनले आज विभिन्न दलका नेताहरूसहित नयाँ शक्तिसँग छलफललाई तीव्र बनाएका हुन्।
मूलतः चुनावअघि बालेन, रवि र कुलमान मिलेर जाने गरी छलफल भए पनि चुनावपछिको सरकारमा प्रधानमन्त्री विषय टुंगो लाग्न नसक्दा छलफलले तीव्रता पाएको छ। यसैबीच बालेनले आफ्नो ‘क्याम्प’मा पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई ल्याएर थप छलफल अगाडि बढाएका हुन्।