काठमाडौं। लामो रस्साकस्सी भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयरबीच सात बुँदे सम्झौता भएसँगै सेयर बजारमा उछाल आएको छ।
सहकारी ठगीमा लामो समय नख्खु जेलमा रहेका रास्वपा सभापति रवि लामिछाने धरौटीमा छुटेसँगै गत सोमबार रवि र मेयर बालेन्द्र शाह (बालेन)बीच ६ घण्टा लामो छलफल भएको थियो।
उक्त भेट भएको केही दिनपछि बालेनले आफ्ना सहयोगी कुमार बेनको घरमा १२ घण्टा लामो भेटघाट गरेका थिए। जसमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि रविसम्म थिए।
यसबीच आफ्नै पार्टीलाई अगाडि बढाउने तयारीबीच आइतबार बिहान रवि र बालेनले सात बुँदे सहमति गरेका थिए। जसमा आगामी निर्वाचनपछि बन्ने नयाँ सरकारमा बालेन प्रधानमन्त्री बन्ने र पार्टी सभापति रवि हुनेदेखि विभिन्न बुँदाहरू रहेका छन्।
रास्वपाले आगामी प्रधानमन्त्रीका रुपमा बालेनलाई अगाडि सारेसँगै यसको प्रभाव सेयर बजारमा देखिएको हो। दुई नेताबीच सात बुँदे सहमति भएपछि आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको हो।
आज सेयर बजार परिसूचक ४७ अंकले बढेको हो। राजनीतिमा नयाँ कोर्स बढेसँगै लगानीकर्ता उत्साहित भएका हुन्। योसँगै सेयर बजार परिसूचक २६३३ अंकको विन्दुमा पुगेको छ।
जसमा आज मिड सोलु हाइड्रोपावर लिमिटेड कम्पनीको मूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ। यस्तै, जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब ७ प्रतिशतले बढेको छ। यसको विपरीत विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेको मूल्यमा नकारात्मक सर्किट लागेको छ।
आज २३८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा जम्मा २१ कम्पनीको मूल्य गिरावट आएको छ। कारोबारका आधारमा आज युनिय हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यो कम्पनीले आज झण्डै २५ करोड बराबरको सेयर कारोबार गरेको छ।
कारोबार रकमको आधारमा आज पाँच अर्ब ५३ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ।