काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विगत १८ महिनादेखि सौर्य एयरलाइन्सको उडान अनुमति (एओसी) नवीकरण नगरिदिँदा तीन वटा एटीआर जहाज खरिद प्रक्रिया रोकिएको छ।
विं.सं. २०८१ चैतमा टेष्ट फ्लाइटसमेत सम्पन्न गरिसकेको सौर्यले आवश्यक प्रक्रिया पूरा गरे पनि प्राधिकरणले एओसी नवीकरण नगरिदिँदा समस्यामा परेको बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए।
जहाज खरिद प्रक्रिया अगाडि बढाउन एओसी नवीकरण अनिवार्य रहने हुन्छ। तर, सौर्यले सबै प्रक्रिया पूरा गरेर प्राधिकरणमा आवश्यक कागजात पेश गरिसक्दासमेत नवीकरण नगरिदिँदा नियमित उडानमा जान नपाएको मात्र हैन, नयाँ जहाज खरिद प्रक्रियासमेत अगाडि बढाउन समस्या भइरहेको उनले बताए।
सौर्यले हाल रहेको सीआरजे जहाज छाडेर व्यवसायिक उडानका लागि तीन वटा एटीआर खरिद गर्ने योजनासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवश्यक कागजात पेश गरिसकेको छ। जहाज खरिदका लागि मन्त्रालयले अनुमति दिनु पर्छ। तर, प्राधिकरणले एओसी नवीकरण नगरिदिँदा जहाज खरिद प्रक्रिया अगाडि बढाउन समस्या भएको बजार व्यवस्थापक खनालले जानकारी दिए।
‘प्राधिकरणले मागेको सबै डकुमेन्ट बुझाइसकेका छौँ,’ बजार व्यवस्थापक खनालले भने, ‘कम्पनीमा आवश्यक सबै दरबन्दीसमेत भरिसकेको छ। अब अनुमति आउने बित्तिकै नियमित उडानमा फर्किन्छौँ।’ सौर्यसँग हाल दुई वटा जहाज छ। तीमध्ये एउटा जहाजमार्फत उडानको तयारी भएको बजार प्रमुख खनालले बताए।
०८१ साउन ९ गते पोखरा उडानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेपछि प्राधिकरणले अनिश्चित कालका लागि सौर्य एयरलाइन्सलाई उडानमा रोक लगाएको थियो। उच्च व्यवस्थापन रिक्त भएपछि प्राधिकरणले अनिश्चित कालका लागि सौर्यको एओसी निलम्बन गरेको थियो।
दुर्घटनापछि गरिएको उडान सुरक्षा अडिट तथा विभिन्न तालिमहरु, दस्तावेज सुधार र डिजिटल विधिलगायतका विषयमा प्राधिकरणसँग निरन्तर समन्वय गर्दै आवश्यक सुधार सम्पन्न भएको जनाएको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले एओसी नवीकरणको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए।
सौर्य एयरलाइन्सले नियामक निकायको मापदण्डअनुसार फ्लाइट सेफ्टी अडिट (एसएमएस)मा ६० प्रतिशतभन्दा बढी अंक प्राप्त गरिसकेकाले पुनः उडानका लागि आवश्यक प्रक्रियासहित निवेदन दिइसकेको जानकारी उनले दिए।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले एओसी नवीकरणको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए। ‘एसएमएस अडिट भइरहेकाले पहिला एओसी नवीकरण रोकिएको थियो। अहिले नम्बर पनि राम्रो आइसकेको छ। अब नियम अनुुसार अगाडि बढ्छ,’ सूचना अधिकारी भुलले भने, ‘एओसी नवीकरणपछि अर्को प्रकृतिको जहाजमा सिफ्ट हुने प्रक्रिया अगाडि बढ्छ।’
पहिलो चरणमा चार्टर्डको मात्र अनुमति दिए हुन्छ
पहिलो चरणमा एउटा मात्र जहाजमार्फत उडान गर्ने भएकाले नियमित उडानका लागि अनुमति नदिए पनि चार्टर्डका लागि मात्र उडान अनुमति दिन अनुरोध गरेका छन्। कम्पनीमा भारतीय लगानीकर्ता कुँवेर ग्रुपको समेत लगानी रहेको छ।
विदेशी लगानी रहेको सौर्यलाई १८ महिनादेखि एओसी नवीकरणमा रोकिँदा नकरात्मक सन्देश गइरहेको बताउँदै नियमित नदिएर चार्टर्डका लागि दिए हुने बजार व्यवस्थापक खनालको भनाइ छ। यदि, चार्टर्डको अनुमति पाए सौर्यले नेपालगञ्जबाट मानसरोवर क्षेत्रमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ।