काठमाडाैं। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सत्ता र ज्यान जोगाएर भाग्नुपरेको पीडा बिर्सिएर कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेता पुस १२ मा ताल्चा खुलेपछि बालुवाटार प्रवेश गरे। भदौ २७ मा अन्तरिम सरकार प्रमुखको शपथ लिएकी प्रधानमन्त्री सुशीला कार्कीको निम्तोमा बालुवाटार पुगेका तीन शीर्ष नेता क्रमशः कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीचको वार्तापछि पुसको चिसोमा पनि चुनावी तातो बढेको छ।
शीर्षत्रय बूढा नेताले प्रधानमन्त्री कार्कीलाई आगामी चुनावमा सघाउने वचन दिएलगत्तै राजनीतिले कोल्टे फेरेको विश्लेषण गरिँदै छ। निर्वाचन आयोगले पुस १४ सम्म समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिन तोकेको हुँदा राजनीति एकाएक सगरमाथा चढेको छ। नमिल्नेहरू मिलेका छन्, फुटेकाहरू जुटेका छन्।
बालुवाटार छलफलमा तीनै जना शीर्ष नेता आगामी फागुन २१ मा चुनावमा जान तयार भएको तर सुरक्षा व्यवस्था चुस्त पार्न सुझाएका थिए। बालुवाटारमा चुनावी सुलह भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) प्रधानमन्त्रीको ललिपमा एकै ठाउँ हुने सहमति भएको छ।
बालेन रास्वपा भित्रिएपछि उज्यालो नेपाल पार्टी (उनेपा) खोलेका हालका ऊर्जामन्त्री कुलमान घिसिङ पनि उपसभापति पद पाउने सर्तसहित रवि क्याम्पमा हाम फालेका छन्। रास्वपामा घिसिङ विलय हुँदा र बालेन मिसिँदा रविको कद झनै अग्लो भएको छ भने फागुन २१ ले तीन पुराना दल कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई चुनौती थपिदिएको छ।
बालुवाटारमा चुनावी सुलह भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) प्रधानमन्त्रीको ललिपमा एकै ठाउँ हुने सहमति भएको छ।
बालेन र घिसिङकाे रास्वपा प्रवेशसँगै सुशासन दिन नसकेर आलोचनामा पर्दै आएका देउवा, ओली र दाहालसामु चुनौती थपिएको छ। रविसँग दायाँबायाँ ओत दिने गरी बालेन र घिसिङ खडा हुनासाथ त्यसको प्रतिरोध गर्न देउवा अर्थात् कांग्रेस नेतृत्वमा ओली र दाहालसहितको गठबन्धन बन्ने निश्चित छ। देउवा नेतृत्वको गठबन्धन बने राजनीति झनै तरंगित हुनेछ। नेपालको राजनीति गठबन्धन संस्कृतिले झाँगिने करिब निश्चित छ किनभने मंगलबार बिहानसम्म उपेन्द्र यादवको जसपा नेपाल, महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी, अशोक राई नेतृत्वको जसपाबाट ठूलो संख्यामा विलय भइसकेको छ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पनि एकताको घोषणा भएको छ। नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ समूह पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। यसरी बालेन र घिसिङ रवितिर सल्किएपछि आगामी चुनावलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्। यद्यपि रास्वपामा घिसिङ र बालेन प्रवेश गर्नुलाई मुख्य दल कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीले सामान्य भनेका छन्।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जनाधार नभएका पार्टीमा जुनसुकै नाम चलेका व्यक्ति प्रवेश गरे पनि चुनावमा पार्टीप्रति प्रतिबद्धले अर्को दल वा व्यक्तिलाई भोट नहाल्ने उनको दाबी छ। उनले भने, ‘रास्वपामा रवि र बालेन प्रवेश गर्दैमा कांग्रेस वा एमाले वा नेपाली कम्युनिस्ट पार्टीलाई कुनै क्षति हुँदैन। तीन वटै पार्टीका जनाधार बेग्लै छन्। सहरी क्षेत्रमा केही असर परे पनि ग्रामीण क्षेत्रमा त्यस्तो केही हुँदैन।’ बालेन र घिसिङ दागरहित नभएकाले चुनावमा जनताले मूल्यांकन गर्ने उनको भनाइ छ। महतले शासन चलाउन स्पष्ट नीति, सिद्धान्त र अनुभव पनि चाहिने बताए। हावादारी कुरा गरेर राजनीतिमा टिक्न नसकिने धारणा उनले व्यक्त गरे।
यस्तै, एमाले महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई उपसभापति बनाएको कटाक्ष गरेका छन्। सोमबार रातीको सहमतिले गठबन्धन गर्न अरु दललाई उक्साएको उनको दाबी छ। ‘मूलधारका पार्टी विरोधी अभियान चलाउने तीन वटै एउटै डुंगा बसे पनि त्यो पार लाग्दैन। चुनावमा एकाध ठाउँमा काम लागे पनि अन्यत्र त्यस्तो हुँदैन’, पोखरेलले भने। एमाले सचिव महेश बस्नेतले नगरपालिका चलाउन नसक्ने पात्रले देश चलाउँछ भन्ने भ्रम पाल्न नहुने प्रतिक्रिया दिएका छन्।
रवि–बालेन–घिसिङ गठबन्धनपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले काण्डैकाण्डमा मुछिएका रवि, अँध्यारो कोठामा बसेर काम गर्ने बालेन र प्राधिकरणमा रहँदा भ्रष्टाचारमा चुर्लुम्ब डुबेका घिसिङबीचको मेलले रास्वपाको छवि तीव्र गतिमा घट्ने दाबी गरेका छन्।
रवि–बालेन–घिसिङ गठबन्धनपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले काण्डैकाण्डमा मुछिएका रवि, अँध्यारो कोठामा बसेर काम गर्ने बालेन र प्राधिकरणमा रहँदा भ्रष्टाचारमा चुर्लुम्ब डुबेका घिसिङबीचको मेलले रास्वपाको छवि तीव्र गतिमा घट्ने दाबी गरेका छन्। ‘बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रविजस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने देखिन्छ,’ बस्नेतले लेखेका छन्, ‘काम गर्ने कालु, मकै खाने भालु भनेजस्तै रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्याङ चढ्नेबाहेक स्पष्ट दिशा र भिजनमा आधारित नहुँदा जनतासँगको दूरी झन् बढ्दै जाने र जनमत कमजोर हुँदै जाने निश्चितै छ।’
ठूला राजनीतिक दलले रास्वपामा बालेन र घिसिङ प्रवेशलाई सामान्य रुपमा लिए पनि चुनावमा भने दुवै जनाको क्रेडिट रवितिर सोझिन सक्छ। तीनै पार्टीको शीर्ष नेतृत्वले सत्ता र पदमा टाँसिइरहने घोषणा गरेपछि जेनजी मर्मअनुसार नभएको भन्दै रास्वपाले चुनावी नारा बनाउन सक्छ, जसको प्रत्यक्ष लाभ रविले नै लिनेछन्। अझ रास्वपा सभापति लामिछाने सहकारी प्रकरणमा धरौटीमा रिहा हुनासाथ जेनजीले पनि सबै मिलेर पुरानालाई धक्का दिनुपर्ने आवाज उठाइरहेका छन्।
यस्तो बेला एमाले नवनिर्वाचित अध्यक्ष केपी ओलीले पुसभित्रै महाराजगञ्ज निवास पुगेर भेटेका छन्। स्रोतका अनुसार उनले आगामी चुनावमा सँगै जानुपर्ने धारणा व्यक्त गरेको बताइन्छ। यसबारे देउवा केही नबोले पनि दाहाललाई सँगै लगेर रवि, बालेन र घिसिङलाई काउन्टर दिनुपर्ने सोचाइमा रहेको बुझिएको छ।
रास्वपामा पार्टी नेतृत्व संरचनामा केन्द्रीय सभापति लामिछाने र उपसभापति घिसिङ रहनेछन्। यस्तै अन्य उपसभापतिमा डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख छ। प्रधानमन्त्री भने बालेन हुनेछन्। सहमतिमा एकतापछि साविक रास्वपाकै नाम र चुनाव चिन्ह रहने उल्लेख छ। यस्तै रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घन्टी’अन्तर्गत लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई आह्वान गर्ने पनि सहमतिपत्रअनुसार उल्लेख छ।
रवि, बालेन र घिसिङको गठबन्धनपछि दलमा पकड जमाउँदै आएका देउवा, ओली र दाहाललाई मुस्किल पर्ने निश्चित छ।
सहमतिपत्रअनुसार दुवै पार्टीले नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध रहँदै सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र समतामूलक शासन स्थापित गर्न आवश्यक भएको स्वीकार गर्दै नयाँ राजनीतिक शक्ति निर्माणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
भदौ २३ र २४ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनका सहिद एवं घाइतेको बलिदानलाई प्रेरणास्रोतको रूपमा लिइएको छ। नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको मर्म आत्मसात् गर्दै घाइते तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने पनि प्रतिबद्धता जनाइएको छ ।
अब कुलमानले पनि रविको विगत बोक्दै रास्वपामा मिसिएर उपसभापतिको पद खाने पक्का भएको छ। सहमतिपछि सामाजिक सञ्जालमा लेख्दै बालेनले भनेका छन्, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु।’
रवि, बालेन र घिसिङको गठबन्धनपछि दलमा पकड जमाउँदै आएका देउवा, ओली र दाहाललाई मुस्किल पर्ने निश्चित छ। गठबन्धन रविको मात्र बनेको छैन, तराई मधेसमा सक्रिय राजनीतिक दल, राजावादी समर्थक समूह पनि एकाकार भएका छन्। यसले गर्दा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीले फेरि पनि गठबन्धनकै भर पर्नुपर्ने अवस्था आइलागेको संकेत देखिँदै छन्। रविको घन्टी बज्न नदिन रुख, सूर्य र ताराले छेकबार लगाउने निश्चित छ।