काठमाडौं। बिहानको सात बजे। काठमाडौंको चक्रपथमा रेफ्रिजरेटेड भ्यानमा ताजा दूध र मासु बोकेर आएका सवारीहरू रोकिएका छन्। ट्राफिक प्रहरीको इशारामा ती सवारी चक्रपथबाहिर फर्किनुपर्ने बाध्यता छ। कारण? टाइमकार्ड। बिहान साढे सात बजेदेखि आठ बजेभित्र ठूला मालवाहक सवारी चक्रपथबाट बाहिरिसक्नुपर्ने कडा नियम।
सवारीभित्र चिसो कायम राख्न रेफ्रिजरेसन चलिरहेको छ। सवारी दिउँसो एघार बजेसम्म चक्रपथभित्र प्रवेश गर्न नपाउने प्रमुख समस्या हाे। त्यसको अर्थ – ताजा दूध र मासु चार घण्टासम्म सडकमा वा बाहिरी क्षेत्रमा पर्खनुपर्ने हुन्छ। यति मात्र होइन, बेलुका ४ बजेदेखि ६ बजेसम्म फेरि रोक। त्यसपछि ८ बजेपछि मात्र प्रवेश।
काठमाडौं उपत्यकाको ट्राफिक जाम व्यवस्थापन गर्न लागू गरिएको यो 'टाइमकार्ड' प्रणालीले खाद्यन्न गुणस्तरमा गम्भीर प्रश्न खडा गरेको छ। विशेष गरी तापक्रम नियन्त्रण गरेर ढुवानी गर्नुपर्ने दूध, मासु र तरकारी जस्ता संवेदनशील खाद्य सामग्रीको गुणस्तर कायम राख्न यो प्रणाली ठूलो बाधक बनेको व्यवसायी र विशेषज्ञहरू बताउँछन्।
रेफ्रिजरेटर नै किन पुग्दैन?
तपाईंले सोच्न सक्नुहुन्छ – रेफ्रिजरेटेड भ्यान छ भने तापक्रम त नियन्त्रणमा हुन्छ नि? तर वास्तविकता फरक छ। भ्याली फूड्सका सक्षम घिमिरे यसको व्यावहारिक पक्ष बुझाउँछन्। "रेफ्रिजरेटेड भ्यानले सामान ढुवानी गर्दा तापक्रम नियन्त्रण गर्छ, यो सत्य हो। तर सामान गन्तव्यमा पुग्नुपर्छ, होटल वा रेस्टुरेन्टको फ्रिजमा जानुपर्छ। टाइमकार्डले यही प्रक्रियामा बाधा पुर्याइरहेको छ।"
उनी थप्छन्, "होटल र रेस्टुरेन्टमा सामान रिसिभिङको मुख्य समय बिहान ९ बजेदेखि ११ बजेसम्म हुन्छ। किनभने त्यसपछि खाना पकाउने तयारी सुरु हुन्छ, दिउँसोको मेनु तयार हुन्छ। तर ठीक त्यही समयमा हाम्रा कार्गो गाडीहरूलाई प्रवेश निषेध गरिएको छ।" "एकातिर हाम्रा कर्मचारी र गाडीहरू खाली बस्नुपर्छ, अर्कोतिर ताजा सामान होटलमा पुग्न ढिलाइ हुन्छ। त्यसबीचमा तापक्रम नियन्त्रण कमजोर हुन्छ र गुणस्तरमा सम्झौता गर्नुपर्ने बाध्यता छ।"
खाद्य विज्ञानको एउटा सरल तर महत्त्वपूर्ण सिद्धान्त छ – तापक्रम बढ्दै जाँदा ब्याक्टेरिया द्रुत गतिमा वृद्धि हुन्छ। अन्तर्राष्ट्रिय श्रम संगठन र विश्व स्वास्थ्य संगठनले यसैलाई आधार मानेर मापदण्ड बनाएका छन्। फ्रोजन सामग्रीहरूलाई १८ देखि २४ डिग्री सेल्सियससम्मको तापक्रममा राख्नुपर्छ। ताजा दूध र मासुलाई चार डिग्री सेल्सियसमा राख्नुपर्छ।
तर यो तापक्रम बढ्यो भने के हुन्छ? चार डिग्रीभन्दा माथि गएपछि ब्याक्टेरिया वृद्धि सुरु हुन्छ। १० डिग्रीमा पुग्दा खतरनाक ब्याक्टेरिया द्रुत गतिमा बढ्न थाल्छन्। २० डिग्री वा त्यसभन्दा माथि गएपछि फूड प्वाइजनिङको गम्भीर जोखिम हुन्छ। काठमाडौंमा गर्मीको मौसममा तापक्रम ३५ डिग्रीसम्म पुग्छ। यस्तो तापक्रममा रेफ्रिजरेसन नभएको ठाउँमा राखिएको दूध दुई घण्टामा फाट्न थाल्छ, मासुमा तीन घण्टामा गन्ध आउन थाल्छ।
घिमिरे यो वैज्ञानिक तथ्यलाई व्यावहारिक अनुभवसँग जोड्छन्। "जाडो महिनामा भन्दा गर्मी महिनामा समस्या धेरै बढ्छ। ब्याक्टेरियल लोड द्रुत गतिमा बढ्छ र सामान कुहिने जोखिम उच्च हुन्छ। घन्टौंसम्म सडकमा रोकिएको दूध र मासु पूर्ण रूपमा बिग्रेको हामीले देखेका छौं।"
होटलको संवेदनशील समयतालिका
होटल शेफ गोविन्द नरसिंह केसी आफ्नो किचनको प्रोडक्सन सेडुल देखाउँछन्। "हेर्नुहोस्, बिहान ६ बजे किचन सफा गर्ने। साढे ६ बजे इन्भेन्टरी चेक गर्ने। ७ बजे आजको मेनु फाइनल गर्ने। ८ बजे सामान अर्डर गर्ने। ९ बजे सामान आउनुपर्ने। साढे ९ बजे सामानको गुणस्तर जाँच र भण्डारण। १० बजेदेखि खाना पकाउने तयारी।" "यो समयतालिकामा एक घण्टाको ढिलाइले पनि पूरै दिनको अपरेसन गडबड हुन्छ। तर टाइमकार्डका कारण सामान ९ बजे आउँदैन। ११ बजेपछि मात्र आउँछ। त्यसबेलासम्म हामी के गर्ने? पाहुनालाई भोकै बसाल्ने?" उनी भन्छन्।
नेपालमा अहिले पाँचतारे होटलको संख्या बढेर २० देखि २५ पुगिसकेको छ। यी होटलहरूमा प्रतिदिन सयौं विदेशी पर्यटक आउँछन्। उनीहरूले अन्तर्राष्ट्रिय मापदण्डको खाना खुवाउनुपर्छ केसी भन्छन्, "विदेशी पाहुना अचानक बढ्यो भने तुरुन्त थप खाद्यान्न चाहिन्छ। तर टाइमकार्डले गर्दा हामी आवश्यक सामग्री समयमा ल्याउन सक्दैनौं। यसले होटलको प्रतिष्ठामा नै आँच पुग्छ।"
खाद्य व्यवस्थापनमा एउटा शब्द धेरै प्रयोग हुन्छ – कोल्ड चेन। यसको अर्थ हो उत्पादनदेखि उपभोगसम्म निश्चित तापक्रम कायम राख्ने निरन्तर प्रक्रिया। दूध उत्पादन गर्ने गाईवस्तु फार्ममा तापक्रम नियन्त्रण, त्यसलाई रेफ्रिजरेटेड भ्यानमा राख्ने, ढुवानी गर्ने, होटल पुर्याउने र त्यहाँको फ्रिजमा राख्ने – यो पूरै प्रक्रियामा तापक्रम एकै हुनुपर्छ। यसैलाई कोल्ड चेन भनिन्छ।
तर टाइमकार्डले यो चेनमा ठूलो खाडल सिर्जना गरेको छ। घिमिरे बताउँछन्, "मासु र दूध निश्चित तापक्रम कायम गरेर ढुवानी गर्नुपर्छ। हामीसँग रेफ्रिजरेटेड भ्यान छ। तर समस्या के हो भने – सामान बिहान आठ बजेपछिको व्यस्त समयमा रोकिन्छ। त्यो घन्टौंसम्म सडकमा वा बाहिरी क्षेत्रमा पर्खिरहन्छ। यसबीचमा कोल्ड चेन टुट्छ।"
उनी उदाहरण दिँदै भन्छनन् "मानौं हामीले बिहान ५ बजे मासु प्रशोधन केन्द्रबाट लोड गर्यौं। त्यसलाई चार डिग्री सेल्सियसमा राख्यौं। सात बजे चक्रपथमा आइपुग्यौं। तर प्रवेश निषेध। अब ११ बजेसम्म कुर्नुपर्यो। यो ४ घण्टाको अवधिमा बाहिरी तापक्रम बढ्दै जान्छ। रेफ्रिजरेसन चलाए पनि ढोका खोल्दा, सामान ओसार्दा तापक्रममा उतारचढाव हुन्छ। यो कोल्ड चेनको उल्लंघन हो।"
साना गाडीको भ्रामक समाधान
प्रहरी उपरीक्षक नरेशराज सुवेदी भन्छन्, "हामीले खाद्यान्न नै नल्याउने भनेका होइनौं। ठूला गाडीले पिक आवरमा जाम बढाउँछ। त्यसैले साना गाडीमा सामान ल्याउन सुझाव दिएका छौं। टाटा मोबाइल, म्याजिक, डीआई जस्ता साना गाडी प्रयोग गर्न सकिन्छ।" तर व्यवसायीहरूका लागि यो व्यावहारिक समाधान होइन। केसी बताउँछन्, "साना गाडीमा तापक्रम नियन्त्रण प्रणाली हुँदैन। रेफ्रिजरेटेड भ्यान ठूलो हुन्छ र त्यसमा मात्र उपयुक्त तापक्रम कायम राख्न सकिन्छ। साना गाडीमा सामान ओसार्ने हो भने तापक्रम नियन्त्रण पूर्ण रूपमा असम्भव हुन्छ।"
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला कालिमाटी तरकारी बजारको उदाहरण दिन्छन्। "यहाँ मात्रै ७० देखि ८० वटा साना ट्रक छन् जसले तरकारी मात्र बोक्छन्। किसानले बिहान उठेर ताजा तरकारी काटेर यी गाडीमा राख्छन्। तर यी गाडीलाई पनि टाइमकार्ड लगाइएको छ। निश्चित समयमा मात्र चल्न पाउँछन्।" "किसानले मिहिनेत गरेर उब्जाएको तरकारी सडकमा कुहिँदैछ। किनभने समयमा बजार पुग्दैन। ढिला पुग्दा मूल्य घट्छ। किसानलाई नोक्सानी हुन्छ। अर्कोतिर उपभोक्ताले ताजा तरकारी पाउँदैनन् र महँगो तिर्नुपर्छ। यो दोहोरो समस्या हो।"
सिटौला सरकारसँग प्रश्न गर्छन्, "फलफूल, तरकारी, दूध र एम्बुलेन्स जस्ता अत्यावश्यक सेवालाई कुनै पनि बेला रोकताेक हुनुहुँदैन। एम्बुलेन्सले जुनसुकै बेला जान पाउँछ किनभने त्यो जीवन बचाउने सेवा हो। तर खाद्यान्न पनि स्वास्थ्यसँग जोडिएको छ। किन यसलाई रोकिने?"
अन्तर्राष्ट्रिय मापदण्डको खुल्लम खुल्ला उल्लंघन
केसी अन्तर्राष्ट्रिय मापदण्डको कुरा गर्छन्। "विश्व स्वास्थ्य संगठनले स्पष्ट मापदण्ड बनाएको छ। खाद्य सामग्रीको ढुवानी, भण्डारण र प्रयोगमा तापक्रम नियन्त्रण अनिवार्य छ। नेपालले पनि यी मापदण्ड स्वीकार गरेको छ। तर व्यवहारमा पालना हुँदैन।" उनी थप्छन्, "पाँचतारे होटलहरूले अन्तर्राष्ट्रिय ब्राण्ड नाम बोक्छन्। मारियट, हयातलगायत सबैको आफ्नै गुणस्तर मापदण्ड छ। तर टाइमकार्डका कारण हामी ती मापदण्ड पूरा गर्न असफल भइरहेका छौं। यसले होटलको ब्राण्ड छविमा आँच पुग्छ, विदेशी पर्यटकको विश्वास घट्छ।"
यो सार्वजनिक स्वास्थ्यको गम्भीर मुद्दा हो। तापक्रम नियन्त्रण नभएको दूध र मासुमा बढ्ने ब्याक्टेरिया – ई. कोलाई, साल्मोनेला, लिस्टेरिया – अत्यन्तै खतरनाक हुन्छन्। यी ब्याक्टेरियाले दूषित खाद्य सामग्री खाँदा फूड प्वाइजनिङ हुन्छ। लक्षण – पेट दुख्ने, बान्ता, झाडापखाला, ज्वरो। गम्भीर अवस्थामा अस्पताल भर्ना हुनुपर्ने र कहिलेकाहीं मृत्युसमेत हुन सक्छ। यातायात व्यवस्था विभागका प्रवक्ता गणेशमान सिंह राई भन्छन्, "काठमाडौं उपत्यकाको वास्तविकता बुझ्नुहोस्। सडक संरचना साँघुरो छ। ३० लाख जनसंख्याको सहर तर सडक त्यति छैन। ट्राफिक प्रहरीको संख्या पनि सीमित छ। बिहान र बेलुका अफिस र विद्यालयको पिक आवरमा सबै खालका ढुवानी साधनलाई अनुमति दिने हो भने ट्राफिक जाम डरलाग्दो हुन्छ।"
उनी लामो समयदेखिको समस्या औंल्याउँछन्। "यो टाइमकार्ड प्रणाली केही वर्षदेखि चलिरहेको छ। यसले केही हदसम्म ट्राफिक जाम घटाएको छ। यसलाई अचानक हटाउन सकिँदैन। हामी तत्काल सबैलाई खुल्ला गर्न सक्ने अवस्थामा छैनौं।" तर राईको यो तर्कले खाद्य सुरक्षाको प्रश्नको जवाफ दिँदैन।
विदेशमा कस्तो छ व्यवस्था?
सिङ्गापुरमा खाद्यान्न ढुवानीलाई विशेष लेन दिइएको छ। २४ घण्टा अनुमति छ तर कडा गुणस्तर नियन्त्रण छ। प्रत्येक रेफ्रिजरेटेड सवारीमा जीपीएस ट्र्याकिङ र तापक्रम मोनिटरिङ प्रणाली अनिवार्य छ। जापानको टोकियोमा बिहान ४ बजेदेखि ८ बजेसम्म खाद्यान्न ढुवानीलाई प्राथमिकता दिइन्छ। रेफ्रिजरेटेड सवारीलाई विशेष छुट छ र डिजिटल मोनिटरिङ प्रणाली छ। भारतको दिल्लीमा खाद्यान्नका लागि 'ग्रीन करिडोर' छ। द्रुत पास प्रणाली छ र तापक्रम परीक्षण अनिवार्य छ। केसी भन्छन्, "हामीले यी देशबाट सिक्नुपर्छ। ट्राफिक व्यवस्थापन र खाद्य सुरक्षा दुवै सम्भव छ। तर त्यसका लागि समग्र दृष्टिकोण चाहिन्छ।"
नेपालको अर्थतन्त्रको मुख्य आधार पर्यटन हो। पर्यटकको मुख्य आकर्षण होटल र खाना हो। तर टाइमकार्डले यसमा प्रत्यक्ष असर पारिरहेको छ। नेपाली होटलहरू यो मापदण्ड पूरा गर्न असफल भइरहेका छन्। एकपटक नेपालको होटलमा खाद्य सुरक्षा समस्या भएको समाचार अन्तर्राष्ट्रिय मिडियामा गयो भने हाम्रो पर्यटन क्षेत्र नै ध्वस्त हुन सक्छ।"
पहिलो, रेफ्रिजरेटेड सवारीलाई विशेष पास दिने गर्नुपर्छ। यी सवारीमा जीपीएस ट्र्याकिङ र तापक्रम मोनिटरिङ अनिवार्य गर्ने। यसले सवारीको गतिविधि निगरानी गर्न सजिलो हुन्छ। दोस्रो, समय समायोजन गर्ने। बिहान ७ बजेदेखि १० बजेसम्म खाद्यान्न ढुवानीलाई अनुमति दिने। यो होटल र रेस्टुरेन्टको मुख्य समय हो। बेलुका तीन बजेदेखि सात बजेसम्म ताजा सामग्री ढुवानीलाई अनुमति दिने। तेस्रो, वैकल्पिक मार्ग तोक्ने। खाद्यान्न ढुवानीका लागि छुट्टै लेन वा फास्ट ट्र्याक व्यवस्था गर्ने। यसले अन्य सवारीमा असर नगरी खाद्यान्न छिटो पुग्न सक्छ।
चासोको विषय के छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस विषयमा मौन छ। खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको जिम्मेवारी खाद्य सुरक्षा सुनिश्चित गर्ने हो। तर टाइमकार्डले खाद्य सुरक्षामा पारेको प्रभावबारे विभागले कुनै अध्ययन गरेको छैन, कुनै चासो देखाएको छैन।
काठमाडौं उपत्यकाको ट्राफिक जाम गम्भीर समस्या हो, यसमा दुई मत छैन। साँघुरो सडक, बढ्दो सवारी, सीमित प्रहरी जनशक्ति – यी सबै वास्तविकता हुन्। टाइमकार्डले केही हदसम्म यो समस्या व्यवस्थापन गरेको पनि सत्य हो। तर खाद्य सुरक्षा र सार्वजनिक स्वास्थ्य त्यो भन्दा महत्त्वपूर्ण छ। तापक्रम नियन्त्रण नभएको दूध र मासुमा ब्याक्टेरिया संक्रमणको जोखिम कुनै सानो कुरा होइन। यसले हजारौं मानिसको स्वास्थ्यमा असर पार्न सक्छ। फूड प्वाइजनिङ, पेट रोग, गम्भीर स्वास्थ्य समस्या – यी सबै वास्तविक खतरा हुन्।
विश्वका धेरै सहरहरूले यस्तै समस्या समाधान गरेका छन्। रेफ्रिजरेटेड सवारीलाई विशेष पास, तापक्रम मोनिटरिङ प्रणाली, वैकल्पिक मार्ग, समय समायोजन – यी सबै सम्भव समाधान हुन्। ट्राफिक व्यवस्थापन र खाद्य सुरक्षा दुवै समान रूपमा महत्त्वपूर्ण छन्।