काठमाडौं । नेपालभर दैनिक १ लाख ग्यास सिलिण्डर विक्री हुँदै आएकामा हाल ६० हजार ग्यास सिलिण्डर मात्र विक्री हुने गरेको छ ।
लकडाउन लम्बिँदै गएपछि ग्यास किन्ने उपभोक्ता कम हुँदा विक्री घटेको एलपी ग्यास उद्योग संघले बताएको छ । संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार लकडाउनका कारण ४० प्रतिशत ग्यास खपत कम भएको छ ।
‘काठमाडौं उपत्यकालगायत अन्य जिल्लामा सञ्चालन भएका ठूला उद्योग, होटल तथा रेष्टुँरा, विद्यालय जस्ता बढी चहलपहल हुने क्षेत्र बन्द छन्, धेरै उपभोक्ता उपत्यका छाडेर जाँदा ग्यास खपत कम भएको हो’, उनले भने, ‘सबै ग्यास उद्योगसँग पर्याप्त मात्रामा ग्यास मौज्दात रहेको छ भने आपूर्तिसमेत नियमित भएको छ ।’
उनका अनुसार सबै ग्यास उद्योगसँग हाल १० हजार मेट्रिक टन ग्यास मौज्दात छ । देशभर रहेका ६२ ग्यास उद्योगसँग ७ हजार मेट्रिक टन भण्डारणमा मौज्दात रहेको र बुलेटमा ३ हजार मेट्रिक टन ग्यास मौज्दात छ । उनका अनुसार ६२ उद्योगका १ करोड २३ लाख सिलिण्डर छन् ।
ग्यासको सहज आपूर्ति भएको र पर्याप्त मात्रामा भण्डारणसमेत भएकाले खाली सिलिण्डर भर्न उनले आग्रह गरे । पहिलेको तुलनामा काठमाडौंमा आधा पनि ग्यास सिलिण्डर विक्री नभएको ग्यास विक्रेता महासंघका कोषाध्यक्ष राजेश दाहाल बताउँछन् ।
उनका अनुसार लकडाउनअघि काठमाडौं उपत्यकामा मात्र दैनिक ४० हजार ग्यास सिलिण्डर विक्री हुँदै आएकामा हाल १५ हजारको हाराहारीमा मात्र विक्री हुने गरेको छ ।
नेपाल आयल निगमको तथ्यांकानुसार मार्चमा सबैभन्दा धेरै ४५ हजार ३०० टन ग्यास आयात भएको थियो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार सोमवार मात्र १०१ ग्यास बुलेट नेपाल प्रवेश गरेका छन् ।
उनका अनुसार वीरगञ्ज भन्सार नाका हुँदै विभिन्न ग्यास उद्योगका ग्यास बुलेट नेपाल प्रवेश गरेका हुन् । तिनमा सबैभन्दा धेरै नेपाल ग्यासका ३४, नोबल ग्यासका १४, जानकी, लुम्बिनी र सगरमाथा ग्यास उद्योगका सातसात, भानुका चार बुलेटलगायत अन्य उद्योगका ग्यास बुलेट नेपाल भित्रिएका हुन् ।
ग्याससँगै लकडाउनका कारण पेट्रोलियम पदार्थसमेत विक्री न्यून रहेको व्यवसायी बताउँछन् । रासस