काठमाडौं। भदौ २३ र २४ को भ्रष्टाचार एवं कुशासनविरुद्धको आन्दोलनका कारण केही समय दुला पसेका कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका बूढा नेताहरु फेरि पुरानै बाटोमा हिँड्ने संकेत देखिएको छ। जेनजी आन्दोलनपछि हताहती छानबिन गर्न गठित छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई बयान लिएर पासपोर्ट फिर्ता र उपत्यकाबाहिर जान फुकुवा गरेसँगै राजनीति र सत्तालाई तीन वटै नेताबाट अन्यत्र जान नदिन कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी संयोजक पुष्पकमल दाहाल एकजुट हुन लागेका हुन्।
सहकारी ठगी प्रकरणमा सुर्खेत पुनरावेदन अदालतको निर्णयपछि कारागारबाट बाहिर निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछाने उज्यालो नेपाल पार्टी गठन गरेर राजनीतिमा होमिएका ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेनसँगै एकगठ भएपछि तीन पुराना पार्टीका बूढाहरुलाई सत्ता गुम्ने भय देखिएको छ। सोही कारण उनीहरुले फेरि दुर्गन्धित गठबन्धनको संस्कृतिलाई मलजल गर्न लागेका हुन्।
मंसिर २८ देखि सुरु भएको एमाले महाधिवेशनमा नेतृत्व पुस्तान्तरण हुनुपर्ने माग उठे पनि ओलीले पहिलाको विधान ब्युँताएर पदाधिकारी थप्दै आफूलाई स्वघोषित अध्यक्ष चयन हुन सफलता प्राप्त गरेका छन्। ओलीले जेनजी आन्दोलनलाई अस्वीकार गर्दै आएका छन्।
उनले कुनै पनि हालतमा एमाले नेतृत्व नछाड्ने घोषणा मंसिर २९ को अध्यक्षका लागि भृकुटीमण्डपमा उम्मेदवारी फाराम भर्दै भनेका थिए । ओलीले भनेका थिए, ‘जेनजी आन्दोलन विध्वंसात्मक हो। कसैको उक्साहटमा लागेर पार्टीभित्र नेतृत्व फेरिन माग गर्नु उचित होइन। एमालेमा मै चाहिन्छ।’ ओलीले पछिल्लो समय एमाले अध्यक्ष हुनासाथ सभापति देउवालाई महाराजगञ्ज निवासमै गएर चुनावमा मिलेर जार्नुपर्ने र सत्ता कुनै हालतमा अरुलाई दिन नहुनेमा सहमति जनाएका थिए।
ओली चाहनालाई जेनजी प्रदर्शनकारीबाट कुटाइ खाए पनि देउवाले आफू नसुध्रिएको देखाएर पूरा गरिदिएका छन्। पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर जेनजी पुस्ताको मागअनुसार पार्टी पुस्तान्तरणमा सघाउन थालेको भन्दै केही समय स्यावासी पाएका देउवा फेरि उहीँ ओली बाटोमा लागेका छन्। यसले गर्दा देउवाको आलोचना सुरु भएको छ।
रास्वपा सभापति रवि लामिछाने उज्यालो नेपाल पार्टी गठन गरेर राजनीतिमा होमिएका ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेनसँगै एकगठ भएपछि तीन पुराना पार्टीका बूढाहरुलाई सत्ता गुम्ने भय देखिएको छ। सोही कारण उनीहरुले फेरि दुर्गन्धित गठबन्धनको संस्कृतिलाई मलजल गर्न लागेका हुन्।
सभापति देउवाले सत्ता र पार्टीलाई आफ्नो हातबाट फुत्किन नदिन मंसिरमा सकिएको कार्यकालसमेत वैशाखसम्म तन्काएर कांग्रेसभित्र विवादको बिउ रोपिदिएका छन्। पुस अन्तिममा हुने भनिएको नियमित महाधिवेशन फागुन २१ को निर्वाचनका नाममा फेरि वैशाखमा पुर्याउने प्रपञ्च देउवा टिमबाट भएको छ।
यही मेसोमा विशेष महाधिवेशन माग्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीलाई समेत देउवा समूहले अस्वीकार गरेको छ। सोमबार र मंगलबार बस्दै गरेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा विशेष महाधिवेशनको एजेन्डा नभई राष्ट्रिय सभा उम्मेदवार र आगामी फागुन २१ को निर्वाचनबारे छलफल एजेन्डा राखिएका छन्। यसले पनि देखाउँछ, देउवा कुनै हालतमा कांग्रेसको नेतृत्व पुस्तान्तरण गर्न चाहन्नन्।
कांग्रेस, एमाले र नेकपाबीच राष्ट्रिय सभा तथा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धन विस्तार गर्ने गृहकार्य अगाडि बढेको छ। यसका लागि देउवा ओली निवासमा कार्यवाहक सभापति खड्का र रमेश लेखकलाई सोमबार पठाएर जनाउ दिएका छन्। तीन दलबीच सिट बाँडफाँट र सहकार्यको प्रारम्भिक समझदारी बनेको नेताहरुले बताएका छन्। निरन्तर संवादमार्फत पुराना प्रतिस्पर्धी दलबीच सम्बन्ध सुधार हुँदै आगामी निर्वाचनमा गठबन्धनको सम्भावना बढेको देखिएको हो। राजनीतिलाई भागबन्डा र भ्रष्टाचारलाई संस्थागत गर्दै लगेपछि जेनजी आन्दोलन भएको घटनालाई तीन दलले पूरै आँखा चिम्लिएका छन्।
तीन वृद्ध नेताबीच राष्ट्रिय सभाका रिक्त १९ मध्ये निर्वाचन हुने १८ सिटका फेरि भागशान्ति हुने देखिएको छ। यद्यपि सुरुमा कांग्रेस–एमाले मिल्ने भनिए पनि दाहालले पनि भाग खोज्दै देउवा र ओलीसँग हिमचिम बढाएका छन्। देउवा र नेकपा संयोजक दाहालबीच छलफल भएपछि गठबन्धन अझै विस्तार हुने संकेत देखिएको हो । एमाले अध्यक्ष ओली र दाहालबीच आइतबार व्यवसायी शारदाप्रसाद अधिकारीको ललितपुर मानभवनस्थित निवासमा गोप्य वार्तासँगै गठबन्धनलाई तन्काउने सहमति भएको बुझिएको छ।
-1743054365.jpg)
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले संविधान निर्माणका बेला सँगै रहेका दलबीच तालमेल गर्ने समझदारी भएको र कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति खड्काले जानकारी गराएको बताए। ‘राष्ट्रिय सभामा छुट्टाछुट्टै जाँदा जित्न सकिँदैन । अर्कोतर्फ राष्ट्रिय सभालाई सहमतिको थलो बनाउने र तत्कालीन मधेसी मोर्चामा रहेका दलहरूलाई समेत सहभागी गराएर जाने कार्यवाहक सभापतिले जानकारी गराउनुभएको छ। यद्यपि सिट फाँडफाँटबारे अझै टुंगोमा पुगिएको छैन’, उनले भने।
२०८० असारमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य सुरु भएपछि दाहाल सरकार ढलेको थियो। त्यसपछि ओली र दाहालबीच तिक्तता बढ्दै गयो। जेनजी आन्दोलनपछि यी दुई नेताबीच सम्बन्ध सुधार हुन सकेको थिएन। अधिकारीको घरमा आइतबार ओली र दाहालबीच वार्ता भएसँगै सम्बन्ध सुधारको संकेत देखिएको छ। यसअघि मंसिर १९ र पुस ७ मा देउवालाई भेट्दै ओलीले सहकार्यबारे छलफल गरेका थिए। २०८१ असार १७ मा कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका ओलीले तत्कालीन सातबुँदे सहमतिबाट एमाले पछि नहटेको भन्दै चुनावमा सहकार्य गर्न देउवालाई प्रस्ताव गरेको बताइन्छ।
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेसँग तालमेल गर्ने विषयलाई लिए। संयोजक दाहालले सहसंयोजक माधवकुमार नेपालसँग छलफल गरेका छन्। यद्यपि सम्मानजनक सिट बाँडफाँट भएमात्र तालमेल गर्न सकिने, नभए एकल उम्मेदवारी दिने गरी दुई नेताबीच छलफल भएको दाहाल सचिवालयले जनाएको छ।
नेपाली समाज भारतले आयोजना गरेको एकता सन्देशसभामा भाग लिन आइतबार नयाँ दिल्ली पुगेका दाहाल सोमबार बेलुका स्वदेश फर्किएका छन्। उनले भारत जानुअघि एमाले अध्यक्ष ओली एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र रमेश लेखकसँग गठबन्धन निर्माण गरेर जाने विषयमा छलफल गरेको बुझिएको छ। नेकपा नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियता र सम्भावित सहकार्यबारे एमाले र कांग्रेससँग छुट्टाछुट्टै छलफल भइरहेको पुष्टि गरे। गठबन्धन सत्ताका लागि नभएको तर्क उनको छ।