रुपन्देही। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र निशाना (केन्द्र)मा परेका बताएका छन्। उनले निजी क्षेत्रप्रति किन यति नकारात्मक सोच र बुझाइ छ भन्दै प्रश्न गरेका हुन्।
आज भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको ६७औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा अध्यक्ष ढकालले कुनै व्यवसाय सञ्चालन गर्नु भनेको त्यो व्यवसायी/व्यक्तिको फाइदाका लागि मात्र नभई आमनागरिकका लागि पनि हुने स्पष्ट पारे। उनले त्यो व्यवसाय फाइदाजनक नभए टिकाउ हुन नसक्ने बताए।
“कुनै उद्योग–व्यवसाय सञ्चालन गर्नु भनेको रोजगारी सिर्जना, राज्य सञ्चालन गर्न राजस्वमा योगदान गर्नु, पूर्वाधार बनाउनु र आमनागरिकले सेवा पाउनु हो भन्ने किसिमको सन्देश दिनुपर्छ । यसबारे आमनागरिकलाई बुझाउनुपर्छ”, अध्यक्ष ढकालले भने।
उनले नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र भने जस्तै महासङ्घले निजी क्षेत्र, औद्योगिक प्रतिष्ठान, कलकारखानालाई हडताल, आगजनी र तोडफोड गर्न नमिल्ने क्षेत्रका रूपमा प्राथमिकतामा राखी योजनाबद्ध रूपमा खाका बनाएर सरकारलाई दिएको जानकारी दिए। वर्तमान सरकारको मन्त्रिपरिषद्ले यथाशीघ्र यसबारे निर्णय गर्ने उनले विश्वास व्यक्त गरे।
राजनीति गर्नेले राजनीति र जागिर गर्नेले यो धेरै भयो भनेर छोड्न सक्ने भए पनि व्यवसायीले जस्तोसुकै अवस्थामा छाड्छु भन्न नसक्ने उनले दाबी गरे। “मेरो हकमा भन्नुहुन्छ भने मेरो कम्पनीअन्तर्गत काम गर्ने २० हजार छन्। एक जनाले पाँच जनाको परिवार पालेका छन्। एक लाख मानिस आश्रित छन्। मेरो टाउकोमा अरबौँको ऋण छ। मैले छोडे भने एक लाख रोजगारीको अवस्था के होला? मैले छोडे पनि बैंकले मलाई छोड्नेवाला छैन”, उनले भने।
अध्यक्ष ढकालले निजी क्षेत्र नभएको भए के अवस्था हुन्थ्यो होला भन्दै प्रश्न गरे। वार्षिक रूपमा सरकारी निकायले तीन हजार ५०० देखि चार हजारलाई रोजगारी दिएको जनाउँदै उनले निजी क्षेत्रले ८६ प्रतिशत बढीका लागि रोजगारी सिर्जना गरिरहेको बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन हुनुपर्नेमा अध्यक्ष ढकालले जोड दिए। “छोटो समयमा महासङ्घको उचाइ बढेको छ, त्यसलाई निरन्तरता दिन सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने मेरो धारणा छ, यसका लागि यहाँहरूले पनि पहल गर्नुहोला”, उनले भने।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले स्थानीय सरकार निजी क्षेत्रका साथमा रहेको बताए। उनले खुल्ला सीमाको चुनौतीसँगै अवसर पनि रहेको धारणा राखे।