काठमाडौं। नेपालको अग्रणी निजी हवाई कम्पनी ‘बुद्ध एयर’को कारोबार बन्द गराउन माग राख्दै सर्वोच्च अदालतमा दायर रिट ‘हेर्न नभ्याइने’मा राखिएको छ। बुद्ध एयरका सेयर धनी अर्चना बस्नेतसहितले कम्पनीलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए।
सोही रिटमा सोमबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासको अन्तिम सूचीमा परेको थियो।
अर्चनाले बुद्ध एयरको सञ्चालक समिति सदस्यसमेत रहेकी आफ्नै छोरी देवयानी बस्नेतसहित बुद्ध एयर प्रा.लि., सञ्चालक समिति, कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत, सेयरधनी तथा सञ्चालक सुनिता बस्नेत, सेयरधनी आरजु बस्नेत र आस्था बस्नेतलाई विपक्षी बनाएका थिए।
रिटमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म बुद्ध एयरले कुनै पनि लगानी, व्यवसाय विस्तार वा नयाँ जहाज खरिद गर्न रोक लगाउन आदेश माग गरेको थियो। साथै कम्पनीको नामबाट कुनै पनि नयाँ ऋण लिन नपाउने र कम्पनीको बैंक स्टेटमेन्ट, आय-व्यय विवरण र लेखापरीक्षण प्रतिवेदन अल्पमत सेयर धनीहरूलाई नियमित उपलब्ध गराउनुपर्ने माग राखेका छन्।
रिटमा दैनिक सञ्चालन खर्चहरू जस्तैः इन्धन, मर्मत, तलबमा शिवानीसमेत सम्मिलित व्यवस्थापन समिति गठन गरी पारदर्शी खर्च गर्नुपर्ने माग राखिएको थियो।
सर्वोच्च अदालतमा दायर गरिएको पछिल्लो निवेदनमा निवेदक पक्षले कम्पनीबाट अलग हुनका लागि स्पष्ट आर्थिक प्रस्ताव र बाहिरिने योजना अघि सारेका छन्। जसमा बुद्ध एयरको प्रतिसेयर मूल्य ३,५०० रुपैयाँ कायम गरेका छन्।
साथै, बुद्ध एयरको कुल १७ लाख ५० हजार कित्ता सेयर रहेको खुलाइएको छ। प्रतिसेयर मूल्यांकन गर्ने हो भने कम्पनीको कूल मूल्य ६ अर्ब १२ करोड ५० लाख हुन आउने र यदि विपक्षीले यो मूल्यमा सेयर खरिद नगरे सोही मूल्य बराबर कम्पनीको जिन्सी सम्पत्ति (जहाजसमेत) छुट्टाएर दिनुपर्ने माग राखेका छन्।