काठमाडौं। गृहलक्ष्मी ग्यास कम्पनी प्रालिको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ। गण्डकी प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको गृहलक्ष्मी ग्यासले सन् २०२५ मा १ अर्ब २७ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको रेटिङ रिपोर्टअनुसार कम्पनीको आम्दानीमा पछिल्ला वर्षमा निरन्तर सुधार आइरहेको छ।
रिपोर्टअनुसार कम्पनीको व्यापार विगत पाँच वर्षदेखि वार्षिक औषत १२ प्रतिशतका दरले बढिरहेको छ। सन्् २०२१ मा ८१ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा १ अर्ब ३ करोड, सन् २०२३ मा १ अर्ब १६ करोड र सन् २०२४ मा १ अर्ब २० करोड रुपैयाँको व्यापार गरेको थियो।
एलपी ग्यास अत्यावश्यक वस्तु भएकाले यसको मागमा रहने स्थिरताले कम्पनीको व्यापार वृद्धिमा सहयोग पुर्याएको छ। कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि गराएको क्रेडिट रेटिङमा ५५ करोड रुपैयाँको कर्जा सीमा निर्धारण गरिएको छ।
उक्त कर्जा कम्पनीले उपयोग गरिरहेको कर्जा हो। कम्पनीले लिएको २० करोड बराबरको दीर्घकालीन ऋणका लागि ‘डबल बी माइनस’ र ३५ करोड रुपैयाँ बराबरको अल्पकालीन ऋणका निम्ति इन्फोमेरिक्स ‘ए फोर’ रेटिङ प्रदान गरेको छ।
सन् १९९४ देखि सञ्चालनमा रहेको गृहलक्ष्मी ग्यास नेपालको ग्यास रिफिलिङ क्षेत्रमा पुरानो र स्थापित नाम हो। सन् २०१०÷११ मा वर्तमान व्यवस्थापनले यसलाई प्राप्ति गरेपछि कम्पनीको नेतृत्व अध्यक्ष धर्मराज बर्तौलाले गरिरहेका छन्।
बर्तौलासँग विभिन्न उद्योगमा १५ वर्षभन्दा बढीको अनुभव छ। कम्पनीले ‘गृहलक्ष्मी ग्यास’ ब्रान्ड नाममा ग्यास सिलिन्डर बिक्री गर्दै आएको छ। कम्पनीमा अध्यक्ष बर्तौलाको ६० प्रतिशत सेयर हिस्सा रहेको छ।
अस्पताल तथा अन्य क्षेत्रको तुलनामा ग्यास उद्योग सरकार र नेपाल आयल निगमबाट नियमन हुने क्षेत्र हो। त्यसैले यसको नाफाको मार्जिन सीमित हुने गर्दछ। कम्पनीको सञ्चालन मुनाफा ५ देखि ६ प्रतिशतको हाराहारी रहँदै आएको छ।
सन् २०२५ मा कम्पनीको खुद नाफा १.३८ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्ष १.१५ प्रतिशत थियो।
कम्पनीको ऋण तिर्न सक्ने क्षमता सन् २०२५ मा ३.८७ गुणा रहेको छ, जसले संस्थाको वित्तीय अवस्था बलियो रहेको संकेत गर्दछ। यद्यपि, कम्पनीको नेटवर्थ भने अझै नकारात्मक रहेको रिपोर्टमा उल्लेख छ।
सन् २०१०/११ मा कम्पनी प्राप्ति गर्दाको पुरानो दायित्वका कारण नेट वर्थ नकारात्मक देखिए पनि पछिल्ला वर्षमा पूँजी वृद्धि र नाफाका कारण यसमा सुधार भइरहेको छ। कम्पनीसामु केही प्राविधिक र व्यावसायिक चुनौती पनि रहेका छन्। ग्यास उद्योग ‘वर्किङ क्यापिटल इन्टेन्सिभ’ अर्थात् धेरै कार्यशील पुँजी चाहिने प्रकृतिको छ।
कम्पनीले नेपाल आयल निगमलाई ग्यास खरिद गर्दा तत्काल नगद भुक्तानी गर्नुपर्छ, तर ग्राहक र डिलरबाट पैसा उठ्न ८० देखि ९० दिनसम्म लाग्ने गरेको छ। यसले गर्दा कम्पनीको नगद प्रवाहमा चाप पर्ने र बैंकको अल्पकालीन ऋणमा बढी निर्भर हुनुपर्ने अवस्था छ।
यस्तै, कम्पनीको व्यापार मुख्यतया गण्डकी प्रदेशमा मात्र केन्द्रित हुनु र आयल निगम मात्र एकमात्र आपूर्तिकर्ता हुनुलाई पनि जोखिमको रूपमा हेरिएको छ। निगमको नीतिमा आउने परिवर्तन वा मूल्यमा हुने उतारचढावले कम्पनीको नाफामा सीधा असर पार्न सक्ने रेटिङ रिपोर्टमा औंल्याइएको छ।
रिपोर्टअनुसार गृहलक्ष्मी ग्यासले आगामी दिनमा आफ्नो बजार क्षेत्र विस्तार गर्ने र सञ्चालन दक्षता बढाउने योजना बनाएको छ। अत्यावश्यक वस्तुको व्यापार भएकाले मागको जोखिम कम हुनु कम्पनीका लागि सुखद पक्ष हो। आगामी दिनमा नेट वर्थलाई सकारात्मक बनाउँदै लैजाने र कार्यगत पूँजीको चक्रलाई चुस्त बनाउनु कम्पनीको मुख्य प्राथमिकता रहने देखिन्छ।