काठमाडौं। नेपालको निर्माण क्षेत्रमा स्थापित ‘क’ वर्गको ठेक्का कम्पनी हिमदुङ एण्ड थोकर कन्स्ट्रक्सनले आम्दानी सुनिश्चितताभन्दा बढी ऋण लिएको छ। कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६१ करोड ७९ लाख रुपैयाँ बराबरको ऋण सुविधा उपयोग गरिरहेको छ। जबकी कम्पनीसँग हाल करिब १ अर्ब ५९ करोड ६० लाख रुपैयाँ बराबर मात्रै ठेक्का सम्झौता बाँकी रहेको छ।
यसले कम्पनीको भविष्यको सुनिश्चित आम्दानी र वर्तमानको ऋण भार लगभग बराबर मात्र होइन, बरु ऋणको हिस्सा बढी रहेको देखाउँछ। जसले कम्पनीको वित्तीय सन्तुलनमा जोखिमको संकेत गर्दछ।
क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीको व्यापारमा सामान्य सुधार देखिए पनि ऋणको मात्रा भने चिन्ताजनक रूपमा बढेको छ। सन् २०२५ मा ३२ करोड ९० लाख रुपैयाँको मात्र कारोबार गरेको कम्पनीले आफ्नो वार्षिक व्यापारको तुलनामा झण्डै ५ गुणा बढी ऋण स्वीकृत गराएको छ।
कम्पनीले उपयोग गरिरहेको कुल १ अर्ब ६१ करोड ७९ लाख रुपैयाँको ऋण सुविधालाई रेटिङ एजेन्सीले ‘डबल बि’ र ‘एफोर’ रेटिङ दिएको छ।
रिपोर्टअनुसार कम्पनीको ऋण लिने प्रवृत्ति बढ्दो छ। सन् २०२४ मा कम्पनीको ऋण र पुँजीको अनुपात १.१४ गुणा रहेकोमा सन् २०२५ मा बढेर १.५२ गुणा पुगेको छ। यसले कम्पनीले थप ऋण लिँदै गएको र आफ्नो पुँजीको तुलनामा दायित्व बढाउँदै लगेको पुष्टि गर्छ।
अर्कोतर्फ, निर्माण सामग्रीको बढ्दो मूल्य र सञ्चालन खर्चका कारण कम्पनीको सञ्चालन नाफामा भने गिरावट आएको छ। सन् २०२४ मा २१.७ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा घटेर १७.१ प्रतिशतमा झरेको छ। व्यापार ६ प्रतिशतले बढे पनि नाफाको मार्जिन घट्नु र ऋणको भार बढ्नुले कम्पनीको वित्तीय स्वास्थ्यमा दबाब परेको देखिन्छ।
हाल यसको ९९ प्रतिशत ठेक्का सडक र पुलमा मात्र सीमित छ।
कम्पनीको हातमा रहेको १ अर्ब ६० अर्बको ठेक्का आगामी एक वर्षभित्रै सम्पन्न गरिसक्नुपर्ने प्रकृतिका छन्। तर, निर्माण क्षेत्रमा हुने भुक्तानीको ढिलाइ, साइट क्लियरन्समा हुने अवरोध र बैंकको उच्च ब्याजदरका कारण यो अर्डर बुकबाट हुने आम्दानीले १ अर्ब ६२ करोडको ऋण र त्यसको ब्याज व्यवस्थापन गर्न कम्पनीलाई चुनौती हुन सक्ने देखिन्छ। यद्धपि कम्पनीले स्वीकृत गराएको ऋण सिमामा हालसम्म ६३ करोड ९० लाख रुपैयाँमात्रै बैंकलाई तिर्न बाँकी राखेको रिपोर्टमा उल्लेख छ। यो अघिल्लो वर्षको तुलनामा भने ४२ प्रतिशतले बढेको हो।
निर्माण वा ठेक्कापट्टाको क्षेत्रमा ‘अर्डर बुक’ भन्नाले कुनै पनि कम्पनीले भविष्यमा सम्पन्न गर्न बाँकी रहेका काम वा ठेक्काहरूको कुल मूल्यलाई जनाउँछ। यो कम्पनीको हातमा भएको ‘भविष्यको आम्दानीको ग्यारेन्टी’ हो। कम्पनीले ठेक्का त सम्झौता गरिसक्यो, तर त्यसको काम अझै पूरा भएको छैन वा सुरु हुन बाँकी छ भने त्यसलाई अर्डर बुकमा गणना गरिन्छ।
साढे तीन दशकको अनुभव र ‘क’ वर्गको अनुमति प्राप्त यो कम्पनीले अब आफ्नो ऋण भार घटाउन र अर्डर बुकमा विविधता ल्याउनुपर्ने देखिन्छ। हाल यसको ९९ प्रतिशत ठेक्का सडक र पुलमा मात्र सीमित छ। जसले गर्दा सरकारी भुक्तानीमा हुने सानो ढिलाइले पनि कम्पनीको सम्पूर्ण वित्तीय चक्रलाई प्रभावित पार्ने जोखिम रहेको छ।