काठमाडौं। वीरगञ्जमा ‘स्काइलाइन मल’ र ‘सरोवर पोर्टिको’ होटल सञ्चालन गरिरहेको स्काइलाइन इन्फ्रा लिमिटेडको व्यापारमा उत्साहजनक सुधार देखिएको छ। होटल व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएसँगै कम्पनीको आम्दानीमा एक वर्षमै ७ गुणाले वृद्धि भएको हो।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको रिपोर्टअनुसार कम्पनीले सन् २०२५ मा ८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ। अघिल्लो वर्ष सन् २०२४ मा कम्पनीको व्यापार मात्र १ करोड २० लाख रुपैयाँ रहेको थियो। सन् २०२४ सम्म मल मात्र सञ्चालनमा रहेकोमा सन् २०२४ को सेप्टेम्बरको मध्यदेखि होटल व्यवसाय सुरु भएपछि कम्पनीको आम्दानी ७ गुणाभन्दा बढीले बढेको हो। साथै, कम्पनीले चालू वर्ष (सन् २०२६को) ५ महिनामा ३ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ।
व्यवसाय बढे पनि होटल क्षेत्रमा हुने उच्च लागतका कारण नाफाको मार्जिनमा भने केही गिरावट आएको छ। सन् २०२४ मा ६४.५५ प्रतिशत रहेको सञ्चालन मुनाफा सन् २०२५ मा घटेर ३१.३७ प्रतिशत कायम भएको छ। होटल सञ्चालन खर्च, बैंक ब्याज र ह्रासकट्टी खर्च बढ्दा खुद नाफा २.६८ प्रतिशतमा खुम्चिएको छ।
इन्फोमेरिक्सले कम्पनीले उपयोग गरिरहेको कुल १ अर्ब ६ करोड २२ लाख ८० हजार रुपैयाँ बराबरको दीर्घकालीन बैंक कर्जाका लागि बी प्लस रेटिङ प्रदान गरेको छ। कम्पनीले आफ्नो परियोजनाका लागि लिएको ठूलो रकमको ऋणको सुरक्षा र तिर्न सक्ने क्षमतालाई आधार मानेर यो रेटिङ दिइएको इन्फोमेरिक्सले रिपोर्टमा उल्लेख गरेको छ।
हाल होटलको बेड अकुपेन्सी दर ३४ प्रतिशतको हाराहारीमा रहेको छ।
स्काइलाइन इन्फ्राको होटल र मल गरेर आम्दानीका दुई मुख्य स्रोतहरू रहेका छन्। सन् २०२५ को कुल आम्दानीमा होटल व्यवसायको हिस्सा करिब ७४ प्रतिशत रहेको छ। वीरगञ्जमा सञ्चालित ६० कोठाको ‘सरोवर पोर्टिको’ होटलले व्यावसायिक सफलता पाउन थालेपछि कम्पनीको वित्तीय अवस्था बलियो बन्दै गएको हो।
हाल होटलको बेड अकुपेन्सी दर ३४ प्रतिशतको हाराहारीमा रहेको छ। जसलाई आगामी दिनमा बढाउनुपर्ने दबाब कम्पनीलाई छ। होटलबाहेक कम्पनीको मलमा रहेका व्यापारिक स्थानहरू (कर्मसियल स्पेस)बाट आउने भाडा आम्दानीले कम्पनीलाई दीर्घकालीन र स्थिर क्यास फ्लो सुनिश्चित भएको छ।
कम्पनीको मुख्य सबल पक्ष यसको रणनीतिक अवस्थिति हो। वीरगञ्जको मुख्य क्षेत्रमा रहेको यो होटल र मल नेपाल-भारत सीमा (रक्सौल नाका)बाट मात्र ४ किलोमिटरको दूरीमा रहेको छ। यसले गर्दा भारतीय पर्यटक र व्यावसायिक यात्रुहरूको आगमनले होटलको व्यवसायलाई टेवा पुर्याउने देखिन्छ।
होटलले प्रसिद्ध भारतीय होटल चेन ‘सरोवर होटल प्राइभेट लिमिटेड’ सँग आबद्ध भई सरोवर पोर्टिको ब्राण्डमा सेवा दिइरहेको छ। अन्तर्राष्ट्रिय ब्राण्डसँगको आबद्धताले बजारमा होटलको उपस्थिति र विश्वसनीयता बढाएको रेटिङ एजेन्सीले जनाएको छ।
सन् २०१६ मा निजी कम्पनीका रूपमा दर्ता भएको स्काइलाइन इन्फ्रा सन् २०२३ मा पब्लिक लिमिटेडमा परिणत भएको थियो। कम्पनीले नौ तले व्यापारिक कम्प्लेक्स स्काईलाइन मल सञ्चालन गरिरहेको छ, जसमा होटल, ब्याङ्कैवेट हल, रिटेल आउटलेट, सिनेमा हल, क्यासिनो र अफिस स्पेस रहेका छन्। कम्पनीमा प्रतिक अग्रवाल मुख्य सेयरधनीका रूपमा रहेका छन्। अग्रवालको १७ प्रतिशत सेयर स्वामित्व छ।