काठमाडौं। नेपालमा मोटरसाइकल र स्कुटर प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। सवारी सुरक्षाका लागि अनिवार्य मानिएको हेल्मेटको माग पनि त्यसैअनुसार बढिरहेको छ। पछिल्ला वर्षमा नेपालमै हेल्मेट उत्पादन गर्ने उद्योगहरू स्थापना भएका छन्।
स्वदेशी उत्पादन बजारमा उपलब्ध पनि छन्। तर, आश्चर्यजनक तथ्य के भने स्वदेशमा उत्पादन हुँदै आए पनि हेलमेट आयात भने अपेक्षित रूपमा घट्न सकेको छैन।
लामो समयसम्म विदेशी हेलमेट आयातमा पूर्ण निर्भर रहेको नेपाली बजारमा पछिल्लो समय स्वदेशी उत्पादनले आफ्नो उपस्थिति बलियो बनाउँदै लग्दा यसको आयातमा केही प्रभाव परेको छ। स्वदेशी उत्पादनले आयातलाई पूर्ण रूपमा घटाउन नसके पनि यसले नेपाली बजारमा सस्तो र भरपर्दो विकल्प प्रदान गरी आयातको वृद्धि दरलाई नियन्त्रण गर्न वा केही हदसम्म बजार हिस्सा लिन सफल भएको छ।
हाल नेपाली बजारमा दुई ब्रान्डले हेल्मेट उत्पादन गर्दै आएका छन्। हेलमेट उत्पादनमा नेपाल आत्मनिर्भर भइसकेको छ तर, नीतिगत कुराका कारण हेलमेट आयात कम हुन नसकेको कोहिनुर प्लास्टिक इन्डस्ट्रिज (केपीआई) हेल्मेटका प्रबन्ध निर्देशक सुमन बस्याल बताउँछन्।
‘नीतिगत समस्या के भने हेलमेटको मूल्य न्यून छ र कर १५ प्रतिशत मात्र छ, तर, कच्चा पदार्थमा ३०–३५ प्रतिशत सम्म कर लाग्छ,’ उनले भने, ‘ हेलमेट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ सामग्रीमा उच्च कर छ। यसले गर्दा तयारी वस्तु आयात गर्दा सस्तो पर्छ र नेपालमै उत्पादन गर्दा महँगो पर्न जान्छ।’ तुलनात्मक रूपमा नेपालमा उत्पादन भएका भन्दा आयातीत हेलमेट सस्तो हुँदा आयात कम नभएको बस्यालको भनाइ छ।
उनका अनुसार यदि तयारी वस्तुमा कम्तीमा पनि कर बढाएर स्वदेशी उद्योगलाई प्रोत्साहन गरियो भने मात्र हेल्मेटको आयात कम हुन्छ। ‘नेपालमै उत्पादन गर्नु भन्दा बाहिरबाट आयात गरेर बेच्दा सस्तो पर्नुको मुख्य कारण हेल्मेटका लागि आवश्यक सम्पूर्ण कच्चा पदार्थ नेपालमा उपलब्ध नहुनु हो। सबै सामग्री बाहिरबाट ल्याउनुपर्दा लागत बढ्छ, तर तयारी हेल्मेट सस्तोमा आयात भएपछि व्यवसायीले मार्केटिङ मात्र गर्दा सजिलो हुन्छ। यो ग्याप तब मात्र पुरा हुन्छ जब राज्यले आत्मनिर्भर भइसकेका उद्योगलाई कसरी प्रोत्साहन गर्ने र कसरी सेवा सुविधा दिने भन्ने विषयमा गम्भीर रूपमा सोच्छ।’ उनले भने।
हेल्मेट उत्पादनका लागि आवश्यक सम्पूर्ण कच्चा पदार्थ बाहिरबाट नै आउँछ। कच्चा पदार्थको लागि नेपाल बाहिर नै निर्भर छ। कच्चा पदार्थमा उच्च कर भएका कारण कतिपय व्यवसायले नेपालमा उत्पादन गर्नु भन्दा बाहिरबाट सस्तोमा ल्याएर यहाँ ब्रान्डिङ गरेर बिक्री गरिरहेका प्रबन्ध निर्देशक बस्याल बताउँछन्।
नेपालमा नै गुणस्तरिय हेल्मेट उत्पादन हुँदा हुँदै पनि आयात कम नहुनु नेपाल अझै पनि कच्चा पदार्थमा आत्मनिर्भर हुन नसक्नु मुख्य कारण रहेको व्यवसायीहरु बताउाछन्। नेपाली बजारमा विभिन्न विदेशी र स्वदेशि ब्रान्डका हेल्मेटहरू उपलब्ध छन्।
चालकको सुरक्षाको लागि लगाइने हेल्मेट पनि ब्रान्ड नै पिच्छे फरक फरक किसिमका छन्। तिनको प्रकार, विशेषता र मूल्य पनि फरक हुन्छ। मध्यम वर्गदेखि उच्च वर्गका लागि लक्षित गरी नेपाली बजारमा हाल ५ सय देखि डेढ लाख रुपैयाँसम्मका हेल्मेट उपलब्ध छन्।
हेल्मेट आयातको ट्रेन्ड
आर्थिक वर्ष २०८१÷८२ को एक वर्षको अवधिमा ६२ करोड रुपैयाँ बराबरको ६ लाख १८ हजार ९८० युनिट हेल्मेट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०८०÷८१ को एक वर्षमा ५१ करोड ७८ हजार रुपैयाँ बराबरको ६ लाख ८४ हजार ९२८ युनिट हेल्मेट आयात भएको थियो।
उक्त हेल्मेट आयातबाट सरकारले १५ करोड ६९ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो। त्यस्तै, भन्सार विभागको तथांकअनुसार आर्थिक वर्ष २०७९÷८० को एक वर्षको अवधिमा ४७ करोड ८३ लाख बराबरको ५ लाख ३१ हजार १३३ युनिट हेलमेट आयात भएका छन्। यस वर्ष ठुलो मात्रामा हेल्मेटको आयात घटेको थियो।
आर्थिक वर्ष २०७८÷७९ मा ७६ करोड ९ लाख रुपैयाँ बराबरको ९ लाख ३ हजार युनिट हेलमेट आयात भएको थियो। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷७८ मा ९३ करोड ३ लाख रुपैयाँ बराबरको १० लाख ६ हजार हेल्मेट आयात भएको थियो।
त्यस्तै, वर्ष २०७६÷७७ मा भने ३ करोड ७६ लाख रुपैयाँमा ६६ हजार ६ सय हेल्मेट आयात भएको थियो भने २०७५÷७६ मा ४ करोड ३४ लाख रुपैयाँका ६३ हजार ५ सय ५९ हेल्मेट आयात भएका थिए। भन्सार विभागका तथ्यांकअनुसार अस्ट्रेलिया, बेल्जियम, चीन, हङकङ, भारत, फ्रान्स, जापान, मलेसिया, स्पेन, थाइल्यान्डलगायत देशबाट हेल्मेट आयात भइरहेका छन्।
अहिले नेपालमा स्वदेशी हेल्मेट उत्पादन गर्ने उद्योग सक्रिय भए पनि तथ्यांकले समग्रमा आयात ठूलो मात्रामा घटेको देखाउँदैन बरु उतारचढावका साथ बजारको माग अनुसार बढेको देखिन्छ।
सडकमा गुड्ने मोटरसाइकल र स्कुटरको संख्यासँगै सुरक्षाका लागि अत्यावश्यक मानिने हेल्मेटको माग पनि उच्च छ। नेपालमा पछिल्लो समय हेल्मेट उद्योगहरू खुल्ने क्रम सुरु भएको छ।
स्वदेशी उत्पादनले बजारको केही हिस्सा ओगट्न थालेको पनि छ। यद्यपि, स्वदेशमै उत्पादन सुरु हुँदा र नेपाली ब्रान्डले गुणस्तरीय दाबी गरिरहँदा पनि विदेशबाट हुने हेल्मेटको आयातमा उल्लेख्य कमी आउन सकेको छैन।