काठमाडौं। भारतसँगको खुल्ला नाकाका कारण दैनिक रुपमा ठूलो मात्रामा चोरी तस्करीका सामान नेपाल भित्रिने गरेको छ। खासगरी दैनिक उपभोग्य सामानको नाममा ठूलो मात्रामा सामान आउँदा नेपाली बजारमा छ्यापछ्याप्ती पाइन्छ।
सरकारले कडाई गर्न नसकेका कारण भारतबाट चोरीका सामान आउने भएपछि नेपालमा रहेका उत्पादनमूलक उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन। चोरी तस्करी नियन्त्रणमा आउन नसक्दा नेपालमा रहेका उत्पादनमूलक उद्योगहरु ५० प्रतिशत क्षमता पनि मुस्किलले सञ्चालनमा रहेको एमएस ग्रुपका अध्यक्ष शशीकान्त अग्रवालको भनाइ छ।
नेपालभन्दा भारतमा केही सस्तो मात्रामा सामान पाउने भएकाले त्यहाँबाट अवैध रुपमा ठूलो मात्रामा सामान ल्याएर नेपाली बजारमा बिक्री गरिरहँदा गृह प्रशासन मुखदर्शक बनिरहेको उनको भनाइ छ। अहिले गत वर्षकै चिनी स्टक हुनुको मूल कारण चोरी तस्करीनै प्रमुख रहेको उनले बताए।
यसरी उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालनमा नआउँदा उद्योगी व्यवसायीलाई मात्र हैन सरकारलाई समेत ठूलो घाटा लाग्ने उनको भनाइ छ। अहिले उत्पादन क्षमताअनुसार कुनै पनि उद्योग सञ्चालनमा नरहे पनि बजारमा छ्यापछ्याप्ती सामान पाइरहेको उनको भनाइ छ। बजारमा चोरीका सामानहरु खुलेआम रुपमा आउदा पनि सिमानामा कडाई नहुँदा त्यसको असर उद्योगमा परेको र उद्योग पूर्ण रुपमा सञ्चालनमा नआउदा रोजगारी घटेको उनले बताए।
जसले देशको उत्पादन क्षमता, सीप विकास र आर्थिक आधार कमजोर बनाउँदै गएको उद्योगी व्यवसायीहरुको भनाइ छ।
भएका उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा नआएपछि नयाँ उद्योगहरु खुल्ने क्रम पनि घट्दो छ। यसले नयाँ रोजगारी सिर्जना गर्न सकेको छैन भने राजश्वमा योगदान पनि धेरै दिन सकेको छैन। त्यसैको प्रभाप पछिल्ला वर्षमा नेपालका युवामाझ विदेश जाने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको छ।
स्वदेशमै पर्याप्त रोजगारी र दीर्घकालीन अवसर नदेखिँदा युवाहरू बाध्य भएर विदेशिने क्रम बढेको छ। जसले देशको उत्पादन क्षमता, सीप विकास र आर्थिक आधार कमजोर बनाउँदै गएको उद्योगी व्यवसायीहरुको भनाइ छ।
उच्च उत्पादन लागत अर्को गम्भीर समस्या बनेको छ। उपकरण, कच्चा पदार्थ, श्रम र बिजुली महँगो हुनु र नीतिगत सहुलियत नपाउनु नेपाली उद्योगलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न कठिन बनाएको त्रिवेणी ग्रुपका निर्देशक एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष रामचन्द्र संघाईको भनाइ छ।
‘देशको आत्मनिर्भरता, रोजगार र निर्यात बढाउन उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राख्नु अनिवार्य छ,’ निर्देशक संघाईले भने, ‘स्थिर नीति, पूर्वाधार सुधार, वित्तीय सहुलियत र बजार संरक्षणका कदमहरू नहुँदा उद्योगले आफ्नो क्षमता पूरा गर्न सक्दैन। उत्पादनमूलक उद्योगलाई बलियो बनाए बिना नेपाल दीर्घकालीन अर्थतन्त्र र रोजगारीमा स्थायित्व हासिल गर्न सक्दैन।’
किरण सुज म्यानुफ्याक्चरर्स प्रा.लि.की कार्यकारी निर्देशक विदुषी राणाका अनुसार नेपालमा उत्पादनमूलक उद्योगप्रति राज्य र निजी क्षेत्र दुवैको चासो कमजोर भएकाले स्वदेशी उत्पादन बढ्न सकेको छैन। उनका अनुसार देशमै प्रशस्त सम्भावना भएका वस्तुमा समेत आयात निर्भरता बढ्नु यही उपेक्षाको प्रतिफल हो। ‘उत्पादनमूलक उद्योगलाई अघि नबढाई आत्मनिर्भर अर्थतन्त्रको कल्पना गर्न सकिँदैन,’ उनले भनिन्।
अहिले घटेर करिब ५ प्रतिशतमा सीमित भएको छ। उद्योगहरू बन्द भइरहेका छन्।
उद्योगीको दृष्टिकोणअनुसार देश विकासको मार्गमा अघि बढ्न उत्पादनमूलक उद्योग अनिवार्य आधार हो। एक समय नेपालको कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान १७ प्रतिशतसम्म पुगेको थियो। तर, अहिले घटेर करिब ५ प्रतिशतमा सीमित भएको छ। उद्योगहरू बन्द भइरहेका छन्। नयाँ उत्पादनमूलक उद्योग खोल्न निजी क्षेत्र उत्साहित देखिँदैन। औद्योगिकीकरणलाई गति दिने क्षेत्र कमजोर भएकाले अर्थतन्त्र दीर्घकालीन जोखिमतर्फ धकेलिएको राणाको भनाइ छ।
ट्रेडिङ व्यवसायमा आधारित लगानी आकर्षक भएकाले धेरै लगानीकर्ता त्यसतिर आकर्षित भएको पनि औँल्याइन्। ‘ट्रेडिङ छोटो अवधिमा नाफा देखाउँछ। तर, उत्पादनमूलक उद्योगमा लगानीदेखि उत्पादन, श्रमिक व्यवस्थापन र बजारसम्म प्रतिफल आउन ६-९ महिना लाग्छ,’ उनले भनिन्।
उनका अनुसार उत्पादनमूलक उद्योगले घरेलु अर्थतन्त्र बलियो बनाउने, रोजगारी सिर्जना गर्ने, सीप विकास गर्ने र आयात प्रतिस्थापन गर्दै विदेशी मुद्रा आर्जन गर्ने बहुआयामिक फाइदा दिन्छ।