काठमाडौं। नेपालको पर्यटन उद्योग लामो समयसम्म सस्तो गन्तव्य, साहसिक यात्रा र सीमित खर्च गर्ने पर्यटकको परिचयमा सीमित रह्यो। हिमाल, पदयात्रा र प्राकृतिक सौन्दर्यले विश्वभर चर्चा पाए पनि उच्च खर्च गर्ने, आराम र गुणस्तर खोज्ने पर्यटकलाई लक्षित संरचना र सेवा भने अपेक्षित रूपमा विकास हुन सकेन।
पछिल्ला केही वर्षयता, विशेष गरी कोभिड १९ महामारीपछिको विश्वव्यापी मानसिकता परिवर्तनसँगै, नेपालको आतिथ्य उद्योग नयाँ मोडमा प्रवेश गरेको देखिन्छ। यो मोडको केन्द्रमा लक्जरी होटल, बुटिक रिसोर्ट र प्रिमियम होटल आधारित पर्यटन छन्।
होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले पर्यटकको आगमनमा वृद्धि मात्र भएको छैन। महँगा र खर्चालु पर्यटकहरुको संख्यासमेत बढिरहेको बताए। उनका अनुसार विगतमा नेपालमा कति पर्यटक आए भन्नेमा जोड दिइन्थ्यो भने अहिले कस्ता पर्यटक आए? कति खर्च गरे? र कति समय बसे? भन्ने प्रश्न महत्वपूर्ण बन्दै गएको छ।
सीमित पूर्वाधारमा निर्माण गरिएका रिसोर्ट तथा होटलको कारणले लक्जरी सेवा सुविधा खोज्दै महँगो शुल्क तिर्न आउनेका लागि उपयुक्त गन्तव्य नेपाल बनिरहेको उनले बताए।
स्वदेशी होस् या विदेशी सबै खाले पर्यटकहरुले भीडभन्दा टाढा, सुरक्षित, शान्त र निजी अनुभव खोजिरहेका हुन्छन। जसले गर्दा अहिले उपत्यका बाहिर बनेका अधिकांश रिसोर्टहरु ठूलो होटलभन्दा कम कोठा भएका, प्रकृतिसँग नजिक रहेका र उच्च गोपनीयता दिने खालका निर्माण तथा सञ्चालनमा रहँदै आएको छ।
धेरै सम्भावित पर्यटक नेपाल नआइक भुटान, श्रीलंका वा अफ्रिकी गन्तव्य रोज्न बाध्य थिए।
पर्यटकले घुम्ने योजना बनाउँदा पहिलो प्रश्न मूल्यभन्दा पनि सुरक्षा, स्वास्थ्य सुविधा र व्यक्तिगत स्पेसबारे सोध्ने गरेको काठमाडौं म्यारियटका सञ्चालक शशीकान्त अग्रवालको भनाइ छ। उनले अन्तर्राष्ट्रिय होटल चेनको दृष्टिकोणबाट नेपालमा भइरहेको यो परिवर्तनलाई हेरिरहेको बताउँदै म्यारियटजस्ता विश्वव्यापी ब्रान्ड कुनै देशमा प्रवेश गर्नुअघि बजार क्षमता, राजनीतिक तथा नीतिगत स्थिरता, दीर्घकालीन पर्यटन सम्भावना र लगानी सुरक्षाको गहिरो अध्ययन गर्छन।
नेपालमा अन्तर्राष्ट्रिय चेन होटलहरूको उपस्थिति बढ्नु भनेको देश अब केवल साहसिक पर्यटकका लागि मात्र होइन, उच्चस्तरीय व्यापारिक र सम्मेलन पर्यटनका लागि पनि सम्भावनायुक्त गन्तव्यका रुपमा स्थापित हुँदै गएको संकेत हो।
महँगा पर्यटकहरु ल्याउँदै आएको कोर्रा टुर्सका प्रमुख कार्यकारी अधिकृत विजय अमात्य नेपालमा लक्जरी पर्यटनको माग पहिलादेखि रहेको तर आपूर्ति अहिले हुन थालेको बताउँछन्। उनका अनुसार अन्तर्राष्ट्रिय बजार, विशेषगरी अमेरिका, युरोप र अस्ट्रेलियाबाट आउने पर्यटकले विगत १०/१५ वर्षदेखि नेपालमा निजी, आरामदायी र उच्चस्तरीय यात्रा अनुभव खोजिरहेका थिए। तर त्यतिबेला उनीहरूलाई राख्ने, सेवा दिने र अनुभव प्रदान गर्ने संरचना नेपालमा पर्याप्त थिएन। यही कारण धेरै सम्भावित पर्यटक नेपाल नआइक भुटान, श्रीलंका वा अफ्रिकी गन्तव्य रोज्न बाध्य थिए।
अमात्यका अनुसार अहिले परिस्थिति बदलिँदै छ। जोमसोम, मुस्ताङ, चितवन, पोखरा, काभ्रे र भैरहवाजस्ता क्षेत्रमा खुलेका बुटिक र लक्जरी रिसोर्टले टुर अपरेटरलाई नयाँ किसिमका प्याकेज डिजाइन गर्ने अवसर दिएका छन्। अब नेपाललाई केवल कठिन पदयात्रा र साधारण होटलको देश होइन, आरामसँग प्रकृति र संस्कृति अनुभव गर्न सकिने प्रिमियम गन्तव्यका रुपमा बेच्न सकिने अवस्था बनेको छ। यसले टुर अपरेटरको व्यापार मोडेलमै परिवर्तन ल्याएको उनी बताउँछन।
पाँचतारे संरचना बनाउँदैमा लक्जरी स्थापित नहुने र दीर्घकालीन सफलताका लागि निरन्तर गुणस्तर कायम राख्नुपर्ने उनी बताउँछन्।
नेपालको दुर्गम क्षेत्र मुस्ताङमा लक्जरी रिसोर्ट शिन्तामणि सञ्चालनमा ल्याएर लक्जरी पर्यटकहरुलाई नेपालमा आकर्षित गराउँदै आएका शेर्पा हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नाम्गेल शेर्पाले ठूला भवन बनाएर महँगो शुल्क लिएर राख्नु मात्र लक्जरी नभएको बताउँछन्। जब पर्यटकहरुले आफू बसिरहेको गन्तव्यबारे राम्रोसँग बुझ्न, जान्न पाउँछन् र प्रकृतिसँग सहजै घुलमिल भएर बस्न सक्ने वातावरण बनाइन्छ त्यो नै लक्जरी हुने उनको भनाइ छ।
‘लक्जरी पर्यटनलाई केवल महँगो भवन र डिजाइनको विषयमा सीमित गर्न हुँदैन,’ प्रमख कार्यकारी अधिकृत शेर्पाले भने ‘वास्तविक लक्जरी भनेको पाहुनाले पाउने समग्र अनुभव हो। जसमा सेवा संस्कृति, जनशक्ति, व्यवस्थापन र सूक्ष्म विवरणको ठूलो भूमिका हुन्छ।’ पाँचतारे संरचना बनाउँदैमा लक्जरी स्थापित नहुने र दीर्घकालीन सफलताका लागि निरन्तर गुणस्तर कायम राख्नुपर्ने उनी बताउँछन्।
लक्जरी होटल तथा रिसोर्टमा बस्न आउने पर्यटकको संख्या बढेसँगै लगानीसमेत बढिरहेको छ। अहिलेसम्म लक्जरी रिसोर्ट तथा होटलको संख्या मात्र करिब दुई दर्जन पुगिसकेको छ। अहिले धेरै होटल तथा रिसोर्टहरु सञ्चालनको तयारीमा रहेको छ। केही निर्माणको तयारीमा समेत रहेको छ।