काठमाडौं। उद्योग विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पछिल्लो महिनामा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता बढेको देखिएको छ।
तथ्यांकअनुसार साउनदेखि पुससम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो। यो गत आवको सोही अवधिको तुलनामा निकै बढी हो। गत आवको सोही अवधिमा ३५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको थियो।
गत आवको पहिलो ६ महिनामा ३४५ साना, ५ मध्यम र ४ ठूला उद्योगका लागि विदेशी लगानी प्रतिवद्धता आएको थियो भने चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ७ ठूला, ८ मध्यम र ४६० साना उद्योगले प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता पाएका छन्।
पुसमा मात्रै ३६ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ। यसबाट करिब २० हजार १२२ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।
साउनमा मात्र ५९ करोड ७५ लाख ६० हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता भएको थियो भने भदौमा यो आँकडा ३३ अर्ब ९ करोड २० लाखमा पुगेको थियो। असोजमा २ अर्ब ४ करोड ५७ लाख, कात्तिकमा १ अर्ब ५४ करोड ३९ लाख र मङ्सिरमा १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो।
तथ्यांकअनुसार सूचना प्रविधि क्षेत्रमै सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ। साउनदेखि पुससम्म २५७ वटा सूचना प्रविधिमूलक उद्योगका लागि लगानी प्रतिबद्धता भएको हो।
रकमका आधारमा कृषिमूलक क्षेत्रका १३ उद्योगमा सबैभन्दा ठूलो २१ अर्ब ८८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता रहेको छ।
उत्पादनमूलक क्षेत्रमा २७ उद्योगका लागि २ अर्ब ३ करोड, पर्यटनमूलक क्षेत्रका १४५ उद्योगका लागि १० अर्ब ५४ करोड र सेवामूलक क्षेत्रका ३१ उद्योगमा ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।