काठमाडौं। हिमाल चढ्ने सपना बोकेर नेपाल आउने विदेशी आरोहीका लागि कुनै समय नेपालीहरू भारी बोक्ने भरियाका रूपमा मात्र चिनिन्थे। कठोर मौसम, जोखिमपूर्ण बाटो र जीवन मृत्युको सीमामा उभिँदा निर्णय गर्ने अधिकार भने सधैँ विदेशी गाइडकै हातमा हुन्थ्यो। तर समय फेरिएको छ।
आज हिमालसँगै नेपाली माउन्टेन गाइडको पहिचान पनि उक्लिँदै छ। अन्तर्राष्ट्रिय मापदण्डबाट प्रमाणित नेपाली गाइडहरू अब विदेशीका नजरमा सहयोगी होइन, आरोहणको नेतृत्व गर्ने विश्वसनीय पात्र बनेका छन्।
सर्वोच्च शिखर सगरमाथा हिमालसहित ८ हजार मिटरभन्दा अग्लो उचाईमा रहेको विश्वभरीका १० वटा हिमालमध्ये नेपालमा ८ वटा रहेको छ। विश्वभरका मानिसहरु अहिले हिमाल आरोहणका लागि नेपाल आउने गरेका छन्। साना तथा ठूला हिमाल आरोहणका लागि आउने हिम आरोहीहरुले अनिवार्य रुपमा माउन्टेन गाइड प्रयोग गरेकै हुन्छन्। तर, ती माउन्टेन गाइडहरु अन्तर्राष्ट्रिय माउन्टेन गाइड एसोसिएन महासंघ (युआइएजीएम)बाट सर्टिफाइ हुन्छन्।
आम्दानीको हिसाबले निकै राम्रो हुने र सम्मान पनि राम्रो पाउने भएकाले युआइएजीएमबाट सर्टिफाई हुन निकै मुस्किल छ। विभिन्न चरण पार गर्दै सर्टिफाइ हुने नेपाली गाइडको संख्यासमेत अहिले बढिरहेको छ। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार युआइएजीएमबाट मान्यता प्राप्त नेपाली गाइडको संख्या ८४ जना रहेका छन्।
सुरुमा युआइएजीएमबाट मान्यता प्राप्त स्वदेशी गाइडहरु नहुँदा विदेशी गाइडहरु प्रयोग हुने गरेकोमा अहिले विस्तारै नेपालीहरुनै सक्षम हुन थालेको बताए। ‘अधिकांश विदेशीहरुले हिमाल आरोहणको क्रममा युआइएजीएमबाट मान्यता प्राप्त गाइडलाई लिन खोज्ने भएकाले नेपाली मात्र पर्याप्त नहुँदा विदेशी गाइड ल्याउनुपर्ने बाध्यता अहिले पनि छ,’ अध्यक्ष शेर्पाले भने, ‘विस्तारै नेपाली गाइडहरु पनि सक्षम बन्दै जाँदा स्वतः विदेशी गाइड विस्तापित हुँदै गएको छ।’
माउन्टेन गाइडहरुको सर्वोच्च निकाय युआइएजीएम भएकाले त्यसबाट मान्यता पाउनका लागि निकै संघर्ष गर्नुपर्ने उनको भनाइ छ। अहिले विस्तारै नेपालीहरुको संख्या बढ्दै गएकाले नेपालमै तालिम दिने व्यवस्थासमेत गर्न लागिएको उनले बताए।
सम्मान र आम्दानी दुवै उच्च हुने भएकाले यो पेशा आकर्षक मानिए पनि त्यससम्म पुग्ने यात्रा अत्यन्तै संघर्षपूर्ण छ।
अहिले नेपाल नेश्नल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजिए)ले नेपालका विभिन्न हिमालहरुमा तालिम दिइरहेको जनाएको छ। ‘प्राक्टिकलका लागि समेत नेपालमा सहज हुने भएकाले अहिले यो तालिम नेपालमै सुरु भएको छ,’ एनएनएमजिएका अध्यक्ष तुलसी गुरुङले भने, ‘सरकारको केही मापदण्डले समस्या भएको छ।’ विदेशमा गएर यो तालिम लिन निकै खर्चालु हुने भएकाले नेपालमै तयारी थालिएको अध्यक्ष गुरुङको भनाइ छ।
के छ समस्या?
हिमाल आरोहण कुनै साधारण यात्रा होइन्। जोखिम, अनिश्चित मौसम, कठिन भूगोल र शारीरिक तथा मानसिक चुनौतीबीच निर्णय लिन सक्ने क्षमता गाइडमा अनिवार्य हुन्छ। यही कारण अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित माउन्टेन गाइडको माग उच्च हुन्छ।
यस्तो प्रमाणपत्र प्राप्त गर्न वर्षौंको अभ्यास, कठिन तालिम र जोखिमपूर्ण अनुभव आवश्यक पर्छ। सम्मान र आम्दानी दुवै उच्च हुने भएकाले यो पेशा आकर्षक मानिए पनि त्यससम्म पुग्ने यात्रा अत्यन्तै संघर्षपूर्ण छ।
पर्यटन विभागले २०१९ मा माउन्टेन गाइडहरुलाई सर्टिफाई गर्ने क्रममा साना तथा ठूला जुनसुकै हिमाल आरोहण गर्नेहरुलाई पनि माउन्टेन गाइडको रुपमा मान्यता दिने विरोधाभास निर्णय गरेको आरोप एनएनएमजिएको छ। अन्तर्राष्ट्रिय माउन्टेन गाइड एसोसिएन महासंघ (युआइएजीएम)को निर्देशिका अनुसार सञ्चालन हुनुपर्नेमा विभागले साना तथा ठूला जस्तोसुकै हिमाल आरोण गर्नेहरुलाई पनि सर्टिफाइ गर्ने निर्णय गरेपछि अहिले विवादमा परेको र सर्वोच्च अदालतमा समेत मुद्दा पुगेको जनाएको छ।
विभिन्न संघसस्थाहरुले हिमाल आरोहणसम्बन्धी तालिम दिने भन्दै जथाभावी गरेपछि अदालतमा मुद्दा परेको छ। ‘अहिले मुद्दा परेकोले धेरै बोल्न मिल्दैन’, अध्यक्ष गुरुङले भने, ‘तर सरकारको निर्णय गलत छ यो सच्चिनुपर्छ।’
यता पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले माउन्टेन गाइडहरुको विषयमा के समस्या भएको हो। त्यसको अध्ययन गर्ने बताए। ‘अहिले तारे होटलको मापदण्ड संशोधनमा लागेकोले माउन्टेन गाइडहरुको विषयमा अध्ययन गर्न पाएको छैन,’ महानिर्देशक लामिछानेले भने, ‘गाइडहरुलाई सरकारले गर्ने समन्वय गर्न विभाग तयार छ।’
विदेशी सामू फेरिँदै छ परिचय
पहिले विदेशी पर्वतारोहीको नजरमा नेपाली, विशेषगरी शेर्पा समुदाय, हिमाल आरोहणका क्रममा भारी बोक्ने भरियाका रूपमा मात्र चिनिन्थे। उनीहरूको योगदान जोखिमपूर्ण भए पनि निर्णय गर्ने, योजना बनाउने र नेतृत्व गर्ने जिम्मेवारी विदेशी गाइडमै सीमित थियो। तर अन्तर्राष्ट्रिय मापदण्डबाट प्रमाणित नेपाली गाइडहरू अगाडि आउन थालेपछि यो धारणा बदलिन थालेको नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाको भनाइ छ। अहिले धेरै विदेशी आरोहीले हिमाल चढ्ने योजना बनाउँदा सबैभन्दा पहिले नेपाली गाइड खोज्ने गरेका छन। आवश्यक परे मात्र विदेशी गाइड ल्याउने चलन बढ्दै गएको उनले बताए।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार तालिम लिनुपर्ने भएकाले विगतमा नेपाली गाइडहरू विदेश जान बाध्य थिए।
‘यो परिवर्तन केवल रोजगारीको स्वरूप बदलिएको मात्र होइन। नेपालीको पहिचान र आत्मसम्मानसँग पनि जोडिएको विषय हो,’ पर्वतारोहण संघका अध्यक्ष शेर्पाले भने, ‘पहिला सहयोगीका रूपमा चिनिएका नेपाली आज विश्वकै कठिन हिमालमा नेतृत्व गरिरहेका छन। यसले नेपाली पर्वतारोहण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याएको छ।’
माउन्टेन गाइड बन्ने प्रक्रिया सजिलो छैन। अन्तर्राष्ट्रिय मापदण्डअनुसार तालिम लिनुपर्ने भएकाले विगतमा नेपाली गाइडहरू विदेश जान बाध्य थिए। यसका लागि ठूलो आर्थिक लगानी आवश्यक पथ्र्यो जुन धेरैका लागि सम्भव थिएन। यही कारण योग्य र इच्छुक व्यक्तिहरू अवसरबाट वञ्चित हुने अवस्था थियो। तर पछिल्ला वर्षहरूमा नेपालमै तालिम दिने पहल सुरु भएपछि यो अवस्था बदलिन थालेको नेपाल नेसनल माउन्टेन गाइड संघका अध्यक्ष तुलसी गुरुङको भनाइ छ।
सिजनमा कमाउँछन् १५ लाख बढी, अफ सिजनमा विदेशमा व्यस्त
जोखिमपूर्ण भए पनि माउन्टेन गाइड पेशा आम्दानीका हिसाबले आकर्षक मानिन्छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाली गाइडले एक आरोहण सिजनमा १५ लाख रुपैयाँभन्दा बढी कमाउने गर्छन। सामान्यतया एक महिनाको अवधिमै यस्तो आम्दानी सम्भव हुने बताइन्छ। यसले धेरै युवालाई यो पेशातर्फ आकर्षित गरेको छ।
आरोहण सिजन सकिएपछि भने धेरै नेपाली गाइड विदेशका विभिन्न हिमालमा गाइडको रूपमा काम गर्न जाने गर्छन। यसले उनीहरूलाई अन्तर्राष्ट्रिय अनुभवसँगै निरन्तर आम्दानीको अवसर पनि प्रदान गर्छ। नेपाली गाइडको सीप, अनुशासन र जोखिम सामना गर्ने क्षमताका कारण उनीहरूको माग विश्व बजारमा बढ्दो क्रममा छ।
हिमालसँगै संघर्ष गर्दै आएको नेपाली समाजका लागि माउन्टेन गाइड पेशा आज रोजगारीभन्दा माथि उठेर गौरवको विषय बन्दै गएको छ। पहिला भरियाका रूपमा हेर्ने दृष्टिकोण बदलिएर आज नेतृत्वकर्ताको रूपमा चिनिनु नेपाली पर्वतारोहण क्षेत्रको ठूलो उपलब्धि भएको बताउँछन्। उचित तालिम, स्पष्ट नीति र सरकारी सहकार्य भयो भने आगामी वर्षहरूमा नेपाली माउन्टेन गाइडको संख्या अझै बढ्ने विश्वास संघले गरेको छ।